'यथास्थितिमा कांग्रेस चल्न होइन, बाँच्न पनि सक्दैन'

गुरूराज घिमिरे
गुरूराज घिमिरे

नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष समेत रहेका घिमिरे नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुन् ।

अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टनले आफ्नो आत्मकथा 'मेरो जीवन' को समर्पण खण्डमा लेखेका छन्, 'मेरी आमालाई,जसले मलाई जीवनको प्रेम दिनुभो, हिलारीलाई, जसले मलाई प्रेमको जीवन दिइन्, चेल्सीलाई, जसले मलाई खुशी र जीवनको अर्थ दिइन्, र मेरा हजुरबुवाको सम्झनामा, जसले मलाई अरूले हेपेका मानिसहरूलाई सम्मानको दृष्टिले हेर्न सिकाउनु भो!' यो प्रसंग किन उल्लेख गरिएको हो भने राजनीतिको मुख्य लक्ष्य नै मानवजातिको मर्यादा र आत्मसम्मानलाई दृष्टिगत गर्दै समाजमा विद्यमान सबै प्रकारका विभेदहरू मेटाउनु र हेपिएका मानिसहरूलाई सम्मानको जीवन दिलाउनु हो। आज दुनियाँको संघर्ष यसै विषयमा केन्द्रित छ।

मानव सभ्यताको विकाससँगै संसारले धेरै किसिमका चुनौतीहरूको सामना गर्दै आजको मोडसम्म आइपुगेको छ। यस दौरानमा विश्व मानचित्रमा धेरै देशहरूको अभ्युदय र पतन भएको छ। यसका निम्ति धेरै ठूला संघर्ष, हिंसा र अपार धनजनको क्षतिलाई संसारले बेहोरेको छ। त्यतिमात्र होइन, धेरै सभ्यताहरू विलुप्त भएका छन् र नुतन सभ्यताको उदय समेत भएको छ। आजको चर्चा यस विषयमा नभएकाले विस्तृत रूपमा नगइकन विषयवस्तुतर्फ नै केन्द्रित हुनु उपयुक्त हुनेछ।


Advertisement

इतिहासले व्यक्ति तथा संस्थालाई बराबर अवसर उपलब्ध गराउने गर्दछ। ती अवसरहरूलाई सदुपयोग गरेर व्यक्ति वा संस्थाले ठूल्ठूला उपलब्धि हासिल गर्दछन्। यद्यपि कतिपय अवस्थामा ती अवसर चुनौतीको रूपमा उपस्थित हुन्छन्। तर त्यसलाई पहिचान गर्न सक्नुपर्दछ, ठम्याउन जान्नु पर्छ। दोस्रो विश्वयुद्धमा क्षतविक्षत भएको जापानले तत्कालीन चुनौतीलाई अवसरमा बदल्न जान्यो र चमत्कारिक उपलब्धि हासिल गर्‍यो । अमेरिकी स्वतन्त्रता संग्रामपछि त्यहाँका नागरिकहरूलाई लाग्यो, अब हामी चुप लागेर निस्क्रिय बस्नु  हुँदैन। बीसौं शताब्दीमा साठीको दशकपछि कोरिया, सिंगापुर लगायतका देशहरूमा विकासको लहर शुरु भयो। १९७१ मा बेलायती शासनबाट मुक्त भएको संयुक्त अरब इमिरेट्समा बालुवा, पानी र आफूलाई अत्यन्त अभागी ठान्ने निरीह इमराती नागरिकबाहेक केही पनि थिएन । आज विश्वको विकासलाई चुनौती दिने ल्याकतमा युएई पुगेको छ।

आधुनिक महानगर दुबईको समृद्धिले संसारको ध्यान खिचेको छ। खाडीहरूले विकासको तीव्र गति समातेका छन्। पामआयल, टिम्बर र खेतिपातिको भरमा अर्थतन्त्र धानेको मलेसियाले असीको दशकपछि हासिल गरेको विकास अनुकरणीय र उदाहरणीय छ। छिमेकी चिनले पनि असीको दशकबाटै विकासमा फड्को मारेको हो। दक्षिण एसियाका भारत, श्रीलंका, भुटान लगायतका देशहरूमा भएको विकास चुनौतीलाई अवसरमा बदलेर नै भएको हो । यी प्रसंगहरू किन उद्धृत गरिएको हो भने हामी कहाँ छौ त ? हाम्रासामु आएका चुनौतीहरूलाई हामीले अवसरमा परिणत गर्ने कुशलता वा बुद्धिमत्ता प्रदर्शन गर्न सक्यौं या सकेनौं ? मूल प्रश्न यही हो । सबैलाई थाहा छ कि हामीले सकेनौं र राष्ट्रको बहुमूल्य समय त्यसै खेर गयो। हामीलाई प्राप्त अवसरहरू त्यत्तिकै आफलिए ।


Advertisement

यो कुरा व्यक्तिको हकमा समेत लागू हुन्छ। पार्क चुङ ही तानाशाह थिए । सैनिक जर्नेल पार्कले सन् १९६१ मा कोरियाको शासन आफ्नो हातमा लिएका थिए । उनैले दक्षिण कोरियाको तीव्र औद्योगीकरण गरी विकासको जग बसाए। ली क्वान यू समेतलाई तानाशाहको बिल्ला भिराउने प्रयास भयो तर उनी सच्चा प्रजातन्त्रवादी र कुशल राजनेता थिए एवं आधुनिक सिंगापुरका जनक भए। देङ स्याओ पेङ र महाथीर मोहम्मद क्रमश: आधुनिक चीन र मलेसियाका निर्माता हुन् । नेपालको हकमा छोटो समयमा बीपी कोइरालाले आफ्नो क्षमता प्रदर्शन गरे।  

नेपालको ऐतिहासिक राजनीतिक आवश्यकताले जन्मिएको राजनीतिक दल हो नेपाली कांग्रेस । तत्कालीन समाजका सचेत र जागरुक नेताहरूको अग्रसरतामा यसको स्थापना भएको हो। यसको जन्मसँगै नेपाली समाजमा आर्थिक, सामाजिक रुपान्तरण र राजनीतिक परिवर्तनको भ्रूण रोपिएको थियो ।

भारतमा राज गरिरहेको बेलायती औपनिवेशिक शासनविरुद्ध चलिरहेको स्वतन्त्रता संग्राममा होमिएको कोइराला परिवारका मेधावी सदस्य बीपी कोइरालाको अग्रसरता र नेतृत्वमा प्रारम्भमा नेपाली राष्ट्रिय कांग्रेस र पछि नेपाली कांग्रेसको रूपमा यो दल विकसित भएको हो । नेपाल प्रजातन्त्र कांग्रेसका नेता सुवर्णशमशेर राणासँगको सहकार्यमा नेपालबाट दमनकारी निरंकुश राणा शासनको अन्त्यपछि नेपाल प्रजातान्त्रिक युगमा प्रविष्ट गरेको हो । प्रजातन्त्र भनेको प्रकाश हो र तानाशाही भनेको अन्धकार । नेपाली जनतालाई अन्धकारबाट मुक्त गरी प्रजातन्त्रको प्रकाशले सिञ्चन गर्ने काम नेपाली कांग्रेसको अग्रसरता र नेतृत्वमा सम्पन्न भएको हो ।

विश्व विख्यात चिन्तक, अर्थशास्त्री र राजनीतिज्ञ चाणक्यले भनेको एउटा कुरा ज्यादै महत्त्वपूर्ण छ। उनले भनेका छन्– जतिसुकै सुरवीर, लोकप्रिय र विद्वान भएपनि ऊसँग योजना, संगठन र स्रोत साधनको समुचित व्यवस्थापन भएन भने केही काम लाग्दैन। जतिसुकै राम्रो विचार भएपनि त्यसको कार्यान्वयन गर्न सम्भव हुँदैन। यो प्रसंग किन उद्धृत गरिएको हो भने सर्वस्वीकृत लोकतान्त्रिक सिद्धान्त बोकेको कांग्रेसले स्पष्ट योजना, संगठन र उपयुक्त साधनको व्यवस्थापनद्वारा नेपालबाट निरंकुश राणाशाहीको अन्त्य गरी नेपाललाई प्रजातान्त्रिक युगमा पदार्पण गराएको हो । नेपालको राजनीतिक इतिहासमा त्यो घटना राजनीतिक विकासको अग्रगामी चरण थियो।

नेपाली समाजमा जरा गाडेर बसेको शदियौं पुरानो विभेद र जनताले भोगी राखेको नारकीय एवं कारुणिक जीवनलाई सहज तथा सुखद् बनाउन राजनीतिक स्वतन्त्रतालाई प्रथम शर्तको रूपमा बुझेर नै नेपाली कांग्रेसले २००७ सालको जनक्रान्तिको आयोजना गरेको थियो। त्यतिखेर जनतालाई राजनीतिक अधिकार सम्पन्न तुल्याउनु एउटा ऐतिहासिक दायित्व थियो भने अर्को दुई ठूला छिमेकी चीन र भारतका बीचमा अवस्थित नेपाललाई स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न र प्रतिष्ठित राष्ट्रको रूपमा विश्वसामु उभ्याउनु आवश्यक थियो । यस ऐतिहासिक कार्यमा नेपाली कांग्रेसले आफूलाई समर्पित गर्‍यो । भारतबाट अंग्रेजको शासन हटेपछि भारतीयहरूले नै शासन व्यवस्था चलाउन थाले, तर आफ्ना वरिपरिका छिमेकी राष्ट्रहरूप्रतिको रवैया र व्यवहार ठीक देखिएन । भारतको स्वतन्त्रता संग्राममा सपरिवार झण्डै दुईदशक योगदान पुर्‍याएका बीपी कोइरालाप्रति समेत राम्रो व्यवहार हुन छाड्यो ।

दलको नेतृत्व र नीतिमा समय सापेक्ष परिवर्तन र सुधार हुँदै नजाने हो भने दलले आफ्नो सान्दर्भिकता गुमाउँदै जान्छ । खास नेता र नीतिको प्रयोजन सकिएपछि नेता र नीति दुवै फेरिनुपर्छ र यो प्रचलन संसारभरि छ ।

राणाहरूको बन्दी भएका राजासमेत आफ्नो मनमौजी गर्न लागे। त्यसैको परिणामस्वरूप २००७ सालदेखि ०१५ सालसम्म संक्रमणकाल लम्बियो । बल्लतल्ल संविधान सभाको निर्वाचनको सट्टा सम्पन्न भएको संसदीय निर्वाचनबाट गठन भएको दुईतिहाइ बहुमतको सरकारले भौतिक विकासको पूर्वाधार खडा गर्ने कोशिश मात्र के गरेको थियो त्यसलाई अपदस्थ गरी राजाको नेतृत्वमा पञ्चायती राज शुरू गरियो । नेपाल पुनः घनघोर राजनीतिक अन्धकारतर्फ प्रवेश गर्‍यो । तीन दशकको त्यो लामोसमय नेपाली जनताका लागि त्रासदीपूर्ण कालरात्रिकारूपमा आजपनि स्मृतिमा छ । यस्तो राजनीतिक परिस्थितिलाई पुनः सही बाटोमा ल्याउन पनि नेपाली कांग्रेसले निर्णायक अगुवाइ गर्‍यो र प्रजातन्त्रको पुनर्स्थापना भयो।

यो सिलसिला संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी गरेर परिवर्तित संवैधानिक व्यवस्थाअनुसार तीनै तहका निर्वाचन सम्पन्न गराउँदासम्म कायम छ। २००७ सालको जनक्रान्ति अघिको ऐतिहासिक उद्घोषबमोजिम संविधानसभाबाट नयाँ संविधान बनाउने गहन अभिभारा पूरा गरेर नेपालमा भएको युगान्तकारी राजनीतिक परिवर्तनलाई संस्थागत गर्ने दायित्व पूरा गर्नु सामान्य कुरा थिएन। त्यसयता भने मुलुकको नेतृत्व गैरलोकतान्त्रिक शक्तिको हातमा पुगेको छ। अहिले कांग्रेस 'वाच डग' को भूमिकामा प्रमुख प्रतिपक्षी दलको स्थानमा छ। यी विषयहरू हाम्रो इतिहासमा घटित स्थापित सत्य हुन्।

अब यतिबेला नेपाली कांग्रेस आफ्नो चौधौं महाधिवेशनको प्रारम्भिक तयारीको चरणमा छ। यसको संशोधित कार्यतालिका समेत प्रकाशन भई कार्यारम्भ भइसकेको छ। यसको सोझो अर्थ कांग्रेस महाधिवेशनमा होमिइसकेको अवस्था छ।

महाधिवेशन के हो र यसले पूरा गर्नुपर्ने दायित्व र अभिभारा के हो? आजको मूल प्रश्न यही हो। के यो महाधिवेशन यसअघिका महाधिवेशन जस्तै हो? या चौधौं महाधिवेशनका केही गुणात्मक अन्तरहरू पनि होलान् ? र पूरा नगरी हुने दायित्व पनि होलान् ? यो निकै गहन विषय हो। निश्चितरूपमा मुलुकमा अहिले विशिष्ट राजनीतिक परिस्थिति विद्यमान छ । विशिष्ट यस अर्थमा कि राजनीतिको केन्द्रमा यतिबेला नेकपा छ। मुलुकको बागडोर उसैको हातमा छ। लोकतन्त्रप्रतिको कमजोर निष्ठाका बावजुद संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणको दायित्व समेत उसैको काँधमा छ। मुलुकको विकास र जनकल्याणको दायित्व पनि उसैले बोकेको छ। तर बहुमतप्राप्त राजनीतिक दल भएपनि उसकाप्रति पूर्ण जनविश्वास छैन। यस्तो बेलामा कांग्रेसको महाधिवेशनसँग आम लोकतन्त्रवादीहरूका थुप्रै अपेक्षा छन्। यी अपेक्षाहरू पूरा गर्न पार्टीको नेतृत्व कस्तो हुनुपर्छ भन्ने विषय मुख्य हो । सँगसँगै पार्टीका आगामी नीति र कार्यक्रमहरू समेत पर्दछन् । यसका लागि कांग्रेस कस्तो योजना बनाउँदै छ भन्ने कुरा मुख्य जिज्ञासा भएको छ। पार्टी सदस्य मात्र होइन, आमजनताको अपेक्षा पूरा गर्ने भरपर्दो नेतृत्व र नीति तथा कार्यक्रम तर्जुमा गरेर महाधिवेशन सम्पन्न गर्ने तदारुकता कांग्रेसले देखाउन सक्ला या नसक्ला भन्ने चिन्ता र चासो सबैतिर छ । तर, लक्षणहरूमा कुनै सुधार छैन । गति उही छ र मनस्थिति फेरिएको छैन ।

दलको नेतृत्व र नीतिमा समय सापेक्ष परिवर्तन र सुधार हुँदै नजाने हो भने दलले आफ्नो सान्दर्भिकता गुमाउँदै जान्छ । खास नेता र नीतिको प्रयोजन सकिएपछि नेता र नीति दुवै फेरिनुपर्छ र यो प्रचलन संसारभरि छ । त्यसको अपवाद नेपाल मात्र हुन सक्दैन। कतिपय देशमा गतिशील र बहुप्रतिभाशाली नेताहरूले आफूलाई सदाबहार साबित गर्न सकेका छन् तथापि यो संख्या न्यून छ। नयाँ परिस्थितिका लागि समेत आफूलाई तयार गर्न सक्ने नेता बिरलै पाइन्छ। त्यो अवसर हरेक नेताका लागि हुन्छ, तर सबै महाथीर वा ली क्वान यू बन्न सक्दैनन् । आफूलाई सान्दर्भिक बनाउन नसक्ने बुद्धिमान र सच्चा प्रजातन्त्रवादी नेताले दलभित्रै सही उत्तराधिकारीको खोजी गर्न ढिलाई गर्दैन र नयाँ सन्दर्भमा दललाई अघि बढाउन मद्दत पुर्‍याउँछ । यसो गरेर उसले आफ्नो इतिहास पनि जोगाउँछ र नयाँ पुस्ताको भविष्य पनि बचाइदिन्छ । कांग्रेस महाधिवेशनमा यो बहसले गति पकड्ने र आकार ग्रहण गर्ने दह्रो सम्भावना छ।

समयको गतिलाई नबुझ्ने हो भने समयले नै राजनीतिक दललाई फर्केर आउनै नसक्ने अँध्यारो सुरुङमा धकेलिदिन्छ र उसले गरेको योगदानलाई राजनीतिक साहित्यमा परिणत गरिदिन्छ। कांग्रेस नयाँ पुस्ताका लागि साहित्य बन्ने कि सान्दर्भिक बनिरहने, आजको प्रश्न यही हो। बल्ल बहस शुरू भएको छ र यसले केही श्रृंखलाको माग पनि गर्दछ । निचोडमा यति भन्न सकिन्छ कि यथास्थितिमा कांग्रेस चल्न मात्र होइन बाँच्न पनि सक्तैन ।

गुरूराज घिमिरे
गुरूराज घिमिरे

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्