भारतसँगको विनिमय दर पुनः मूल्यांकन गर्ने बेला आएको हो ?

सविता कनौजे न्यौपाने
सविता कनौजे न्यौपाने

कनौजे बैंकिङ क्षेत्रमा कार्यरत छिन् ।

नेपाल–भारत सीमा सम्बन्धमा देखिएको विवादले भूमि व्यवस्थापनमा मात्र होइन व्यापार, लगानी र रोजगारी लगायत सबै क्षेत्रमा परिवर्तन आउन सक्ने अनुमान गरिएको छ ।

केही समय अघि भारतका मिडिया र पत्रपत्रिकाले फैलाएका धेरै भ्रामक समाचारको कारण नेपालमा भारतीय टिभी च्यानलहरूलाई बन्द गरियो । हालैमात्र कालापानी र लिपुलेक लगायत क्षेत्रमा नेपालीको प्रवेश निषेध गर्न गरेको भारतीय पत्राचार लगायतका कुराले पनि नेपाल भारत बीचको तिक्तता बढ्दै जाने संकेत गरेको छ । 


Advertisement

पछिल्लो समयमा भारतका मिडिया र पत्रपत्रिकाले फैलाएका भ्रामक समाचारको कारण नेपालमा भारतीय टिभी च्यानलहरूलाई बन्द गरियो । हालैमात्र कालापानी र लिपुलेक लगायत क्षेत्रमा नेपालीको प्रवेश निषेध गर्न गरेको भारतीय पत्राचार लगायतका कुराले पनि नेपाल भारतबीचको तिक्तता बढ्दै जाने संकेत गरेको छ ।

यसै सन्दर्भमा बेला बेलामा भारतीय रुपैयाँ र नेपाली रुपैयाँको स्थिर विनिमय दरमा परिवर्तन गर्ने विषयमा पनि कुरा उठ्ने गर्छन् जुन आगामी दिनहरूमा पनि नउठ्ला भन्न सकिदैन । केही नेपाली विज्ञहरूले पनि यो विषयमा आफ्नो धारणा प्रस्तुत गर्न थालेका छन्। 


Advertisement

यसै परिप्रेक्ष्यमा नेपाल–भारत स्थिर विनिमय दर परिवर्तन गर्न कति आवश्यक छ र परिवर्तन गर्दा नेपाललाई कस्तो असर पर्छ ?

नेपाल र भारतको व्यापार सम्बन्ध शताब्दीऔंदेखि छ । अन्तर्राष्ट्रिय व्यापारमा मुद्राको सटहीको आवश्यक पर्ने हुनाले विदेशी विनिमय दर कायम गर्नुपर्ने हुन्छ । नेपालमा केन्द्रीय बैंकको स्थापना हुनुपूर्व विक्रम संवत् २०१३ सालअघि नेपाली मुद्राको प्रचलन काठमाडौं लगायतका केही पहाडी क्षेत्रमा मात्र सीमित थियो र नेपालका अरु भूभागमा भारतीय रुपैयाँ चलनचल्तीमा रहेको थियो ।

विनिमय दर तोक्दा २–४ जना विज्ञको सल्लाहमा माग र पूर्तिको आधारमा तोकिन्थ्यो र विनिमय दर कतिबेला परिवर्तन हुन्छ भन्ने कसैले पूर्व अनुमान गर्न सक्दैनथ्यो । यस्तो किसिमको द्वय मुद्रा पद्धतिले गर्दा मौद्रिक नीति, विदेशी विनिमय नीति लगायतका अन्य आर्थिक नीति निर्माण र कार्यान्वयनमा कठिनाइ परेको र विनिमय दरमा देखिएको उतारचढाव नियन्त्रण गरी स्थिरता ल्याउने प्रयास स्वरुप नेपाल र भारत सरकारको सहमतिमा विक्रम संवत् २०१७ सालमा १०० भारुको स्थिर विनिमय दर १६० नेरु तोकियो ।

अन्य देशसँग पनि व्यापारिक सम्बन्ध, वैदेशिक रोजगारी र वैदेशिक लगानीको सम्बन्ध भएकाले भारत बाहेकका देशको पनि विनिमय दर आवश्यक हुने भएकाले ती विदेशी मुद्राको विनिमय दर कायम गर्दा भारतको मुद्राको अन्य देशसँगको विनिमयको आधारमा नै नेपाली मुद्राको अन्य मुद्रासँगको विनिमय दर तोकिन थाल्यो । जुन आजसम्म कायम छ ।

विक्रम संवत् २०२३ सालमा भारतले भारु अवमूल्यन गरेकाले नेपाली मुद्राको पनि भारतीय मुद्राको तुलनामा पुनः मुल्यांकन गरेर विनिमयदर रु. १०१.२५ भयो तर पछि अमेरिकी डलरसँगको विनिमय दरमा सामन्जस्यता ल्याउन नेपाली रुपैयाँ पुनः अवमूल्यन गरी २०२८ सालमा १०० भारुको १३९ नेरु हुने गरी दर कायम गरियो । यसैगरी धेरै पटक परिवर्तन गर्दागर्दा २०४९ माघमा पुनः १०० भारुको विनिमय दर १६० नेरु स्थिर हुने गरी कायम गरियो ।

किन भारतसँग विनिमय दर पेग (स्थिर) गरियो ?

२०१३ सालअघि नेपालमा नेपाली र भारतीय दुवै मुद्रा प्रचलनमा थिए । प्रत्येक दिन माग र पूर्तिका आधारमा २ मुद्राबीच विनिमय दर कायम गरिन्थ्यो ।

यसो गर्दा विनिमय दरमा अस्थिरता आएर नेपालको मुद्राको औचित्य कम हुँदै गयो, व्यापार तथा लगानीको प्रतिफल पनि अस्थिर भयो, अनावश्यक सट्टाबाजी (स्पेकुलेटिभ होर्डिङ) हुनाले दर धेरै तलमाथि हुने, बजारमा अनुचित प्रतिस्पर्धा र भारतसँग गैरकानूनी व्यापार फस्टाएर एक्सट्रनल सक (बाहिरी आघात) हुने सम्भावना बढी भएकाले भारतीय मुद्रासँग स्थिर विनिमय दरको आवश्यकता भयो । नेपालको अधिकांश झण्डै ९८ प्रतिशत व्यापार भारतसँग थियो र व्यापार विविधीकरण नभएको र सबै कुराको लागि भारतमा बढीभन्दा बढी भर पर्नुपर्ने भएकाले भारतसँग स्थिर विनिमयदर  कायम गरियो । 

अहिले नेपाल विश्व व्यापार संगठन (डब्ल्यूटीओ) को सदस्य भइसकेको छ । विभिन्न द्विपक्षीय र बहुपक्षीय व्यापार तथा लगानी सहमति गरिसकेको छ तर पनि व्यापार विविधीकरण भने भएको छैन । अहिले पनि झण्डै ६५ प्रतिशत आयात–निर्यात भारतसँगै छ । विदेशी लगानीको दृष्टिकोणमा पनि चीनपछि भारतको हिस्सा नै बढी छ । यो मात्र नभएर रोजगारीमा पनि धेरै भारतकै भर पर्नु परेको छ । यदि भारतसँग लचिलो विनिमय दर कायम गरेर माग–पूर्तिको आधारमा विनिमय दर कायम गर्ने हो भने पुनः नेपाली मुद्रा अवमूल्यन भएर अस्तित्व नै धरापमा पर्न सक्छ र सबैतिर अस्थिरता आउन सक्छ । त्यसकारण  नेपालको आर्थिक र राजनीतिक परिस्थितिलाई दृष्टिगत गर्दा तत्काल भारतसँग हामी खुला विनिमय दर प्रणाली अवलम्बन गर्न सकिने अवस्था देखिँदैन ।

भारतसँग स्थिर दर कायम गर्दा अहिलेको अवस्थामा फाइदा भए पनि नेपाल सरकारले धेरै मूल्य चुकाउनुपरेको छ । केन्द्रीय बैंकले नीति बनाउँदा स्वतन्त्र रुपमा मौद्रिक नीति बनाउन पाउँदैन । केन्द्रीय बैंक बजारमा रहेको मुद्राको अधिक माग र आपूर्तिलाई अवशोषित (एब्जर्व) गर्न तत्पर रहनुको साथै पर्याप्त विदेशी विनिमय सञ्चिति पनि रिजर्वको रूपमा कायम गर्नुपर्ने हुन्छ । यसले नेपाल राष्ट्र बैंकको बोझ पनि बढ्ने र निजी क्षेत्रले संसारमा भएको विनिमय दर परिवर्तन हुँदा आउने अवसरको फाइदा उठाउन पनि पाउँदैन ।

यति मात्र नभएर भारतको मुद्रा अमेरिकी डलरसँग अवमूल्यन हुँदा नेपालले पर्याप्त अमेरिकी डलर आम्दानी गर्दा पनि नेपाली रुपैयाँ अमेरिकी डलरसँग दिनप्रतिदिन अवमूल्यन भएको छ । यसले गर्दा नेपालले बाहिर पढ्न जाने, घुम्न जाने, औषधि उपचार गर्ने खर्च बढ्नुको साथै अरु देशबाट आयातित वस्तुको मूल्य पनि बढी तिर्नुपरेको छ । अर्कोतर्फ सरकारको बाह्य ऋणको भुक्तानीमा समेत नकारात्मक प्रभाव परेको छ ।

विनिमय दरमा खुला नीति लागू गर्ने त ? 

जबसम्म हामीले निर्यात बढाएर आयात प्रतिस्थापन गर्ने र विदेशी मुद्रा कमाउने बाटो रेमिट्यान्समा मात्र भर नपरी पर्यटन र व्यापार तथा लगानी सुनिश्चित गर्न सक्दैनौं, तबसम्म हामी विनिमय दरको भुक्तानी सन्तुलनको धारणा अनुसार लचिलो विनिमय दर पद्धति अवलम्बन गर्न असक्षम हुनेछौं ।

यसका लागि पहिलो कुरा ग्यास तथा पेट्रोलियम पदार्थ आयातलाई विद्युत्को उत्पादन र प्रयोगले विस्थापन गर्न सक्नुपर्छ, खाद्यान्न तथा औषधि उत्पादनमा आत्मनिर्भर बन्नुपर्छ, प्रतिस्पर्धात्मक र तुलनात्मक लाभ भएको क्षेत्रको उत्पादन बढाइ निर्यातमा जोड दिने र जनसांख्यिक लाभांशको सही प्रयोग गर्दै आन्तरिक उत्पादनमा जोड दिनसक्यो भने मात्र हामी भारतसँगको स्थिर विनिमय दर हटाउन सक्षम हुनेछौं ।

जसको तयारीमा हामी अहिलेदेखि नै उत्तरदायित्वका साथ लाग्नुपर्ने हुन्छ ।

के अब विनिमय दर पुनः मूल्यांकन गर्ने बेला आएको हो ?

आजसम्म झण्डै २९ वर्ष भइसक्यो, हामीले भारु सय (१००) को नेरु (१६०) एक सय साठीको रुपमा प्रयोग गरेको । अर्थतन्त्रको आकार, व्यापारको स्थिति विदेशी मुद्रा आर्जन गर्ने स्रोतको परिवर्तन हुँदै गएको छ तर भारतसँगको विनिमय दर भने परिवर्तन गरिएको छैन । यसैकारणले नेपालका केही अर्थशास्त्रीले बेला–बेलामा विनिमय दर पुनः मूल्यांकन हुनुपर्ने आवाज उठाइरहेका छन्, अहिले भारतमा पनि यस चर्चाले महत्त्व पाएको छ ।

केही अर्थशास्त्रीले नेपाली मुद्रा भारतको मुद्रासँग अवमूल्यन गरेर स्थिर गर्नुपर्छ भन्ने धारणा व्यक्त गरेका छन् । जस्तैः भारु सय (१००) बराबर नेरु (१७०) ) एक सय सत्तरी  हुनुपर्ने हुनसक्छ तर केहीले भने नेपाली रुपैयाँ बलियो भइसकेकाले यसको मूल्य बढाउनुपर्छ र भारु (१००) सय  बराबर नेरु (१५०) एक सय पचास बनाउनुपर्छ भनेका छन् । यसमा नेपाली रुपैयाँ के भइराखेको छ भन्ने यकिन गर्ने अनुसन्धान भने भएको छैन र यसमा आधिकारिक अध्ययन हुनु जरुरी छ ।

मेरो बुझाइमा विनिमय दर पुनः मूल्यांकन गर्ने बेला आएको हो तर अहिलेको विनिमय दरमा नेपाली मुद्रा अधिमूल्यन भएको छ । हामीले यसको अवमूल्यन गरेर पेग (स्थिर) गरिनुपर्छ । यदि हामीले अहिलेकै विनिमय दर कायम गरेर अघि बढ्ने हो भने नेपाली अर्थतन्त्र कमजोर हुनसक्छ । भारतीय सामान नेपालको आफ्नो उत्पादित सामान साथै अन्य देशबाट ल्याएको सामानभन्दा सस्तो पर्न जान्छ र भारतसँगको व्यापार घाटा अझ वृद्धि भएर जान्छ । भारतसँग अझै आश्रित हुनुपर्ने अवस्था आउँछ, जुन हाम्रो लागि सुखद क्षण हुँदै होइन । व्यापार विविधताको उद्देश्य हासिल गर्न र नेपाली उत्पादनको प्रयोग बढाउन पनि अवमूल्यन गरेर पेग गरिनुपर्छ ।
 
यही अधिमूल्यन भएको कारणले अन्य देशको मुद्रा सञ्चिति बेचेर भारतीय रुपैयाँ किन्ने र भारतबाट वस्तु आयात गर्ने व्यवस्था मिलाउनुपर्ने बाध्यता नेपाल राष्ट्र बैंकलाई परेको छ । अहिले कोरोनाको प्रभावले रेमिट्यान्सको स्रोत घट्ने, पर्यटन आम्दानी सुक्ने, निर्यातमा कमी, विदेशी लगानी र सहायतामा हुनसक्ने कमीले हामीसँग पर्याप्त विदेशी मुद्राको सञ्चिति नहुने संकेत देखिनसक्ने हुनाले राष्ट्र बैंकले अहिलेको स्थिर विनिमय दर कायम राख्न नसकि  अर्थतन्त्रमा गम्भीर संकट नआउला भन्न सकिँदैन ।

तसर्थ यी सबै सकारात्मक र नकारात्मक प्रभाव र नेपालको अर्थतन्त्रको आकारलाई मध्यनजर गर्दा नेपालले  अहिलेको स्थिर विनिमय दरलाई राजनीतिक तवरबाटै पुनः मूल्यांकनको पहल गरिनुपर्ने देखिन्छ ।

इमेल : [email protected]

सविता कनौजे न्यौपाने
सविता कनौजे न्यौपाने

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्