जनैपूर्णिमाको दिनमा प्रधानमन्त्री केपी शर्मा ओली भक्तपुरको बालकोटस्थित निजी निवासमा गएका छन् । सरकारीनिवास बालुवाटारमा बिहान नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेर ओली बालकोट पुगेका हुन् ।
अनौपचारिक पोसाक (कुर्ता, सुरुवाल र चप्पल) लगाएर ओली आफ्नो निजी निवासमा पुगेका थिए । पूर्व संचार मन्त्री गोकुल बास्कोटा, भक्तपुरका सांसद महेश बस्नेत लगायतले ओलीलाई निजी निवासमा स्वागत गरेका थिए ।
भक्तपुरकी प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा प्रमुखहरु पनि ओलीको स्वागतको लागि निवासमै पुगेका थिए । पत्नी राधिकासहित बालकोट पुगेका ओलीले घरको कम्पाउण्डमा रहेका फलफुलका विरुवाको निरीक्षण गरे ।
निवासमा जम्मा भएका कार्यकर्तासँगको कुराकानीमा ओलीले आफू अब साढे २ वर्षपछि बालकोटनै फर्किने बताए । दोस्रोपटक मृगौला प्रत्यारोपण गरेपछि ओली पहिलो पटक निजीनिवास पुगेका हुन् ।
गत फागुनमा मृगौला प्रत्यारोपण गरेपछि राष्ट्रपति कार्यालय, सिंहदरबार र संसद भवन भन्दा बाहिर नगएका ओली गत मंगलवार उपाध्यक्ष वामदेव गौतमको निवास गएका थिए । ओलीको बालकोट निवासमा सांसद बास्कोटा बस्दै आएका छन् ।
लोकान्तर संवाददाता