ओली–प्रचण्ड–नेपाल छलफल निष्कर्षविहीन

पार्टीभित्र देखिएको विवाद समाधानको प्रयास स्वरूप नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा वरिष्ठ नेता माधवकुमार नेपालबीच झण्डै २ घण्टा छलफल भएको छ । 

प्रचण्ड– नेपालले ओलीको राजीनामालाई बटमलाइन बनाएपछि बिहीवारको छलफल पनि ठोस निष्कर्षमा पुग्न नसकेको नेकपा स्रोतले बतायो । 


Advertisement

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार नेतात्रयबीच लामो छलफल भएको हो । नेता नेपाल निस्केपछि प्रचण्ड र ओलीबीच  केहीबेर छुट्टै कुराकानी भएको थियो । 

भेटवार्तामा महासचिव विष्णु पौडेल र जनार्दन शर्मा पनि सहभागी भएका थिए । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बिहीवार पनि नेताहरूबीच छलफल भएको लोकान्तरलाई जानकारी दिए । 


Advertisement

सरकारको कामका कारण पार्टीको बदनाम भएको भन्दै नेता नेपालले ओलीको राजीनामा गर्नुपर्ने अडान राख्दै आएका छन् ।

ओलीसँगको भेटअघि प्रचण्ड, नेपालसहित सचिवालयका ६ जना सदस्यहरूबीच छलफल भएको थियो । 

सहमतिको प्रयास स्वरूप ओली र प्रचण्डबीच बुधवार पनि छलफल भएको थियो । 

असार १० गतेदेखि शुरू स्थायी कमिटी बैठक बीचमै रोकेर ओली र प्रचण्डबीच निरन्तर छलफल भइरहेको छ ।

स्थायी  कमिटी बैठकमा ओलीको राजीनामा माग गरिएपछि नेकपा विवाद नयाँ चरणमा प्रवेश गरेको थियो । 

असार १८ गतेदेखि लगातार स्थगित हुँदै आएको नेकपा स्थायी कमिटीको बैठक साउन २ गतेका लागि बोलाइएको छ । 

नेताहरूबीच सहमति जुट्न नसक्दा भोलिका लागि बोलाइएको स्थायी कमिटी बैठक बस्ने नबस्ने अन्यौल बढेको छ ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्