जसले पहिरोकै ढुंगामा अडिएर बिताए रात...

फाइल तस्वीर

घरमाथिबाट आएको पहिरोमा रौं चिरा समयको फरकले बचेका गोवासिंह राईलाई अहिले लाग्दै छ– ‘अलिकतिको संयोगले ज्यान जान पनि सक्दोरहेछ, रहन पनि सक्दोरहेछ ।’

शनिबार राति यही भयो उनको जीवनमा । पहिरोले एक्कासि घर हल्लायो । सिलिचोङ–१ बेसिन्दाका ७९ वर्षीय गोवासिंह श्रीमती र छोरीसहित अँध्यारोमा जसोतसो बाहिर निस्किए । निस्किसक्दा पहिरोले घर पुर्‍यो ।


Advertisement

पहिरोमा उछिट्टिएर आएको ठूलो ढुंगा उनीहरूका लागि सहारा बन्यो । अरू भाग पहिरोसँगै बगे पनि घरको छानो र खाँबो ढुंगामा अड्किएको थियो । आइतबार बिहान ११ जना बेपत्ता हुने गरी आएको पहिरोमा गोवासिंह, उनकी श्रीमती भीमसरी र छोरी फूलमाया त्यही ढुंगाको आडमा रातभरि बसिरहे ।

वरपर पहिरो, माझमा ढुंगा अनि ढुंगामाथि राई परिवार । त्यसमाथि अविरल वर्षा । ढुंगा ‘अब खस्यो अब खस्यो’ को त्रासमा रातभर बसिरहँदा उनीहरूलाई हजार फेर ‘अब मर्‍यौं, अब मर्‍यौं’ भइरह्यो । रातको अँध्यारोले उनीहरूलाई छोपेकाले कसैले देखेनन्, पहिरो, बाढी र दर्के पानीको आवाजले रोए/चिच्याएको कसैले सुनेनन् । उनीहरूमाथि रातभरि सानो–सानो पहिरो झरिरह्यो । पहिरोसँगै झरेको ढुंगा र माटोले उनीहरूको जीउमा चोट पुर्‍याइरह्यो ।


Advertisement

बाँच्ने आशा र मर्ने भयले उनीहरू चिच्याइरहे । आइतबार बिहान करिब ४ बजेतिर गाउँलेहरूले टर्चलाइट बालेर हल्लाखल्ला गरेपछि ‘हामी ज्युँदै छौं’ भन्ने चिच्याहटले सुन्ने कान पायो ।
गोवासिंहका अनुसार, त्यसै बेला उनीहरूको उद्धार हुन पुग्यो । उनका दुवै हातमा चोट लागेको छ, टाउकामा ढुंगाले गहिरो गरी काटेको छ । गोवासिंहलाई ज्यान बाँचेकाले चोटसँग उति गुनासो छैन ।

‘बाँच्छु जस्तो लागेकै थिएन,’ उनले भने, ‘हामी त खसिरहेको पहिरोमा भगवान्को नाम जप्दै बसिरह्यौं ।’ चारैतिर पहिरो गइरहेको अवस्थामा अँध्यारामा बसेर छटपटिनुबाहेक केही गर्न नसकेको उनले बताए । ‘परिवार सबै मरिने भइयो भनेर रुँदै बस्यौं,’ उनले भने, ‘तीन घण्टा हिलोमा भिजेर बिताइएछ ।’

बेसिन्दा बगरमा अलैंचीबारी गएका उत्तरकुमार राई पनि गड्याङगुडुङ गर्दै पहिरो झरेपछि गोठबाट भागे । लगत्तै पहिरो खसेर उनको गोठ र अलैंची बगान बगायो ।
‘अँध्यारोमा म भीर पहरा छाम्दै भागें,’ उनले भने, ‘पछि त्यहाँ पहिरो खस्यो ।’

खोलामा माटो गन्हाएको पानी बगेपछि बेंसीको गोठबाट भागेको उनले बताए । पहिरो गएको राति भीमबहादुर राई पनि घरमा एक्लै थिए । निद्रामै रहेका उनी घर हल्लिएपछि ब्युँझिएका थिए । ब्युँझँदा घर बगिसकेको थियो । त्यसपछि उनी आत्तिए । बाहिर निस्केर हेर्दा घर केही मिटर तल झरिसकेको थियो ।

‘एउटा ल्यापटप र मोबाइल थियो, त्यो खोजें तर भेटिएन,’ उनले भने, ‘घरको छानोमा के बज्रिएको जस्तो लाग्यो, म घरसँगै निक्कै तल झरिसकेको रहेछु ।’
उनले जीउ छामे, चिच्याए र एक फेर वरपर हेरे । ‘सबैथोक ठिकै लाग्यो, केही भएको रहेनछ भन्ने भएपछि गुहारगुहार भन्दै कराएँ,’ उनले भने ।

चिच्याउँदै ‘म सकुशल छु, छिटो उद्धार गर’ भनेर धेरै पटक कराउँदा पनि कसैले नसुनेको उनले बताए । ‘रातको अँध्यारोमा आवाज कताबाट आएको हो र को हो भन्ने छिमेकीले चिनेनन्,’ उनी भन्छन्, ‘तर म एकोहोरो कराइरहें, म जिउँदै छु, मलाई उद्धार गर भनिरहें,’ उनले भने ।

पहिरोको खबर प्रहरीलाई दिने र उद्धारमा सक्रिय मदन राईको हृदयाघातका कारण आइतबार ९ बजे ज्यान गयो । सामान्य दमका बिरामी मदनले पहिरो गएको खबर सबैभन्दा पहिले प्रहरीलाई गरेका थिए ।

अहिले बेसिन्दाका ७९ परिवार सबैले गाउँ छाडिसकेका छन् । पहिरोले ११ जना बेपत्ता पारेपछि घरपालुवा जनावरलाई छाडेर सुरक्षाकर्मीले उनीहरूलाई बेसिन्दाभन्दा २ घण्टामाथिको शेर्पा बस्ती रहेको चित्रे गाउँमा राखेका छन् । बेपत्ताहरू अझै फेला परेका छैनन् । पहिरोबाट जोगिएका बेसिन्दाका ३ सय ४९ जना भने चित्रेमा बसिरहेका छन् । तीमध्ये केहीले सोमबार बिहान घरपालुवा जनावर आफूसँगै लगेका छन् ।

‘चित्रे गाउँमा धान फल्दैन, यहाँ ९ परिवार शेर्पाहरू बस्छन्,’ वडाध्यक्ष अलक्षकुमार राईले भने, ‘यहाँ आलु र मकै मात्र पाइन्छ ।’ चित्रे पुगेका बेसिन्दाका पहिरोपीडितले अन्नपात केही साथमा लैजान पाएका थिएनन् । उनीहरूलाई आलु उसिनेर र मकै भुटेर आइतबार र सोमबार बिहान खुवाइएको राईले बताए । घरमा नअटेकाहरू खुला आकाशमुनि बसिरहेका छन् । उनका अनुसार अहिलेसम्म राहतका नाममा केही लैजान सकिएको छैन ।

पहिरो खस्ने ठाउँ नभएको बेसिन्दा गाउँको नसोचेको ठाउँमा पहिरो खसेको वडाध्यक्षले बताए । ‘पहिरो गएको स्थान अरू भूभागभन्दा धेरै दह्रो थियो,’ उनले भने, ‘पहिरोको अनुमानसम्म गरेका थिएनौं, तर यत्रो पहिरो गयो ।’ स्थानीय, प्रदेश र केन्द्रीय सरकारले पीडितलाई पुनर्वासको व्यवस्था गरिदिनुपर्ने उनको माग छ । ‘अब बेसिन्दा गएर कोही पनि बस्न मान्दैनन्,’ उनले भने, ‘बाँकी रहेका ७९ घर पनि पानी यसरी नै बगिरहे बग्ने खतरामा छ ।’

चित्रेमा रहेको अमरसिंह आधारभूत विद्यालय पनि पहिरोको उच्च जोखिममा रहेको प्रधानाध्यापक जीवनकिरण राईले बताए । त्यही भएर बेसिन्दाका पहिरोपीडितलाई विद्यालयमा राख्न नसकिएको उनले बताए । शेर्पाहरूको ९ घर र बौद्ध गुम्बा परिसरमा कोचाकोच गरेर पीडितलाई राखिएको छ ।

पहिरोमा परी बेपत्ता हुनेहरू सोमबार साँझसम्म भेटिएका छैनन् । प्रहरी, सशस्त्र, सेना र स्थानीय बासिन्दा बेपत्ताको खोजीमा छन् । यहाँ अझै लगातार पानी परिरहेको छ । खोजी कार्य भने सोमबार बिहानैबाट गरिएको प्रहरी नायब उपरीक्षक नवराज मल्लले बताए ।

विकट र भिरालो जमिन भएकाले बेपत्ताहरूको खोजीमा समस्या छ । अहिले पनि पहिरो खस्ने क्रम रोकिएको छैन । पहिरोमा ६५ वर्षीया गोरीमाया र २२ वर्षीया छोरी प्रकृति, राममान, उनकी श्रीमती हस्तकुमारी, छोरीहरू एन्जिला, नम्रता राई हराइरहेका छन् ।

बेपत्ता जुद्धबहादुर राई, श्रीमती उत्तरकुमारी, नजमाया, हर्कराज, आइतमाया राईको पनि पत्तो लागेको छैन । पहिरोले राममान राई, जुद्धबहादुर माने, जुद्धबहादुर गैरी, नजमाया, सन्दीप, भीमबहादुर, शिवधन, गोवासिंह र हर्कधन राईको घर बगाएको प्रहरीले जनाएको छ ।  दीपेन्द्र शाक्यले कान्तिपुर दैनिकमा खबर लेखेका छन् ।

छापाबाट
छापाबाट

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्