कुखुरापालनमा सुधारको लक्षण

तस्वीर सौजन्य : गोरखापत्र दैनिक

कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको त्रासले गरिएको बन्दाबन्दीका कारण धराशयी अवस्थामा पुगेको नेपालको कुखुरापालन क्षेत्रमा केही दिनयता सुधारको लक्षण देखापरेको छ । चल्लाको बिक्री बढेको छ, मासु र अण्डाको खपत मात्र होइन मूल्य आकाशिएको छ ।

नेपाल पोल्ट्री महासङ्घका अध्यक्ष गुणचन्द्र विष्टका अनुसार चैतको सुरुदेखि नै समस्या देखिएको व्यवसायमा असारको आधाआधीमा आइपुग्दा केही आशा पलाएको छ । उत्पादन कम भए पनि बोइलर पालकले उत्पादनको मूल्य पाउन थालेका छन् । अण्डाका बिक्री राम्रै छ । चल्लाको उत्पादन र खपत शुरू भएको छ ।


Advertisement

अध्यक्ष विष्टको भनाइलाई आधार मान्दा सुरुवातका दिनमा कोभिड–१९ सङ्क्रमण माछा, मासुसँग जोडियो । पोल्ट्री उत्पादन, दानाको कच्चा पदार्थको अभावसँगै मूल्यमा वृद्धि र ढुवानीको समस्याले पिरोलियो । उत्पादन एक ठाउँबाट अर्को ठाउँमा लैजानसक्ने वातावरण बनेन । समस्या र अभाव झेल्न नसकेका कारण किसानले माउ कुखुरासमेत बिक्री गरे । त्यही कारण यतिबेला उत्पादनमा कमी आएको छ ।

पछिल्लो समयमा रोग प्रतिरोध शक्तिका लागि प्रोटिनको आवश्यकता पर्छ भन्ने भयो । त्यसपछि अण्डा र मासुको खपतमा केही सुधार शुरू भएको विषयमा उनले थपे, “केही समययता मासु र अण्डाको माग बढ्न थालेको छ तर हामीसँग पर्याप्त उत्पादन हुन नसकिरहेको अवस्था छ । यस्तो अवस्थामा मूल्य केही बढ्नु स्वाभाविक हो । ”


Advertisement

आत्मनिर्भर भइसकेको यो व्यवसाय लकडाउनको झण्डै शून्य अवस्थामा झरेको थियो । व्यवसायीले अण्डा र चल्ला डम्पिङ गर्दै आएका थिए । दाना खुवाउन नसक्दा कतिपय कृषकले भर्खरै अण्डा दिन थालेका लेयर्स कुखुरासमेत बेचेर खोर रित्याएका थिए । माउ कुखुरासमेत बचाउन धौधौ भइसकेको अवस्था थियो ।

सरकारी अदूरदर्शिता र कोरोना सचेतना सन्देशमा समेत मासु नखान र खानै परे राम्रोसँग पकाएर खाने भन्ने सन्देशले व्यवसायमा असर परेको तर्क सम्बन्धित व्यवसायीको छ । एक खर्ब २० अर्ब रुपियाँ लगानी भएको अनुमान गरिएको यो व्यवसायमा लकडाउनको समयमा दैनिक २२ करोड रुपियाँ घाटा सहँदै आएको दाबी गरिएको थियो ।

नेपालको राष्ट्रिय आयमा ३ प्रतिशतभन्दा बढी योगदान रहेको दाबी गरिएको कुखुरापालन व्यवसायको जीवनचक्र बन्दाबन्दीले गर्दा भत्किएको थियो । फार्मबाट कुखुरा नउठेपछि ह्याचरीमा उत्पादित चल्ला किसानले लिएनन् । उद्योगबाट चल्ला किसानले नलिएपछि किसानको अण्डा र मासुले समेत बजार पाएन । चक्र नै नराम्रोसँग खल्बलिएको थियो ।

ह्याचरीले चल्ला नष्ट गर्ने, किसानले अण्डा र मासुका लागि पालिएका मात्र होइन, माउ कुखुरासमेत न्यून मूल्यमा बिक्री गर्ने अवस्था सिर्जना भयो । त्यसको असरमा उद्योगी र किसानमा प¥यो । अहिले त्यो सरेर उपभोक्ता र सरकारमा समेत परेको छ ।

नेपाल पोल्ट्री व्यवसायी महासङ्घका उपाध्यक्ष टीकाराम पोखरेल पोल्ट्री व्यवसायमा प्रत्यक्ष र अप्रत्यक्ष गरी आठ लाख मानिस लाभान्वित रहेको बताउँछन् ।

यो व्यवसाय पुरानै अवस्थामा फर्किन कम्तीमा दुई वर्ष लाग्ने उहाँको अनुमान छ । पोखरेलका अनुसार कोभिड–१९ का कारण भएको बन्दाबन्दीले यतिबेला व्यवसायी आर्थिक रूपमा खोक्रिएका छन् । उनीहरूलाई थप पुँजीको आवश्यक छ । सरकारले बैङ्क ऋणको ब्याज मिनाहा, किस्ता भुक्तानी समय बढाउने विषयमा पहल गरिदिन आवश्यक छ । यो व्यवसायलाई पुरानै अवस्थामा फर्काउन अब व्यवसायीको मात्र होइन सरकारको समेत दायित्व थपिएको छ ।

दैनिक २२ करोड घाटा सहँदै आएको पोल्ट्री व्यवसाय केही दिनयता कोल्टे फेर्ने अवस्थामा देखिएको छ । चल्ला, अण्डा र मासुको माग बढेको छ । उत्पादन कम छ, व्यवसायीलाई आफ्नो उत्पादन बिक्री गर्न भ्याइनभ्याई छ । कृषकले चल्ला राख्न हप्ता होइन महिना दिन पालो कुर्नुपर्ने अवस्था सिर्जना भएको छ । कोभिड–१९ का कारण तहसनहस भएको नेपाली सीमाको भारतीय बजारमा यतिबेला नेपाली ह्याचरीहरूले चल्ला पठाउने गरेका छन् । गोरखापत्र दैनिकमा शान्ता अधिकारीले खबर लेखेका छन् ।

छापाबाट
छापाबाट

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्