तनहुँ पहिरो अपडेट : सातको मृत्यु, पाँच बेपत्ता

फाइल फोटो।

अविरल वर्षासँगै आएको पहिरामा पुरिएर आज तनहुँमा मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ।

पहिराले घर पुरिँदा व्यास नगरपालिका-९ माझफाँटमा एकै परिवारका तीनसहित चार, ऋषिङ गाउँपालिका–८ पल्ट्याङ भैसीकिलेमा दुई र म्याग्दे गाउँपालिका–६ बेलौतेडाँडामा एक जनाको निधन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।


Advertisement

पहिराले पुरिएर व्यास–९ माझफाँटमा ४० वर्षीय कमला थापा, उनका छोरा २४ वर्षीय मनोज थापा, छोरी २१ वर्षीया अञ्जना थापा, सोही ठाउँकै ७० वर्षीया मैतकुमारी घर्तीको निधन भएको छ।

ऋषिङ–८ पल्ट्याङमा पहिराले घर पुरिएर बेपत्ता भएका ३० वर्षीय भेषबहादुर थापा र १९ वर्षीया मनिसरा थापाको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए।​


Advertisement

पहिराले पुरिएर गम्भीर घाइते म्याग्दे–६ बेलौतीडाँडाका १७ वर्षीय लक्ष्मी विकको भने दमौलीस्थित रत्नहरि अस्पतालमा उपचारका क्रममा निधन भएको थियो।

पहिराले पुरिएर व्यास–९ माझफाँटका २० वर्षीय राजेश थापा, ऋषिङ–८ पल्ट्याङका २९ वर्षीय नानुमाया थापा, पाँच वर्षीया अमिषा थापा, २२ वर्षीय महादेव थापा, व्यास–११ ओडारेका ४५ वर्षीय पद्मबहादुर भुजेल बेपत्ता छन्। उनीहरुको खोजी कार्यका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी परिचालित छन्। 

पहिराले पुरिएर घाइते भएका ऋषिङ-८ पल्टयाङकी ६० वर्षीया ज्योतिमाया थापा, व्यास–९ माझफाँटका ५० वर्षीय केशव थापाको पोखरामा उपचार भइरहेको छ भने सोही ठाउँकै २६ वर्षीया झनुमाया कुँवरको दमौलीमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 

कमेन्ट गर्नुहोस्