सिद्धबाबामा जहिल्यै त्रास : सुरुङमार्ग बनाउने ठाउँभन्दा अन्यत्र पनि खस्न थाले पहिरो

प्रकाश आचार्य
प्रकाश आचार्य

लोकान्तर संवाददाता आचार्य प्रदेश नम्बर ५ बाट रिपोर्टिङ गर्छन् ।

सिद्धार्थ राजमार्गको बुुटवल–पाल्पा सडक खण्डमा गत असारमा ९ पटकसम्म पहिरो जाँदा ७३ घण्टा सडक अवरुद्ध भयो ।

साउनमा प्रत्येक दिन सडक अवरुद्ध भइरहेको छ । साउनको तेस्रो हप्ता चलिरहँदा अहिलेसम्म यो सडक खण्ड ३३९ घण्टा अवरुद्ध भयो । प्रदेश नम्बर ५ प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) डिल्लीनारायण पाण्डेलाई सडक अवरुद्ध छ कि गाडी चलेका छन् भनेर दैनिक २५० भन्दा बढी सर्वसाधारणका ‘कल’ आउँछन् । 


Advertisement

यो यस वर्ष मात्र होइन, पहिरो खसेर सडक अवरुद्ध भई यात्रुले सास्ती पाएको । सास्ती मात्र होइन पहिरो हटाएर सडक खुलेपनि गाडीहरू माथिबाट ढुंगा र पहिरो खस्दाखस्दै पनि ज्यानको बाजी लगाएर यात्रा गर्नुपर्ने अवस्था छ । 

सडक खण्डमा प्रत्येक सर्वसाधारणले ज्यान गुमाउनु परेको छ । 


Advertisement

वर्षा वा हिउँदमा पनि हिलो वा सुख्खा पहिरोको जोखिम रहेको भिरालो ठाउँमा ढुंगा खस्ने जोखिम पनि उत्तिकै छ । देशकै पहाड र तराई जोड्ने व्यस्त राजमार्गमा जनताले खेप्दै आएको विपत्ति र क्षति रोक्नमा राज्य उदासीन जस्तै देखिन्छ । आजभन्दा ५० वर्ष अगाडि बनेको सडकमा सर्वसाधारणले सास्ती र ज्यान गुमाएको लामो समय हुँदा समेत सडकको दीर्घकालीन समाधानका लागि अझै योजना बने पनि काम हुन सकेको छैन । 

लामो समयदेखि चर्चामा रहेका सुरुङमार्ग र सिद्धबाबा सडकको वैकल्पिक सडक चर्चामै सीमित छन् । प्रदेश सरकारले बुटवल धागो कारखाना हुँदै चरङ्गे– मुडाबास–चौकीभञ्ज्याङ–ज्यामिरे–झुम्सा सडक सिद्धबाबाको विकल्पको रूपमा अगाडि बढेको छ । त्यस्तै अर्को बेलवास, नुवाकोट झुम्साको विकल्प पनि अगाडि सारिएका छन् । 

यो सडक खण्ड प्रयोग गरेर गुल्मी, पाल्पा अर्घाखाँची, स्याङ्जा, पोखरा, पर्वत, बाग्लुङ, म्याग्दी हुँदै चीनतर्फको नाका मुस्ताङको कोरलासम्म गाडी चल्ने गर्छन् । यो सडक वि.स. २०१८ सालदेखि निर्माण शुरू भएपछि त्यसको दश वर्ष २०२८ सालदेखि गाडी चल्न शुरू गरेका हुुन् । बुटवलको अन्तिम बिन्दु चिडियाखोलादेखि पाल्पाको झुम्सासम्म पाँच किलोमिटर सडकलाई ‘मृत्युमार्ग’को नामले समेत चिन्न थालिएको छ ।

विगतका वर्षहरूमा सिद्धबाबामा पहिरो मात्र जाने गरेको अहिले यो सडक भासिन समेत थालेको छ ।

डीएसपी पाण्डेले भने, ‘अहिले यो सडक खण्डको पाल्पा तिनाउ गाउँपालिका वडा नम्बर ३ र वडा नम्बर ७ का चार ठाउँमा गरी १ सय मिटर भासिएको छ,’ पाण्डेले थपे, ‘सडक भासिएपछि ठूला मालबाहक गाडीहरू चल्न सक्ने अवस्था छैन । साना सवारी एकतर्फी रूपमा आवतजावत गराइएको छ । पानी पर्‍यो भने सिद्धबाबामा अझै पहिरो झरिहाल्छ  हामीले सकभर सर्वसाधारणलाई यो सडक प्रयोग नगर्न आग्रह गरेका छौं ।’

यो सडक भएर दैनिक दुई हजारभन्दा बढी सवारी साधान आवतजावत गर्छन् । 

यो सडकखण्ड आगामी वर्ष झनै जोखिमपूर्ण हुँदै जान्छः भूर्गभविद् 

भूर्गभविद् प्रेम पौडेलले आउँदा वर्षमा यो सडक अझै जोखिमपूर्ण हुने बताउँछन् । ‘सिद्धबाबाको पहाड प्रत्येक वर्ष खस्दा कमजोर हुँदै गएको छ । जति वर्ष पछाडि गयो उति नै चट्टान कमजोर हुँदै जान्छ र पहिरो तथा ढुंगा खस्ने क्रम बढ्दै जान्छ ।’ 

भूर्गभविद् पौडेल यो सडकको अन्य विकल्प खोज्नुभन्दा जतिसक्दो छिटो संघीय सरकारले बनाउने भनेको सुरूङमार्गको काम अगाडि बढाउनुपर्ने बताउँछन् । प्रदेश सरकार र स्थानीय तहहरूले बेलसाब–नुवाकोट–चौकीभञ्जाङ र अर्को चरंगे, गोठादी हुँदै चौकीभञ्ज्याङसम्मको बाटो विकल्पका रूपमा अगाडि सारेका छन् । भूगोल फरक भएपनि भूगर्भ एउटै भएकाले जोखिम ती क्षेत्रमा पनि हुनसक्ने उनको तर्क छ ।

पौडेल थप्छन्, ‘यो सडकको विकल्पका रूपमा ल्याइएको सडक ३० किलोमिटर दूरी बढी हुन्छ । ती सडक बनाउने भनिएका ठाउँको भूर्गभ एउटै चुरे क्षेत्र नै हो । पहिरो जाने घुम्ती बढी हुने पर्छ । जसले गर्दा विकल्पहरू पनि दीर्घकालीन देखिँदैनन् ।’

सिद्धबाबाको पहाडमा तीन प्रकारको चट्टान छ । बलौटे ढुंगा सहितको, माटे ढुंगा र मसिनो माटो (सेल) छ । प्रदेश पाँच सरकारले सिद्धबाबा सडकको विकल्प सडक बनाउन आर्थिक वर्ष २०७७/०७८ को लागि १० करोड बजेट विनियोजन गरेको छ । वैकल्पिक सडकलाई प्रदेश सरकारले प्रत्येक वर्ष १० करोड रुपैयाँ विनियोजन गर्दै आएको छ । 

सुरुङ मार्गको इस्ट्रुमेन्ट सडक विभागले बुझ्नै सकेन

टनेल बनाउन अर्थ मन्त्रालयले अघिल्लो आर्थिक वर्षमै सहमति दिएपनि अझै ठेक्का हुन सकेको छैन । अघिल्लो आर्थिक वर्ष नै अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई टनेल निर्माणका लागि खरिद प्रक्रिया अगाडि बढाउन सहमति दिएको थियो । तर, सुरूङमार्गको टेन्डर प्रक्रिया अगाडि बढ्छ भन्दै आएपनि त्यो काम तत्काल अगाडि बढ्ने देखिँदैन । 

सडक विभागले टनेलको अध्ययनको काम गर्दैछ । सडक विभागको गुणस्तर अनुसन्धान विकास केन्द्रका प्रमुख शिव नेपालले भने, ‘स्विस टोलीले अध्ययनको प्रतिवेदन हामीलाई नै सहभागी नगराई तयार गर्‍यो । अर्थ मन्त्रालयले सिधै टोलीलाई ‘हायर’ गरी अध्ययन गराएर अर्थलाई नै प्रतिवेदन ‘ह्याण्डओभर’ गर्‍यो । हामीले अध्ययन गर्न पाएका छैन । स्विस टीम आउने अवस्था पनि तत्काल कोरोनाभाइरसका कारण छैन ।’ 

उनीहरूले तयार पारेको इस्टुमेन्ट सडक विभागले बुझ्न सकेको छैन । वार्षिक बजेटमा प्रस्ताव गर्ने गरी १० अर्ब १५ करोडको सीमाभित्र रही बजेट स्वीकृत गरेको छ । 

सुरूङमार्ग बनाउने ठाउँभन्दा अन्यत्रै धेरै पहिरो खस्न थाले  

सुरूङमार्ग बनाउने भनेको क्षेत्र माथिल्लो सिद्धबाबादेखि तिनाउ हाइड्रोपावरसम्म हो, जुन ११ सय मिटर पर्छ । पछिल्लो तीन वर्षयता त्यो क्षेत्र (सुरूङमार्ग बनाउने ठाउँ अगाडि हाइड्रोपावरको ‘ड्याम’ अगाडिको क्षेत्रमा धेरै र ठूला पहिरो खस्न थालेका छन् । त्यस्तै हालै पनि सिद्धबाबा मन्दिरलाई नै जोखिममा पर्ने गरी पहिरो खसेको छ ।

विभागका सह–सचिव समेत रहेका नेपाल सुरूङमार्गले मात्रै बुटवल–पाल्पा सडक खण्ड सुरक्षित नहुने बताउँछन् । 

नेपाल भन्छन्, ‘अहिले पहिरो त सुरुङमार्ग बनाउने ठाउँभन्दा अन्यत्रै झुम्सा, गौडेपुल, मन्दिरभन्दा तलको क्षेत्र र दोभानमा पनि छ । सुरुङमार्ग बन्दैमा सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक खण्ड सुरक्षित हुँदैन जस्तो मलाई लाग्छ ।’

दुई किलोमिटर क्षेत्रमा १९ जनाको मृत्यु 

पछिल्लो चार वर्ष सिद्धबाबा दोभान खण्डको पहिरोका कारण ३९ वटा दुर्घटना भएको छ । दुर्घटनामा परेर १९ जनाले ज्यान गुमाएका छन् । आर्थिक वर्ष २०७२/०७३ मा ४, २०७३/०७४ मा २, २०७४/०७५ मा ४, २०७५/०७६ मा ४ र २०७६/०७७ मा ५ जनाको मृत्यु भएको छ ।

घटनामा २५ जना गम्भीर घाइते भएका छन् । 

अर्को वर्षदेखि वैकल्पिक सडकमा गाडी चल्छन् : प्रदेश सरकार 

प्रदेश सरकारले चरङ्गे चौकीभञ्जाङको सडकमा गाडी चल्ने दाबी गरेको छ । प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार तथा विकास मन्त्री बैजनाथ चौधरीले अर्को वर्ष ग्राभेल गर्ने गरी काम अगाडि बढाइएको छ ।

बाटोमा पुल र कल्भर्ट बन्दैछन्, बजेट अभाव छैन । प्रत्येक वर्ष १० करोड रुपैयाँका दरले बजेट विनियोजन गरिएको छ ।

अर्को वर्षदेखि सिद्धबाबामा पहिरो गए पहाडी रुटमा गाडी जानबाट रोकिने छैन । यो ट्र्याकको स्थानीयले बाटोको विरोध पनि गरेका छन् । 

प्रकाश आचार्य
प्रकाश आचार्य

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्