
अविरल वर्षाले मध्य नेपाल नगरपालिका–६ का २ घर पहिरोले बगाएको छ ।
पहिराले सोमवार बिहान देवी कुँवर र बमबहादुर कुँवरको घर बगाएको स्थानीय रामचन्द्र पौडेलले बताए ।
त्यस्तै शिरमणि भट्टराई, दीपेश भट्टराई, एकमाया दुरा र हरिमाया परियारको घर पहिराले पुरेको स्थानीय पौडेलको भनाइ छ । एक्साभेटरले पहिरो हटाउने कार्य गरिरहेको छ ।
वडास्थित रानीपानीका १३ घर र लामासोतीका १४ घर गरी २७ घर विस्थापित भएको प्रहरीले जनाएको छ । उनीहरूलाई सोही वडाको इशानेश्वर माध्यमिक विद्यालयमा राखिएको छ ।
सो क्षेत्रका विभिन्न घर तथा बस्ती जोखिममा रहेको र विभिन्न स्थानमा बाढीपहिराले क्षति पुगेको प्रहरी नायब उपरीक्षक गंगाबहादुर थापाले बताए । सो क्षेत्रमा प्रहरी र स्थानीय मिलेर प्रभावितलाई सुरक्षित स्थानमा लैजाने कार्य भइरहेको उनको भनाइ छ । सो क्षेत्रका गुम्बाखोला, रिस्तीखोला, चर्दीखोला, गलाडीखोलामा आएको बाढीले विभिन्न स्थानमा क्षति पुगेको स्थानीयको भनाइ छ ।