पीडा तर प्राप्तिको

गोपीनाथ मैनाली
गोपीनाथ मैनाली

मैनाली नेपाल सरकारका सचिव हुन् । 

अनौठो होइन, अस्वाभाविक पनि होइन, हामीले आकलन मात्र नगरेको हो, प्रत्येक प्राप्तिको अन्तर्यमा पीडा हुन्छ । 

पहिला प्राप्ति नहोला कि भन्ने पीडा, उपलब्धिपछि त्यसको हिफाजत र उपयोग गर्न नसकिएला कि भन्ने पीडा र उपयोग गर्न सके पनि त्यसको उपलब्धि विस्तार र निरन्तरता दिने पीडा ।


Advertisement

व्यक्तिगत तहमा होस् कि संस्थागत तहमा पीडा वास्तविकता हो । व्यक्तिगत तहमा जीवनदेखि मृत्युसम्म प्राप्ति र पीडाको चक्र नै दोलायमान हुन्छ । प्राप्ति सुखको खोजी हो, पीडा जीवनको वास्तविकता ।

हामीहरू प्राप्तिलाई उत्सवका रुपमा पनि मनाउँछौं, रमाउँछौं र अर्को प्राप्तिलाई आमन्त्रण गर्दछौं । स्मृतिका पत्रहरू पल्टाउँदा पनि खुशीमा डुबुल्की मार्छौं । ठूलो प्राप्तिमा ठूलै उत्सव, ठूलै स्मृति र ठूलै पीडा पनि । त्यसैले प्राप्ति र पीडा आवृत्तात्मक हुन्छ । 


Advertisement

विरुवा वनस्पति विवेकहीन छन् । यिनमा चेतना भए/नभएको पनि खोजीको विषय हो तर सत्य के हो भने विरुवामा जीवन छ । जीवन भएका सबैको उद्देश्य हुन्छ, उद्देश्य प्राप्तिको यात्रा हुन्छ । उद्देश्य र यात्रा चेत वा अचेत, व्यक्त वा अव्यक्त स्वरुपमा भएको मात्र हो ।

बढ्नुको यथार्थमा वनस्पति रहन्छ । विजांकुरण (जर्मिनेसन) देखि प्रकाशतिर लम्किनु, घाम भएतिर माथि–माथि जानु वनस्पतिको यथार्थ हो । सबै विरुवाहरू प्रकाश (उद्देश्य) तिरै बढ्छन् ।

मानिस त चेतना र तृष्णा भएको प्राणी, उपलब्धि बढाउन निरन्तर बढ्ने नै भयो । ऊ यति बढ्छ कि त्यो बढाइ, त्यो संघर्ष निरन्तरको आशक्ति साँच्चै जरुरी थियो । 

बुद्धले दुःखलाई जीवनको सत्य भनेका छन् । उपलब्धिको आशक्ति झनै ठूलो सत्यको सगरमाथा हो मानव जीवनमा । यो असन्तोष र आशक्ति क्षतविक्षत भएर नै मानिस आधुनिक युगसम्म आइपुगेको हो । शुरूमा भावनात्मक चेतमाथि आन्दोलन गर्‍यो र सुखको स्वाद चाख्यो । स्वादमा रमाएको मानव जाति अरु स्वाद र सुखमा निरन्तर छ ।

जंगली अवस्थामा सुरक्षाको चाहना राख्यो । परिवार, रुखको ओत र ओडारको सुरक्षाले अघाएन, राज्य नामको औपचारिक संस्था खडा गर्‍यो । राज्य र राज्यको मुखियाले उसलाई सुख र संरक्षणका नाममा अधिनायकत्व थप्यो । निजत्वमाथि जञ्जिर लगायो, तैपनि राज्य प्राप्ति थियो । राज्य मानव समाज सुखमय बनाउने पहिलो आविस्कार थियो ।

जंगली अवस्थाको प्राकृतिक स्वच्छताको विकल्पमा १० हजार वर्षअघि कृषि क्रान्तिका नाममा उत्पादन प्रणाली परिवर्तन भयो । स्वादिला फसल उब्जायो, सञ्चय गर्‍यो, प्रशोधन विधि पनि बसाल्यो । फसलहरूको स्वादफेर गर्न विनिमय गर्न थाल्यो । यो तत्कालीन अवस्थामा अद्भूत प्राप्ति थियो । प्राप्तिको अन्तर्यमा लालसा थियो । त्यो स्वादमा मात्र फेरि ऊ रमाएन । प्रकृतिमाथि शोषण एकलौटी शोषण गर्दै ठूल्ठूला फाँटमा सघन र उन्नत उब्जनी गयो, सञ्चय गयो, विनिमय विस्तार गर्‍यो । उब्जनीलाई सम्पत्तिमा सञ्चय गर्न विश्वासको मुद्रा आविस्कार गर्‍यो । मुद्रा अब धन बन्यो । मुद्रा आर्जनमा धनी बन्ने तृष्णा हुर्कियो । अरुभन्दा धेरै सञ्चय, धेरै स्वाद र धेरै सामथ्र्य बटुल्यो । मिडासको कथा जस्तै अनन्त आशक्तिले क्षतविक्षत भयो तर न तृष्णा घट्यो, न लालसाको नशा । 

८०० वर्ष जति भयो होला, वैज्ञानिक खोज र आविष्कारको लालसामा मानवसत्ता लालायीत भयो । खेतीपाती र सामान्य उत्पादन प्रणालीबाट मानवसत्ता अघाएन । विधि, प्रविधि र यन्त्र उपकरण आविष्कार भए । उत्पादन, वितरण, उपभोग र प्रभाव विस्तारले मानिसहरू प्रगतिशील भए तर लालसा यति बढ्दै गयो कि भूगर्भ र अन्तरिक्ष पनि अछुतो रहेन । 

मानव मस्तिष्क फराकिलो भए, मानव दृष्टिहरू फराकिलो भए, यात्रा र मनोरञ्जन पनि फराकिलो भयो । भूगर्भ र अन्तरिक्ष देख्ने दृष्टिहरू ईश्वरीय थिए । मानव सुखको भण्डार भूगर्भमा देखियो, मानव आवश्यकताको भण्डार समुद्रमा भेटियो, मानव इच्छाका तरङ्गहरू अन्तरिक्ष/आकाशमा देखियो । सिर्जना र आविष्कारले मानिस ईश्वरीय बन्यो । 

अरुमाथि प्रभाव पार्ने मनोविज्ञान विस्तार भएर होला, गाउँका मुखिया विश्व सम्राट बन्ने चाहनामा दौडिए । उपनिवेशले अरुको गाउँ, अरुको राज्य, अरुको स्रोत–सम्पत्तिमाथि धावा बोल्न थाल्यो । सुन्दर सपनाबाट बनाइएका राज्यका किल्लाहरू ध्वस्त र पराधिन भए । मानिस राज्यबाट मात्र होइन, साम्राज्यबाट, आफ्नोबाट मात्र होइन, परायाबाट पराधिन भयो । मानव पसिना सम्राटका श्रीमतीका नाममा महल र स्मारक ठड्याउन लागे । आफ्नालाई यातना दिने र पराया खुशी पार्ने जबरजस्त पीडामा परिश्रम खर्चियो ।

इतिहासमा धेरै युद्धहरू भएका छन् । युद्धउन्दमादीहरूले विजयोत्सव मनाए तर विजेताहरू विजयशक्तिमा आश्वस्त भएनन् । पराजितहरू विजयको सपनामा रहे । सधै सबै युद्धको तयारीले शान्ति र सिर्जना हार्न थाल्यो । मानव सत्ता हार्दै आयो । शान्ति र सिर्जनामा मौलाउनुपर्ने मनहरूमा युद्ध र आक्रोश झाँगियो । प्राप्ति वा पराजय दुवै स्थायी भएनन् । युद्धको भावनालाई जित्न खोज्ने मनहरू सधै पराजित भए । बेग्लाबेग्लै रूप र अर्थका युद्धहरूले मानवसत्ता सधै चिथोरियो, असमानता र बञ्चितीका पर्खालहरूले प्रगतिलाई गिज्याइरह्यो । न युद्ध विरोधी अभियान देखियो, न अभियान्ता देखिए ।

समृद्धि र सुखको अनन्त आरोहमा चौथो क्रान्ति आइपुगेको छ । चौथो क्रान्ति समुद्रको छालजस्तो एकपटक मडारिएर पुनः शान्त सुस्केरामा पुग्ने घटनाको स्वरूपमा छैन । हजार फिटमाथिबाट खसेको झरनाजस्तो झरी नै रहेको छ । प्रत्येक झराइमा पछिल्लो प्रवेग बढ्दैछ । सहस्राब्दीका पुस्ताहरू चौथो क्रान्तिका उपलब्धि उपभोगमा आफैंलाई भुलिरहेका छन् । हत्केलामा संसार छ, फिंगरस्टिप्समा संसारका अवसरहरू छन्, अवसरहरू असरल्ल छन्, अवसर उपयोगका अवरोधहरू गर्ल्यामगुर्लुम भत्किएका छन् । लागत, भूगोल, समाज र राज्यप्रणाली अवसर दोहनका बाधक छैनन्, फगत अवसरमा पौडिन जाने भयो । सहस्राब्दीका पुस्ताहरू औधि रमाएको छ, नयाँ स्वाद र सन्तुष्टिमा विन्दास छ । न अरुको चियोचर्चो गर्छ, न इष्र्या नै राख्छ । युवाहरू परिश्रमी मात्र होइन, नितान्त निजी बन्दैछन् ।

तर चौथो क्रान्तिको उपलब्धिले पस्केका पीडाहरू झनै ओजिला र गहरा देखिँदैछन् । अवसर दोहनको भौतिक दूरी त घट्यो, समाज भावनात्मक रुपमा पनि खण्डिकृत बन्दैछ । भौतिक सम्बन्ध र दूरी घट्नुको अर्थ सामजिक सम्बन्ध, मानवीय हार्दिकता र सहभावबाट पर पुग्नु हुँदैन थियो । अनलाइन प्रविधिले समाजलाई अफलाइनमा पुयाउँदैछ । फेसबूकले फेसलेस समाजको निर्माण गर्दैछ । अनलाइन प्रविधि त असल मूल्यप्रणालीलाई विस्तार र सञ्जालीकृत गर्न पो विकास भएको हो । सामाजिक, आर्थिक र आत्मिक मूल्य कसिलो बनाउन पो विकास गरिएको हो । मूल्य र भावनाको वैयक्तीकरणबाट मानव सत्तालाई कसरी माथि उठाउने ? 

मानिसहरू यहाँ आइपुग्नुको धरातल किन भुल्दैछन् ? विगतका पीडाहरूको विवेचना गरेर खुशीको अभियानमा प्रविधि र पुस्ता किन परिचालित भएन ? मनले विश्व निर्माण–विनिर्माण गर्ने हो, किन भित्रभित्र सिर्जना र मनै हराउन थाल्यो ? के सबै प्राप्तिले पीडा पछ्याउनैपर्छ ?
 
जीवनको सबैभन्दा ठूलो रहस्य आफैंलाई बुझ्नु हो । आफैंलाई खोज्ने यात्राले जीवनलाई खुल्दुलीपूर्ण तर सुन्दर बनाएको हुन्छ । बाँच्ने, मर्ने, सफलता, असफलता, रिस राग र माया प्रेम जस्ता सबै कुरा रहस्यमा रहेकाले प्राप्तिको यात्रालाई सुन्दर बनाएको हो । सम्पूर्ण रहस्य खुलेपछि जीवन ह्वाङ्गै उदाङ्गो होलो हुन्छ । कल्पना गरौं – कति निरस होला त्यो अवस्था तर चौथो क्रान्तिको अद्भूत चमत्कारले सबै मानवीय रहस्य, वैयक्तिक भावना, चाहना, इच्छा, प्रक्रिया, उद्वेग क्षणमै अरुले बुभ्mने, नियन्त्रण र निर्धारण गर्नसक्ने प्रविधिको विकास गर्दैछ । 

इन्फोटेक, बायोटेक र डाटाको संयोजनले आफूले बुझेभन्दा धेरै सजिलोसँग अरुले नै हामीलाई बुझ्न सक्ने छन् । दार्शनिक युभल हरारीका सूत्रमा जैविक ज्ञान (वी), कम्प्युटरको शक्ति (सी) र डाटा (डी) गुणक अन्तर्क्रियाले मानिसको गतिविधि निर्धारण गर्दैछ । एल्गोरिदमको संयन्त्रले वायोकेमिकल्स प्रणालीलाई सहज बुझ्ने गर्छ । विज्ञानको यस सूत्रले मानिसलाई निमानवीकृत र पूर्ण यान्त्रिक विषय बनाउँदैछ । यसले मानव जीवनको परिभाषा बदल्दैछ ।

मानिस भन्ने संवेग र भावनाको विषय अब नरहने भयो । मानिस हुन थोरै गोपनीयता र रहस्य बाँकी हुनुपर्छ तर मानवीय संवेग, भावना, प्रेम, दया, प्रक्रिया, सिर्जना अरुले निर्धारण र नियन्त्रण गर्न सक्ने स्थितिमा मानव सत्ता नै पराजित हुने भयो । कृत्रिम बौद्धिकता र वायोप्रविधिको तछाडमछाडले मानव जीवन नहार्ला भन्न सकिन्न । आफ्नै सिर्जनाका प्राप्ति आफैंलाई पराजित गर्नेसम्मको स्थिति कति पीडादायी छ, कल्पनासम्म गर्न सकिन्छ । संसारलाई कायापलट गर्न खोजिएका खोज र गरिएका आविष्कारले स्वयं मानिसलाई त्राहीमाम पारेपछि मानव स्व नै नरहने हो कि भन्ने स्वाभाविक सन्देह छ । 

मानव इतिहास निरन्तर समृद्धिको यात्रा हो । मानव सत्ता यहाँसम्म घटना वा आकस्मिकताले आइपुगेको होइन, यो निरन्तरको विकास र सामाजिक प्रजननको परिणाम हो । तेस्रो श्रेणीका असम्भवहरू पनि मानव प्रयत्नबाट सम्भव बन्दैछन् तर यी पीडा नभई परिणाम हुन् भन्ने यस सर्जक र उपभोक्त दुवैले नबुझेसम्म प्राप्तिभन्दा पीडा बढ्दै जानेछ । 

गोपीनाथ मैनाली
गोपीनाथ मैनाली

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्