सार्वजनिक यातायातलाई कसरी सुरक्षित बनाउने ? १९ बुँदामा डा. रवीन्द्र पाण्डेको सुझाव

डा. रवीन्द्र पाण्डे
डा. रवीन्द्र पाण्डे

जनस्वास्थ्य विज्ञ पाण्डे लोकान्तरका नियमित स्तम्भकार हुन् ।

सरकारले एकातर्फ परीक्षणको दायरा साँघुरो गर्दै आएको छ भने अर्कोतर्फ एकैपटक सार्वजनिक यातायात खुलाउने निर्णय गरेको छ  । समुदायमा संक्रमण छ कि छैन भनेर न्यूनतम २ प्रतिशत जनसंख्याको पीसीआर टेस्ट गरेपछि प्राप्त परिणाम अनुसार सार्वजनिक यातायात सञ्चालनको निर्णय गर्नु सुरक्षित हुनेछ ।

त्यस्तै सरकारी कार्यालय, बैंक, डिपार्टमेन्टल स्टोरमा सरकारले पीसीआर टेस्ट गर्न शुरू गरेको छ । यी क्षेत्रमा कार्यरत व्यक्तिहरूलाई कोरोना संक्रमणबारे चेतना राम्रो छ ।  मास्क प्रयोग गर्ने, सकभर व्यक्तिगत दूरी कायम गर्ने तथा हात धुने र स्यानिटाइजर प्रयोग गर्ने अभ्यासमा यो वर्ग सचेत देखिन्छ ।


Advertisement

सरकारले तरकारी तथा फलफूल बजार, मासु पसल, सुकुम्बासी क्षेत्र, भीडभाड धेरै हुने ठाउँ, व्यक्तिगत दूरी राख्न असम्भव साँघुरा गल्ली, भट्टीपसल, इँटाभट्टा, सफाइ तथा फोहोर व्यवस्थापनसँग सम्बद्ध पेशादेखि भरिया, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतमा परीक्षण गर्ने मापदण्ड बनाउनु जरूरी छ । यी ठाउँको परीक्षणबाट समाजको वास्तविक अनुहार देख्न सजिलो हुन्छ ।

लक्षणविहीनहरूको परीक्षण नगर्ने तथा परीक्षण नगरी घर पठाउने लगायतका मापदण्ड नै समुदायमा परीक्षण गर्न स्वास्थ्य मन्त्रालयको गाइडलाइन बाधक छ । अहिले नेपालमा ९५ प्रतिशत भन्दा धेरै संक्रमित लक्षणविहीन भएको सन्दर्भमा यो गाइडलाइन अनुसार चल्ने हो भने समुदायमा संक्रमण फैलिएको थाहा हुँदैन । 


Advertisement

यो गाइडलाइन लक्षण देखिएका विकसित देशको लागि तयार गरिएको गाइडलाइनको अनुवाद मात्र हो । भिजन भएका विज्ञको उपेक्षा र अनुवादकको अपेक्षा भएको यस अवस्थामा व्यावहारिक नीति बन्ने आशा गर्नु दिवास्वप्न हुँदोरहेछ ।

यस्तै अनुवादकको पर्याप्तताको कारण समुदायमा रहेको संक्रमण थाहा नपाई सार्वजनिक यातायात सञ्चालन हुँदैछन् । सरकारले पहिलो चरणमा ट्याक्सी जोरबिजोर चलाउने, दोस्रो चरणमा लामा बस चलाउने र संक्रमण नियन्त्रणमा आएपछि मात्र सबैप्रकारका यातायात सञ्चालन गर्न दिनु परिपक्व निर्णय हुनेछ ।

सार्वजनिक यातायात चलाउनुअघि केही तयारी गर्नुपर्ने हुन्छ :

१. ड्राइभर, कन्डक्टर तथा हेल्परको कोरोना परीक्षण गर्ने,

२. यातायातका साधनलाई बाहिर तथा भित्र दैनिक धुने, स्प्रे गर्ने तथा ढोका, ह्यान्डल, सिट आदिलाई दिनमा पटकपटक संक्रमणरहित बनाउने,

३. पुराना फोम तथा कपडा भएका सिटलाई निकालेर सिन्थेटिक वा प्लास्टिकका सिट बनाउने । यसो गर्दा सफाइ गर्न सजिलो हुन्छ,

४. घटीमा पनि १.५ मिटरको दूरी कायम हुने गरी सिट प्लान गर्ने,

५. यातायातका साधनमा अनिवार्य रूपमा ह्यान्ड स्यानिटाइजर राख्ने,

६. ड्राइभर तथा सहयोगीले अनिवार्य रूपमा सही तरिकाले मास्क, पञ्जा, चश्मा तथा फेस शील्डको प्रयोग गर्ने, पटकपटक ह्यान्ड स्यानिटाइजर प्रयोग गर्ने, नथुक्ने, चिच्याएर कुरा नगर्ने,

७. प्रवेश गर्न एउटा ढोका र बाहिर निस्किन अर्को ढोका प्रयोग गर्ने,

८. सबै झ्याल अनिवार्य रूपमा खोल्ने,

९. पहिलो महिना सिट क्षमताको ३० प्रतिशत मात्र प्यासेन्जर राख्ने,

१०. स्टपमा मात्र चढ्ने तथा ओर्लिने व्यवस्था गर्ने,

११. चढ्दा तथा ओर्लिंदा हतार नगर्ने, एक एक जनाको दूरी कायम हुने गरी चढ्ने तथा ओर्लिने, ढोकाको मुखमा तथा बस स्टपमा दूरीको ख्याल गर्ने,

१२. प्यासेन्जरले सही तरिकाले मास्क लगाउने, चश्मा लगाउने तथा स्यानिटाइजर पटकपटक प्रयोग गर्ने, बसमा जथाभावी नछुने, छोएपछि हात सफा गरिहाल्ने तथा नाक  मुख र आँखालाई नछुने, व्यक्तिगत दूरीको ख्याल गर्ने,

१३. आधा घण्टासम्मको दूरीमा बस प्रयोग नगर्ने, हिँड्ने, हलुका र शरीर छोपिने कपडा लगाउने,

१४. सुरक्षित यात्राको लागि प्रत्येक बसमा अनुगमन गर्न र मिलाउनका लागि एकजना सुरक्षाकर्मीको व्यवस्था गर्ने,

१५. दुई महिना माइक्रोबस नचलाउने, माइक्रोबसमा व्यक्तिगत दूरी असम्भव हुन्छ,

१६. ज्वरो, रुघा तथा खोकी लागेका व्यक्तिलाई सार्वजनिक बसमा चढ्न नदिने,

१७. प्यासेन्जर तथा चालक समूहले गन्तव्यमा पुगेपछि साबुनपानीले मिचीमिची हात धुने लगायतका सरसफाइ गर्ने,

१८. बालबालिका, गर्भवती, सुत्केरी, दीर्घबिरामी तथा जेष्ठ नागरिकले सकभर यो दुई महिना सार्वजनिक यातायातको प्रयोग नगर्ने,

१९. पैसाको क्यासलेस कारोबार गर्ने, त्यो सम्भव नभएमा खुद्रा मिलाएर दिने, फिर्ता नलिने ।

छिमेकी देश भारतमा सार्वजनिक यातायात सञ्चालन भएपछि संक्रमितको संख्या ह्वातै बढेको छ । अहिले भारतमा हरेकजसो प्रान्तका धेरै जिल्लामा लकडाउन पुनः शुरू भएको छ । 

भारतमा अगस्ट महिनाको तेस्रो हप्ता संक्रमण उच्च विन्दुमा पुगेर कम हुँदै जाने तथा सेप्टेम्बरको अन्तिममा संक्रमण नियन्त्रणमा आउने विश्लेषण गरिएको छ । 

सार्वजनिक यातायात सञ्चालन भएका अधिकांश देशमा संक्रमण तीव्र रूपमा बढेको छ । तसर्थ सरकार तथा व्यवसायीले यो अवस्था मध्यनजर गरेर सार्वजनिक यातायातलाई सुरक्षित बनाउन पर्याप्त गृहकार्य गर्नु जरूरी छ ।

त्यस्तै परीक्षणको दायरा बढाउनका लागि अभियान नै सञ्चालन गर्नु अत्यावश्यक छ । चीनले बेइजिङमा संक्रमित देखिनासाथ दिनमा दश लाखजनाको दरले परीक्षण गरेर कोरोना संक्रमण नियन्त्रणमा ल्याएको छ ।

त्यस्तै भारत लगायत देशमा सामुदायिक परीक्षण तीव्र गतिमा भइरहेको छ । जनघनत्व भएका शहर संसारमै जोखिममा छन् । 

सरकारले यो तथ्य बुझेर समुदायमा युद्धस्तरमा परीक्षण गर्नु जरूरी छ । यस विषम परिस्थतिमा हामी सबै एकजुट भएर इमान्दारीपूर्वक देश र जनताको पक्षमा काम गर्नु जरूरी छ । 

कोरोना आफैं नियन्त्रण हुँदैन । हामी सबैले मिलेर यसलाई परास्त गर्ने हो । 

डा. रवीन्द्र पाण्डे
डा. रवीन्द्र पाण्डे

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्