करीब १४ वर्षअघिको त्यो भयानक रात, छोराको निरन्तर सहयोगले भारतमा भेट्यो प्रहरीले 'हत्यारा' !

गगन अर्याल
गगन अर्याल

लोकान्तर संवाददाता अर्याल सुरक्षा/अपराध तथा समसामयिक विषयमा समेत कलम चलाउँछन् ।

विक्रम सम्वत् २०६३ साल पुस २० गते बेलुका साढे ८ बजेतिर खाना खाएर बुवाआमा आफ्नो कोठामा गइसकेका थिए ।

विलभ सुवेदी काठमाडौंको सीतापाइलास्थित आफ्नो घरको कोठामा बसिरहेका थिए । विलभका भाइ पनि आफ्नो सुरमा अर्कै कोठामा खेल्दै थिए । 


Advertisement

ढोकाको घण्टी बज्यो । आमा सानु सुवेदीले ढोका खोलेर बाहिर हेरिन्, तर कोही पनि देखिएन ।

फेरि पनि उसैगरी घण्टी बज्यो । यो प्रक्रिया ३/४ पटक दोहोरियो त्यसपछि सानु ढोका खोलेर भित्र आफ्नो काममा लागिन् ।


Advertisement

उनी काम गर्दै थिइन्, त्यही समयमा उनको पछाडिबाट कोही आएर उनको मुख थुनी खुकुरी प्रहार गर्‍यो । त्यो दृश्य अर्को कोठामा रहेका विलभले देखिरहेका थिए ।

उनी चिच्चाए, त्यो बेलासम्म अर्को कोठामा रहेका उनका बुवा नातिकाजी सुवेदीमाथि पनि खुकुरी प्रहार गरी हत्या भइसकेको थियो ।

आक्रमणकारी उनी भएको कोठामा पनि आए, र खुकुरी प्रहार गरे । त्यो बेलामा उनी १५ वर्षका थिए ।

उनले चिच्याएर छिमेकीलाई बेलाए तर कसैले पनि सुनेनन् । उनले हत्यारा जयकिशोर शाहको खुट्टामा हानेर ढलाए, तर अलिक पर पुगेर बेहोश् भए ।

हत्यारा दुवै जना बुवाआमाको हत्या गरेर भाग्न सफल भए ।

अर्को कोठामा रहेका ३ वर्ष कान्छा भाइ भित्रबाट कोठाको चुकुल लगाएर बाँचे । तर विलभको शरीरमा खुकुरीको चोट पेटबाट छिरेको पछाडि निस्केको थियो ।

उनलाई वीर अस्पतालमा लगियो । १४ दिन उनी आईसीयूमै बसे । केही महिनाको उपचारपछि घर फर्किए, तर बुवाआमाको हत्या भएको घरमा बस्न सकेनन् ।

त्यो घर बेचेर अर्को घर किनी विराटनगरमा बस्दै आएका हजुरबुवा/हजुरआमालाई काठमाडौं ल्याई सँगै बस्न थाले ।

बुवाआमाको हत्यारा पत्ता लगाउने अठोट गरेर उनले स्वयम्भुको महानगरीय प्रहरी वृत्तमा किटानी जाहेरी दिएका थिए ।

उनले आफ्नो पढाइसँगै हत्याराको खोजीमा प्रहरीलाई सहयोग गर्दै पनि आएका थिए ।

हत्यारा खोज्न न उनीसँग फोटो थियो, न कहाँ पुगे भन्ने सूचना नै । थियो त केवल विलभको आँखामा झलझली त्यो भयानक रात र हत्याराको तस्वीर ।

नहोस् पनि किन ? उनीहरू थिए, आफ्नै काठमिलमा काम गर्ने २ जना कामदार जयकिशोर साह र प्रताप राना । 

त्यो समयमा उनीहरू नागरिकता र फोटोविना नै १ वर्षदेखि सुवेदी परिवारको काठ मिलमा काम गर्दै आएका थिए ।

काम बिगारेकाले उनीहरूलाई बुवाले समान्य गाली गरेको याद छ, विलभलाई ।

‘त्यो बेलामा म सानो भएकाले खासै याद त छैन तर काम बिगारेकाले बुवाले गाली गर्नुभएको भन्ने थाहा पाएको थिएँ,’ विलभले आज (सोमवार) केन्द्रीय अनसुन्धान ब्यूरो (सीआईबी) मा सुनाए ।

सीआईबीले विगत १४ वर्षदेखि अभियुक्त प्रताप राना र विजय किशोर शाहलाई खोजिराखेको थियो । 

भारतमा बस्दै आएको भन्ने सूचना प्रहरीलाई थियो तर कहाँ बस्छन्, के गर्छन्, भन्ने कुरा थाहा थिएन ।

यस बीचमा विलभले प्रहरीलाई लिएर जयकिशोर साहको घर सर्लाहीको तत्कालीन पिपरिया गाविस– १ गयरटोलमा गएर खोजी गरेका थिए तर बुवाआमाको सम्पर्क समेत नरहेकाले उनीहरू कहाँ छन् भन्ने कुराको पत्तो समेत थिएन । 

विलभ र प्रहरीले आश भने मारेका थिएनन् । भारतीय प्रहरीको सहयोग लिइरहेका थिए ।

यही २५ गते भारतीय प्रहरीले ३/४ जनाको सम्भावित फोटाहरू पठायो । सीआईबीले ती फोटो विलभलाई पहिचानका लागि पठायो ।

विलभले फोटो चिनिहाले । नचिनुन् पनि कसरी, बुवाआमासहित आफूलाई पनि खुकुरी प्रहरी गरेका किशोरको पहिचान भयो ।

प्रहरीले त्यति मात्रलाई आधार मानेन्, त्यो बेलामा ती हत्यारासँगै बस्ने अन्यलाई पनि पहिचान भेरिफाई गरायो अनि तत्काल भारतीय प्रहरीलाई सूचना दियो ।

हिजो (२०७७ असार २८) गते नेपालगञ्जको सीमा नाकाबाट जयकिशोर साहलाई पक्राउ गर्‍यो ।

महानगरीय प्रहरी वृत्त स्वयम्भुबाट अभियुक्त साहलाई जिल्ला अदालत काठमाडौंबाट म्याद थप गराएर अनुसन्धान थाल्ने केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) सहकूल थापाले बताए ।

प्रहरीले हत्यारालाई विलभ सुवेदीको निरन्तर सहयोग, सुराकी परिचालन, टेक्निकल एनालाइसिस् र हत्याराको हुलियाको आधारमा सनाखत गरेको बताएको छ, भने अझै फरार प्रताप रानालाई जयकिशोर साहको सहयोगमा पक्राउ गर्ने सीआईबीले जनाएको छ ।

गगन अर्याल
गगन अर्याल

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्