विदेशी मुद्रा सञ्चिति पर्याप्त, १३ महिनाको आयात धान्न पुग्ने

नेपालमा विदेशी मुद्रा सञ्चिति पर्याप्त रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

कोरोना भाइरसका कारण विदेशी मुद्रा सञ्चिति घट्ने र यसले मुलुकलाई समस्या पार्न सक्ने आकलन भइरहेका बेला सञ्चिति पर्याप्त देखिएको हो।


Advertisement

राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको ११ महिनाको तथ्यांक अनुसार कुल विदेशी विनिमय सञ्चिति २५.८ प्रतिशतले बृद्धि भई १३ खर्ब ६ अर्ब ४६ करोड पुगेको छ। 

अमेरिकी डलरमा यस्तो सञ्चिति ०७६ असार मसान्तमा ९ अर्ब ५० करोड रहेकोमा ०७७ जेठ मसान्तमा १० अर्ब ७९ करोड पुगेको छ।


Advertisement

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति ०७६ असार मसान्तमा ९ खर्ब २ अर्ब ४४ करोड रहेकोमा ०७७ जेठ मसान्तमा ११ खर्ब ४२ अर्ब ७८ करोड पुगेको छ। 

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैँकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७६ असार मसान्तमा १ खर्ब ३६ अर्ब ४७ करोड रहेकोमा ०७७ जेठ मसान्तमा रु.१ खर्ब ६३ अर्ब ६८ करोड पुगेको छ।

०७७ जेठ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.५ प्रतिशत रहेको छ।

आर्थिक वर्ष २०७६/७७ को ११ महिनासम्मको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १३.३ महिनाको वस्तु आयात र ११.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ।

११ महिनामा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्रा प्रदायसँगका अनुपात क्रमशः ३४.७ प्रतिशत, ९७.५ प्रतिशत र ३२.३ प्रतिशत रहेका छन्। ०७६ असार मसान्तमा यी अनुपात क्रमशः ३०.० प्रतिशत, ६४.९ प्रतिशत र २९.० प्रतिशत रहेका थिए।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्