नेपाली भाषाका अंग्रेजी ‘गुलाम’हरू : विद्यालयमा नेपाली बोल्न निषेध किन ?

भरत केसी
भरत केसी

केसी समसामयिक विषयवस्तुमा कलम चलाउँछन् ।

वैज्ञानिक लामार्कले मानव विकाससँग जोडेर एउटा सिद्धान्त प्रतिपादन गरेका थिए । जसलाई ‘युज एन्ड डिसयुज’ भनेका छन् ।

जुन कुरा हामी निरन्तर प्रयोगमा ल्याउँछौँ, त्यो विकासको निरन्तरतासँगै अर्को चरणमा पुग्दछ र जब हामी केही कुरा प्रयोग गर्न छोड्छौं वा प्रयोग नै गर्दैनौं त्यो बिस्तारै हराएर जान्छ ।


Advertisement

केही वैज्ञानिकले मानव विकासको आदिकालमा हाम्रा पुर्खामा पुच्छर थियो भनि सिद्धान्त पनि दिएका छन् । जसमा पछि हात र नंग्राको अत्यधिक प्रयोगले पुच्छरको प्रयोग घट्दै गयो र अन्ततः विलिन हुन पुग्यो भनिएको छ । 

खैर, सिद्धान्त जेसुकै होउन्, कम प्रयोगमा आउने वा प्रयोगमा आउँदै नआउने चिज कालान्तरमा नासिएर नै जान्छ । यसमा कुनै दुईमत रहेन ।


Advertisement

आज हाम्रो भाषा र संस्कृति पनि यही चरणबाट गुज्रिरहेको छ । नेपाली भाषामाथि अंग्रेजीको प्रहार र संस्कृतिमाथि बाह्य प्रभावले हामीलाई भित्तामा च्याप्दै लगिरहेको छ । सांस्कृतिक आक्रमण यही गतिमा हुँदै जाने हो भने कुनै दिन यस्तो पनि आउनेछ, जहाँ हामीसँग सबथोक हुनेछ, सिवाय हाम्रो सभ्यता ।

१८ औं शताब्दीताका संसारभरि आफ्नो साम्राज्य फैलाएको संयुक्त बेलायत जब बिस्तारै क्षयीकरण हुँदै गयो र आफ्नो साम्राज्य गुमाउँदै गयो, तब उसले संसारभर राज गर्ने अर्को दीर्घकालीन योजना बनाउन थाल्यो । जसका माध्यमद्वारा आफ्नो भाषा, संस्कृति र धर्म संसारका कुना–कुनासम्म पुर्‍याउने उसको लक्ष्य रह्यो । पश्चिमाले त्यसपछि विभिन्न संघसंस्था (आईएनजीओ) को अवधारणा ल्याई आफ्ना कार्यक्रमहरू संसारभर तीब्र रुपमा विस्तार गर्न थाले ।

संस्थाहरूको प्रयोगलाई पश्चिमाले आफ्ना संस्कृति फैलाउने एक अभियानको रुपमा लिएका छन्, न कि कुनै सेवामूलक कार्य । आज संसारभर उसका हजारौं भगिनीजस्तै संस्थाहरू छरिएका छन् । जसद्वारा उसले त्यस देशको भाषा, संस्कृति र धर्ममाथि प्रहार गरी कमजोर बनाई आफ्नो सभ्यता लाद्ने र बिस्तारै प्रभूत्व जमाउने गरेको छ । यसबाट नेपाल पनि अछुतो रहन सकेन ।

यहाँ रहेका स्कूल, मिडिया, राजनीतिक दल, विभिन्न संगठनभित्र बिकाउ एजेन्ट खोज्ने र आफ्ना एजेन्डा लाद्न प्रेरित गर्ने रणनीतिका साथ पश्चिमाहरू संसारभर सहयोग वा दानका नाममा डलरको चलखेल दशकौंदेखि गरिरहेका छन् । त्यसमाथि हाम्रो देशमा बिक्ने मान्छेको कमी कहाँ छ र ?

यसकै ‘साइड इफेक्ट’ हो आज बच्चाका नामदेखि कामसम्म, गल्लीका रेस्टुराँदेखि राजमार्गका पसलसम्म अंग्रेजी लवजमा छन् । पूर्वीय दर्शनमा मोहभंग र पश्चिमा प्रतिको लगाव पनि यसकै उपज हो । धर्म परिवर्तनका फण्डादेखि उच्छृंखलताको नांगो नाच पनि हाम्रो भाषा र संस्कृतिमाथि प्रहारकै उपज हो । देशभित्र विदेशी संस्कृतिको प्रवद्र्धन र संरक्षण गर्नेहरू मौलिक परम्पराप्रति कुतर्क गर्ने कठपुतलीहरू हुन् ।

यही स्थितिमा सांस्कृतिक आक्रमण जारी रहे हाम्रा सन्ततीले निकट भविष्यमै हाम्रो सभ्यता, भाषा र संस्कृति संग्रहालयमा खोज्नुपर्ने दिन नआउला भन्न सकिँदैन ।

भाषा भनेको बोली मात्र होइन, संस्कार, संस्कृति, रीतिरिवाज र जीवनशैली पनि हो । भाषा र देशको भूमि एकअर्कोसँग अन्योन्याश्रित हुन्छन् । देश रहे भाषा रहन्छ, भाषा रहे संस्कृति रहन्छ, संस्कृति छ भने धर्म रहन्छ, धर्म रहे मानवीयता रहने हो, जब मानवीयता नै छैन भने मानव कसो गरी रहन्छ ? देश बचाउन भाषा रहनुपर्छ र भाषा रहन देश रहनुपर्छ ।

भाषा एक अभिव्यक्तिको माध्यम हो, ज्ञान होइन । अंग्रेजी बोल्दैमा विवेकी भइने र नेपाली बोल्दैमा अज्ञानी हुने होइन । अंग्रेजी भाषालाई आधुनिक जमानाको प्रगतिको सिँढी ठान्ने बज्रस्वाँठहरूको जमात पनि कम छैन । अंग्रेजी बेगर विकासका आँखा नै नदेख्ने रतन्धो रोगीहरूले एकपल्ट डेनमार्क, फ्रान्स, जर्मन, स्पेनतिरका आधुनिक र सांस्कृतिक विकासलाई हेर्दा पुग्यो । अल्छीहरूलाई त्यति टाढा पनि जानु पर्दैन, हाम्रै एसिया भित्रका देशलाई हेरे पुग्छ ।

के चिनियाँहरूले यति ठूलो साम्राज्य अंग्रेजी भाषाको आडमा खडा गरेका हुन् ? जापानको द्रुत विकासको मोडेल के अंग्रेजी फलाक्नेले रचना गरेका हुन् ? पूरै संसारलाई अचम्मित पार्ने काम र विकास गर्न अंग्रेजी नै चाहिने भए कोरियालीहरू आज पनि रुखका टोड्कामा बसेर पातमा खाना खाँदै हुन्थे होला । अंग्रेजी नजानी केही लछारपाटो नलाग्ने भए खाडीका समृद्धशाली देशहरू आजसम्म ऊँटकै गोठालामा सीमित हुन्थे होलान् ।

कुनै पनि देश र व्यक्तिको समृद्धि मानसिक चेतनले निर्माण गर्ने हो न कि भाषाले । केही दुर्जनहरूले अंग्रेजी भाषालाई भाषा नभई आफ्नो इज्जत ठानेका छन् । आफूमा भएको अज्ञानता ढाकछोप गर्न र समाजमा लब्धप्रतिष्ठितझै देखिन कनीकुथी अंग्रेजीको सुगारटाई फलाक्दै छन् । 

हे भगवान् भन्दा भगवान्को आशिर्वाद नै नलाग्ने जस्तो, ‘ओ माई गड’ भन्नुपर्ने । मकैभन्दा गाउँले भइन्छ, ‘पपकर्न’ भन्नुपर्ने । आमाभन्दा समाजमा नाक काटिन्छ, ‘ममी’ भन्नुपर्ने । राँगाभैंसीको मासु त पाखेहरूले खाने हो, यिनले त ‘बफ’ खान्छन् । कोही हुन्छन् न घोडा जस्ता न गधा जस्ता, दुइटैको मिश्रणबाट बनेका खच्चर जस्ता, न नेपाली जस्ता न अंग्रेजी जस्ता । यिनलाई गोरे ढंगले जिब्रो फड्काएर नेपाङ्गलिस बोल्नैपर्ने ।

यिनको खोक्रो मगजले यही सोच्दो हो – अंग्रेजी बक्यो भने हाईहाई पाइन्छ, समाजमा प्रतिष्ठित भइन्छ, मानसम्मान पाइन्छ । बरु यस्तै अंग्रेजी फलाक्नेहरूको गिदी खुट्टाको पैतालोमा भेटिन्छ । आफ्नो भाषालाई मामुली ठान्ने अनि अंग्रेजीलाई अद्भूत ज्ञानको भण्डार ठान्ने हरिलठ्ठु बोक्रेहरूको सुन्दरता छालाभन्दा अन्त देखिँदैन ।

लेखकलाई व्यक्तिगत रुपमा अंग्रेजी भाषाप्रति कुनै टिप्पणी छैन । यो पनि कसैको स्वाभिमान हो, जसरी हाम्रो नेपाली भाषा छ । आवश्यकता अनुसार यसको प्रस्ट प्रयोग गर्दछ र गर्नु पनि पर्छ । मतलब त तीसँग हुन्छ, जसले कब्जियत होलाझै गरी अंग्रेजी पुराण बोल्नु छ । अंग्रेजी भाषालाई सुसज्जित सभ्यताको मानक मान्ने र नेपाली भाषालाई रद्दी ठान्नेहरूको स्थान गोठभन्दा माथि हुँदैन । अंग्रेजी भाषाको दाम्लोले बाँधिएकाहरूको विवेक मालिकले दिएको घाँस खानेभन्दा उपरको हुन सक्दैन ।

भलै हामी आकाशमा उडान भरौं वा चन्द्रमामा पाइला टेकौं वा प्रविधिको छलाङ मारौं, यी कुरा तब मात्र सिद्ध सावित हुन्छन्, जब हामी आफ्नो भाषा र संस्कृतिलाई मजबुत बनाउन सक्छौं । हाम्रो धरातल नै देवनागरी हो । जहाँ जाऔं फर्किनु त यही धरातलमा छ ।

अंग्रेजी भाषाको गुरुत्व प्रभावले समाज नउम्किने गरी तानिसकिएको छ । हामीले सदियौंदेखि पढिरह्यौं, स्वतन्त्र र सार्वभौम नागरिक भनि तर हामी त स्वतन्त्र गुलाम रहेछौं । भाषा र सांस्कृतिक रुपमा दुनियाँको गुलाम भइसकेका छौं ।

विदेशीले बर्सेनि लाखौं डलर छात्रवृत्ति र अनुदान दिएर हामीमाथि अनुकम्पा गरेका होइन, आफ्नो भाषा र ‘कल्चर’को दास बनाएका हुन् । यही दासत्वलाई हामीले सधै आफ्नो सफलता ठानिरह्यौं । पश्चिमाहरू हाम्रो दरिद्रतामाथि खुबै ठट्टा गर्दा होलान् ।

पहिले–पहिले हतियार र सैनिकको शक्तिले देश कब्जा गर्ने गरिन्थ्यो । अब भाषा र संस्कृतिद्वारा संसार कब्जा गर्ने होडबाजी चलिरहेको छ । बबुरा हामी दुनियाँको ललिपपमा मस्तराम छौं ।

शरीर गुलाम भएको प्रस्ट देखिन्छ तर विचारबाट गुलाम भएको देखिँदैन र पनि यसले गर्ने प्रभाव भने निकै भयानक हुन्छ ।

नेपाली पर्दामा आएर भारतीय र अंग्रेजी फिल्मले नेपालीभन्दा दोब्बर पैसा लैजान्छन् । किनकि उनीहरूले हाम्रो संस्कृतिमाथि अधिपत्य गरिसके र हामीले स्वीकार पनि गरिसक्यौं । एक फिल्मले मनोरञ्जन मात्र दिएर जाँदैन । त्यो देशको भाषा, संस्कृति, लवज, खानपान सबै हामीलाई छोडेर जान्छ । अरुको भाषा, संस्कृतिलाई कमजोर बनाई आफ्नो प्रभूत्व जमाउने गतिलो काइदामा आजभोलि फिल्म नगरीको प्रयोग अब्बल बनेको छ ।

आफ्नो संस्कृतिले दिव्य कारीगरीको अनुकरण गर्ने शक्ति प्रदान गर्दछ । आयातीत संस्कृतिले ज्ञानको डब्बामा बिर्को लाउँछ र अविवेकको स्वर्णिम पुरस्कार दिएर जान्छ । जसरी पशु हेर्दछ तर अव्यक्त रहन्छ, ठीक त्यसरी नै आफ्नो सभ्यताबाट विमुख मान्छे पनि कालान्तरमा पशुसरह निरीह रहन्छ । 

अंग्रेजी भजन गाएर आफ्नो भाषा र संस्कृतिलाई कर्कस बनाउनमा केही ‘एजेन्ट’हरू वर्षाैंदेखि लागिपरेका छन् । नेपाली भाषा, धर्म, संस्कृति र सभ्यतालाई कमजोर बनाएर हामीमाथि मानसिक शासन गर्ने उहिलेदेखिको निशाना हो ।

केही धमिराका गोलाहरूले दुनियाँलाई ‘ग्लोबल सिटीजन’को अवधारणा भनि झारो टार्छन् । ‘ग्लोबल सिटीजन’ पनि कुनै न कुनै सिटीजनको उपज हो भन्ने कुरा यिनले सजिलै स्वीकार्दैनन् । अनेक कुतर्क गरेर यो वर्ग, देश र समाजलाई सांस्कृतिक गुलामी बनाउनमा उद्धत छ ।

डलरका हिमायतीहरूले विद्यालयका भित्तामै लेखेका हुन्छन् ‘इङ्गलिस जोन’ भनेर अर्थात् नेपाली बोल्न मनाही छ । मर्ने बेलामा सबैभन्दा ग्लानी यिनैलाई लाग्दो हो । आफ्नो संस्कृतिमाथि बन्चरो प्रहार गरे भनेर ।

हेर्नुस् बिजोग, आफ्नै देशको स्कूलभित्र नेपाली बोल्न बर्जित छ । के नेपाली बोल्न अब चन्द्रमामा जानुपर्ने हो ? स्कूल हातामा नेपाली बोलेर कुटाई खानुपरेका समाचार बर्सेनि आइरहन्छन् । कस्तो देशमा छौं हामी ? आफ्नै मातृभाषा बोल्दा हप्की खानुपर्ने ? एक स्कूले नाबालकलाई बच्चादेखि नै आफ्नो भाषाप्रति यति वितृष्णा किन जगाइन्छ ? अंग्रेजीभन्दा कैयौं समय पुरानो हाम्रो भाषा अंग्रेजीभन्दा कमसल हो भनेर जबरजस्ती दिमागमा किन लादिन्छ ? अंग्रेजको भन्दा गौरवशाली इतिहास भएको हाम्रो संस्कृतिलाई उनीहरूको भन्दा कमसल तुल्याइँदैछ किन ?

विद्यालयदेखि नै नेपाली भाषाको अस्तित्व अंग्रेजीभन्दा सानो हो भन्ने कुरा प्रत्येक बच्चाको दिमागमा प्रत्यारोपण गरिँदैछ । यो सरासर नेपाली भाषा र संस्कृतिलाई कमजोर बनाउने चलखेल हो ।

नेपालको शिक्षामा बर्सेनि करोडौं वैदेशिक सहायता पनि रहेको हुन्छ । जसमा पाठ्यक्रम निर्माणदेखि शैक्षिक कार्यक्रमहरू हुन्छन् । शिक्षामा भइरहेको अंग्रेजी प्रवद्र्धन कहाँबाट सञ्चालित छ ? कुरालाई धेरै लम्बेतान गर्नै पर्दैन, नून खाएपछि सोझो त गर्नैपर्‍यो ।

अन्यभन्दा बरु आफ्नै मौलिक भाषामा केही कुरा सिक्न, जान्न, सिर्जनात्मक र कलात्मक हुन झन् सहज हुन्छ भन्ने कुरा विज्ञानले प्रमाणित गरिसकेको कुरा हो तर हामी अंग्रेजीपनमा लठ्ठ छौं ।

छोराछोरीले २ शब्द अंग्रेजी भट्याउँदा गाउँभरि चकलेट बाँड्ने समाज पनि हामी कहाँ छ । सकभर बच्चाहरूले नेपाली नबोले हुन्थ्यो भन्ने अभिभावकको पनि कमी छैन नेपालमा । छुचुन्द्रोले अंग्रेजी बोल्दा ट्वाल्ल परेर हेर्ने समाजलाई बौद्धिकता, ज्ञान र विवेकको मापन भाषाले गर्दैन भनेर जान्न कति वर्ष लाग्ने हो कुन्नि ?

अंग्रेजी जान्नुपर्छ यसमा आपत्ति रहेन तर आफ्नै मौलिक भाषा र संस्कृति निमोठी विषवृक्ष रोपेर रुद्राक्ष त पाइँदैन नि !

भरत केसी
भरत केसी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्