सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो निवास खुमलटारमा वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठलाई बोलाएर प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीसँग भएको भेटवार्ताबारे ब्रिफिङ गरेका छन् ।
आइतवार बिहान करीब ३ घण्टा अध्यक्षद्वय ओली र प्रचण्डबीच ओलीको सरकारीनिवास बालुवाटारमा भेटवार्ता भएको थियो । छलफलमा वरिष्ठ नेता खनाल र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ पनि सहभागी थिए ।
भेटवार्ताले कुनै निष्कर्ष ननिकालेको भएपनि संवाद सकारात्मक भएको जनाइएको छ । अध्यक्षद्वयबीच सोमवार बिहान पुनः छलफल हुनेछ ।
स्रोतका अनुसार प्रचण्डले खुमलटारमा ब्रिफिङ गरेपछि त्यसैका आधारमा नयाँ रणनीति बनाएर अघि बढ्ने तयारी ओलीइतरका नेताहरूले गरेका छन् । ‘प्रधानमन्त्री ओली अलि लचिलो देखिएका छन्,’ स्रोतले भन्यो, ‘अवरुद्ध संवाद शुरू भएको छ । सहमति सन्निकट छ ।’
लोकान्तर संवाददाता