कोरोना संक्रमण नियन्त्रण गर्न सरकारले गर्नुपर्ने ११ तयारी, व्यक्तिले अपनाउनु पर्ने १० सावधानी

डा. रवीन्द्र पाण्डे
डा. रवीन्द्र पाण्डे

जनस्वास्थ्य विज्ञ पाण्डे लोकान्तरका नियमित स्तम्भकार हुन् ।

कोरोना संक्रमणको विश्वव्यापी महामारीसँगै नेपालमा पनि यसको थप जोखिम बढेको छ ।

२ हप्ता पहिलेसम्म लक्षणविहीन संक्रमण हुँदा संक्रमितको संख्या तथा मृतकको संख्या कम थियो । लक्षणविहीन संक्रमितले कोरोना संक्रमण सार्ने तथा गम्भीर बनाउने संख्या न्यून थियो ।


Advertisement

त्यो बेला न्यूनतम रूपमा आईसीयु तथा भेन्टिलेटरको प्रयोग गर्नुपरेको थियो तर अहिले धेरै संक्रमितमा गम्भीर लक्षण देखिएको तथा सघन उपचार कक्षमा उपचार गर्नुपरेको छ । यसबाट के आकलन गर्न सकिन्छ भने कोरोना भाइरसको म्युटेसन हुँदै गर्दा यो प्रजाति पहिलेको भन्दा शक्तिशाली छ ।

कोरोना संक्रमण नियन्त्रण गर्नको लागि सरकारले अल्पकालीन तथा दीर्घकालीन रणनीति बनाउनु जरुरी छ ।


Advertisement

सरकारले गर्नुपर्ने तयारी :

१.काठमाडौं उपत्यका लगायत जनघनत्व भएका सम्पूर्ण शहरमा घटीमा जनसंख्याको २–३ प्रतिशत व्यक्तिको पीसीआर परीक्षण गर्ने । भारतसँग सीमा जोडिएका जिल्ला र पहिले संक्रमण देखिएका पहाडी गाउँमा पनि जनसंख्याको २–३ प्रतिशत परीक्षण गर्ने । यो परीक्षणलाई आवश्यकता अनुसार आरटी–पीसीआर टेस्टको पुलिङ विधि, डाइरेक्ट पीसीआर टेस्ट, गुणस्तरीय एन्टीबोडी टेस्ट, सीटी स्क्यान, चेस्ट एक्सरे आदि पनि गर्ने ।

२.यो परीक्षण र सम्भावित जोखिमको आधारमा व्यापक संक्रमण देखिएका, सिमावर्ती तथा जनघनत्व धेरै भएका स्थानलाई रेड जोन, फाट्टफुट्ट संक्रमण देखिएका ठाउँलाई एल्लो जोन र संक्रमण नदेखिएका ठाउँलाई ग्रीन जोनमा विभाजन गर्ने ।

३.ग्रीन जोनमा जनस्वास्थ्यका मापदण्ड अपनाएर लामो दूरीका यातायात, आन्तरिक उडान, व्यवसाय तथा शैक्षिक संस्था सञ्चालन गर्न सकिन्छ  । यातायात तथा उडान ग्रीन जोनबाट ग्रीन जोनमा मात्र सञ्चालन गर्ने । एल्लो जोनमा संक्रमण भेटिएको स्थानलाई सील गर्ने । व्यापक परीक्षण, जनचेतना विस्तार तथा उपचारबाट एल्लो जोनलाई ग्रीन जोन बनाउने लक्ष्यसहित काम गर्ने । रेड जोनमा सरकारी, सामुदायिक तथा निजी ल्याबलाई परीक्षण गर्ने अनुमति दिएर व्यापक परीक्षण गर्ने । आवश्यक ठाउँमा लकडाउन, कर्फ्यू, सील आदि लागू गर्ने । ग्रीन तथा एल्लो जोनका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलाई रेड जोनमा खटाएर संक्रमण नियन्त्रणमा ल्याउन अहोरात्र काम गर्ने । रेड जोनलाई एल्लो जोनमा ल्याउने लक्ष्य राख्ने । ती स्थानमा आम जनतालाई राहत तथा सहुलियत दिएर जहाँको त्यहीँ राख्ने ।

४. बिहार, यूपी तथा पश्चिम बंगालमा कोरोना संक्रमण तीब्र गतिमा बढिरहेको छ । त्यहाँका निजी तथा सरकारी अस्पतालमा खुट्टा राख्ने ठाउँ छैन । उपचार गर्नको लागि, कोरोना संक्रमणबाट बच्नको लागि तथा अन्य उद्देश्यले धेरै भारतीय नागरिक अवैध ढंगबाट नेपाल पस्ने भइरहेको छ, अझै हुनेछ । तसर्थ सीमामा ५० औं हजार सुरक्षाकर्मी र स्थानीयको २४ घण्टै संयुक्त गस्ती गर्ने । नाकामा सीसीटीभी क्यामेरा राख्ने । यसरी अवैध रुपमा १ जना व्यक्ति पनि छिर्न नदिने । यताका नेपालीलाई काम गर्न वा अन्य उद्देश्यले उता जान बन्देज लगाउने । यताउता गर्ने व्यक्तिले नै कोरोना संक्रमण फैलाएको वास्तविकता बुझेर तदनुसार रणनीति बनाउने ।

५.अन्तर्राष्ट्रिय उडान केवल २ उद्देश्यले मात्र सञ्चालन गर्ने । 

– विदेशमा रोकिएका नेपालीलाई स्वदेश ल्याउन 
– नेपालमा फसेका विदेशी तथा नेपालीलाई अर्को ट्रान्जिटसम्म पुर्‍याउन ।

हामीले के बुझ्नुपर्छ भने विश्वव्यापी महामारीको समयमा नेपाल भ्रमण गर्न कुनै पनि पर्यटक नेपाल आउने छैन । त्यस्तै हामी नेपाली विदेश भ्रमण गर्न जाने छैनौं ।

यो तथ्य नबुझिकन अन्तर्राष्ट्रिय उडान गर्दा भारत तथा बंगलादेशका हजारौं संक्रमित उपचारको लागि, कोरोनाबाट बच्नको लागि तथा अन्य उद्देश्यले नेपाल आउनेछन् । उनीहरूको कारण हाम्रा अस्पताल, होटेल, रेस्टुरेन्ट, शपिङ मल, बजार आदि संक्रमित हुनेछन् ।

६.ठूला चाडपर्व संघारमै आएका छन् । दशैँअघि भारतबाट करीब २ लाख नेपाली स्वदेश आउने अनुमान छ । उनीहरूलाई सुरक्षित होल्डिङ सेन्टरमा राखेर तथा पीसीआर टेस्ट गरेर पठाउने व्यवस्थाको लागि सरकारले अहिलेदेखि तयारी गर्नु जरुरी छ । हवाइजहाजबाट नेपाल आउने हरेक व्यक्तिलाई होल्डिङ सेन्टरमा राखेर तथा पीसीआर परीक्षण गर्ने तयारी पनि गर्नुपर्ने छ ।

७.नेपालको स्वास्थ्य प्रणाली निकै कमजोर छ । हामीसँग आईसीयू, भेन्टिलेटर, अक्सिजन, रगत आदि एकदम थोरै छ । देशभरका ५ हजार संक्रमितलाई आईसीयूमा राख्नुपर्‍यो भने हामीसँग त्यो क्षमता छैन । यस्तो अवस्थामा लाखौं व्यक्तिमा संक्रमण फैलियो भने हाम्रो हालत इटलीको भन्दा नाजुक हुनेछ । हामीले यो खराब अवस्थालाई मध्यनजर गरेर तयारी गर्नुपर्छ । कोरोना संक्रमण फैलिएको ६ महिनामा पनि हामीले ठोस रणनीतिको अभावमा जहाँको त्यहीँ हुनु अत्यन्तै दुःखद पक्ष हो ।

आईसीयू बेडको संख्या बढाउने, ठूला निजी अस्पताल तथा मेडिकल कलेजलाई कोरोना उपचार केन्द्रको रुपमा विकास गर्ने, भेन्टिलेटर थप्ने, अक्सिजन र ब्लड पर्याप्त मात्रामा राख्ने, स्वास्थ्यकर्मीलाई प्लाज्मा थेरापी तथा आईसीयू र भेन्टिलेटर अपरेट गर्ने तालिम दिने लगायतका तयारी तुरुन्तै गर्नु जरुरी छ ।

८.कोरोना संक्रमणको उपचारमा हाम्रो तयारी एकदम न्यून छ । विश्वले कोरोना उपचारमा प्रयोग गरेका औषधि (इबोला, जापानिज इन्फ्लुएन्जा, सार्स, मलेरिया, इन्टरफेरोन बेटा, लाइफ सेभिङ मेडिसिन, प्लाज्मा थेरापी, हर्बल मेडिसिन आदि) लाई पर्याप्त मात्रामा उत्पादन गरेर वा यहाँ उत्पादन नहुने औषधि खरिद गरेर स्टकमा राख्नु जरुरी छ ।

९.आईसीयू बेडको संख्या बढाउने, ठूला निजी अस्पताल तथा मेडिकल कलेजलाई कोरोना उपचार केन्द्रको रुपमा विकास गर्ने, भेन्टिलेटर थप्ने, अक्सिजन र ब्लड पर्याप्त मात्रामा राख्ने, स्वास्थ्यकर्मीलाई प्लाज्मा थेरापी तथा आईसीयू र भेन्टिलेटर अपरेट गर्ने तालिम दिने लगायतका तयारी तुरुन्तै गर्नु जरुरी छ ।

१०. विश्वका विभिन्न देशमा कोरोना भाइरसविरुद्धको खोप निर्माणमा ठूलो सफलता मिलिरहेको छ । हामीले पनि खोप निर्माता तथा वितरक कम्पनी वा देशसँग समन्वय गर्नेतर्फ कूटनैतिक पहल गर्नु जरुरी छ ।

११. महामारी नियन्त्रण स्वास्थ्य मन्त्रालयको मात्र काम होइन, गृह, अर्थ, रक्षा, परराष्ट्र, सञ्चार, शिक्षा लगायत सबै मन्त्रालय, प्रदेश सरकार तथा स्थानीय तहबीच प्रगाढ समन्वय गरेर संयुक्त रुपमा प्रभावकारी काम गर्नु आवश्यक छ । सम्पूर्ण राजनैतिक दल, सामाजिक संस्था, मिडिया तथा नागरिक एकजुट भएर तथा जिम्मेवारीबोध गरेर अभियान सञ्चालन गर्नु आजको आवश्यकता हो ।

नागरिकले गर्नुपर्ने व्यक्तिगत तयारी 

कोरोना संक्रमणको महामारीबाट बच्नको लागि व्यक्तिगत तयारीको ठूलो महत्त्व छ ।
१. जनस्वास्थ्यका मापदण्ड अपनाउने – महामारीको समयमा सकभर घरमै बस्ने, घरबाट काम गर्ने, घर बाहिर जाँदा अनिवार्य रूपमा सही तरिकाले मास्क लगाउने, बाटोमा, चोकमा र कार्यस्थलमा न्यूनतम ६ फीटको व्यक्तिगत दूरी कायम गर्ने, साबुनपानीले हात धोइरहने र ह्याण्ड स्यानिटाइजरको प्रयोग गर्ने, नाकमुख तथा आँखा छुने बानी त्याग्ने, भीडभाडमा नजाने, झ्यालढोका खुला भएको ठाउँमा बस्ने लगायतका सुरक्षित व्यवहारलाई जीवनशैलीको रुपमा अवलम्बन गर्नु जरुरी छ ।

२.तन्दुरुस्त रहने – शारीरिक व्यायाम, पोषिलो खाना, पर्याप्त निद्रा, घामताप्ने बानी, योग, ध्यान तथा तनावलाई व्यवस्थापन गर्ने अन्य कौशलताले हामीलाई तन्दुरुस्त बनाउँछ । रोगसँग लड्ने क्षमता अभिवृद्धि गर्दछ । गुर्जो, अश्वगन्धा, अदुवा, बेसार, कागती, मह, मरिच, लसुन, प्याज, दालचिनी, तुलसी, भिटामिन सी, जिंक, भिटामिन डी आदिको सेवनले रोगप्रतिरोधात्मक क्षमता बढाउन सकिन्छ ।

३. जोखिमबाट टाढा रहने – अस्पताल, बजारमा हुने भीडभाड, सार्वजनिक यातायात, शपिङ मल, डिपार्टमेन्टल स्टोर, कर तिर्ने ठाउँ, विभिन्न महशुल बुझाउने ठाउँ, बैंक, गल्ली आदि ठाउँमा नजाने । जानुपर्‍यो भने छोटो समयको लागि सुरक्षा सतर्कता अपनाएर जाने ।

४.स्वास्थ्य अवस्था थाहा पाउने – ब्लडप्रेसर, रगतमा चिनीको मात्रा, युरिक एसिड, कोलेस्टेरोल (लिपिड प्रोफाइल), थाइराइडको अवस्था (टीएफटी), मिर्गाैलाको अवस्था (आरएफटी), कलेजोको अवस्था (एलएफटी), पेटको भिडियो एक्सरे, छातीको एक्स रे, ईसीजी, पिसाबको जाँच, पुरुषले प्रोस्टेट ग्ल्यांड तथा महिलाले पाठेघरको अवस्था, भिटामिन डी, क्याल्सियम, भिटामिन बी १२, हेमोग्लोबिन आदिको अवस्था तथा समस्या देखिएमा अन्य आवश्यक परीक्षण गर्ने । रिपोर्ट अनुसार चिकित्सकको सल्लाहमा समस्याको उपचार गर्ने । महामारीसँग लड्नको लागि स्वास्थ्य अवस्था राम्रो बनाउनु जरुरी हुन्छ ।

५.कुलतको त्याग – रक्सी, चुरोट, सुर्ती, गुट्खा, लागूपदार्थ, इन्टरनेट एडिक्सन आदि भएमा हाम्रो इम्युनिटी पावर कम हुन्छ । शरीरलाई ध्वस्त बनाउने यी अम्मल तत्काल छोड्नु जरुरी छ ।

खोप लागेपछि वा भाइरस कमजोर भएपछि यो महामारीको अन्त्य हुनेछ । त्यो लक्ष्यमा पुग्ने पुल भनेको धैर्यता, सुरक्षा सतर्कता र स्वस्थ जीवनशैली हो ।

६.मृत्यु भएका, शव गाडेका लगायत कोरोनाबारे सनसनीपूर्ण समाचार हेर्नु हुँदैन । नेपाल सरकार, डब्ल्यूएचओ, सीडीसी, एफडीए, युनिसेफ लगायतका आधिकारिक सूचना तथा स्वास्थ्यकर्मीको सल्लाह मात्र विश्वास गर्ने, प्रतिष्ठित तथा विश्वासिला रेडियो, टेलिभिजन, पत्रिका र १–२ अनलाइन पोर्टल दिनको बढीमा २ पटक मात्र हेर्ने बानीको विकास गर्‍यौं भने तनाब घट्दछ । भ्रम र हल्लाको पछि लागेर आफूलाई यातना दिने काम गर्नु हुँदैन ।

७.मानसिक स्वास्थ्य बलियो बनाउनको लागि योग तथा ध्यान गर्ने, मोटिभेसनल स्पीच सुन्ने, कमेडी फ्लिम हेर्ने, घर तथा करेसाबारीमा काम गर्ने, पढ्ने, लेख्ने, आर्ट गर्ने, सकारात्मक सोंच भएका साथीसँग फोनमा कुरा गर्ने, कुनै व्यवसायले तनाव दिएको भए त्यो व्यवसाय सल्टाएर अर्को व्यवसाय शुरू गर्ने, आर्थिक जोखिमका काम तथा लगानी नगर्ने, आत्मबल र आत्मविश्वास बढाउने तथा यो समस्या संसारकै समस्या हो भनेर आत्मसात गर्ने एवं हरेक रातपछि सुनौलो बिहानी आउने तथ्य बुझ्नु जरुरी छ ।

८.दीर्घ बिरामीले जोखिमबाट बच्नको लागि नियमित औषधि सेवन गरेर आफ्ना रिपोर्ट नर्मलमा राख्यौं भने अन्य व्यक्तिसरह संक्रमणसँग लड्न सकिन्छ । त्यस्तै ज्येष्ठ नागरिकले आफूलाई युवा ठानेर सक्रिय जीवन बिताएमा रोगसँग जित्ने स्टामिना प्राप्त हुन्छ ।

९.खोप लागेपछि वा भाइरस कमजोर भएपछि यो महामारीको अन्त्य हुनेछ । त्यो लक्ष्यमा पुग्ने पुल भनेको धैर्यता, सुरक्षा सतर्कता र स्वस्थ जीवनशैली हो । युवा तथा निरोगीले काम गर्ने, जोखिम वर्ग घरमै बस्ने अनि जोखिम वर्गलाई घरभित्र पनि आइसोलेसनको वातावरण प्रबन्ध गर्ने हो भने संक्रमणबाट हुने जोखिमलाई न्यून गर्न सकिन्छ । ज्येष्ठ नागरिक तथा दीर्घ बिरामीलाई बचाउनु हामी सबैको पहिलो कर्तव्य हो ।

१०. कोभिड १९ को कारणभन्दा अन्य रोगले मृत्युको संख्या बढिरहेको छ । तसर्थ आफ्ना बालबालिकालाई खोप लगाउने, पोषणमा ध्यान दिने, मानसिक रुपमा सपोर्ट गर्ने, औषधिसेवीलाई नियमित औषधि उपलब्ध गराउने, गर्भवती तथा सुत्केरीलाई नियमित परीक्षण, पोषण, आराम र सुरक्षाको प्रत्याभूति गर्ने एवं समाजमा सहयोगी तथा सकारात्मक वातावरण निर्माण गर्न हामी सबैको दायित्व हो ।
 

डा. रवीन्द्र पाण्डे
डा. रवीन्द्र पाण्डे

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्