सचिव अर्यालको अर्काे निर्णयः काठमाडौं महानगरका गाडी सेतो नम्बर प्लेटमा परिवर्तन गर्न निर्देशन

काठमाडौं महानगरपालिकाले रातो नम्बर प्लेटका सबै गाडी सेतो नम्बर प्लेटमा परिवर्तन गर्ने निर्णय गरेको छ।

महानगरका रातो नम्बर प्लेटका गाडीको दुरुपयोग हुने गरेको गुनासो बढेपछि महानगरका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालले सोमबार सचिवस्तरीय निर्णय गर्दै एक साताभित्र सेतो नम्बर प्लेटमा परिवर्तन गर्न निर्देशन दिएका हुन्।


Advertisement

महानगरका पदाधिकारी र कर्मचारीले चढ्नेमध्ये १५ प्रतिशत गाडी रातो नम्बर प्लेटमा रहेकामा अब सबै सेतो नम्बर प्लेटमा परिवर्तन हुने महानगरका सहसचिव राजेश्वर ज्ञवालीले लोकान्तरलाई जानकारी दिए।

‘शनिबार वा अन्य बिदाको दिन पनि महानगरका गाडी लगेर दुरुपयोग हुने गरेको गुनासो आएपछि सबै गाडीलाई सेतो नम्बर प्लेटमा परिवर्तन गर्ने निर्णय भएको छ,’ उनले भने, ‘यो निर्णय कार्यान्वयनसँगै महानगरका गाडीको दुरुपयोग घट्ने अपेक्षा छ।’


Advertisement

महानगरले प्रशासन प्रमुख नमराज ढकाललाई मितव्ययिता हेर्ने गरी अधिकारी तोकेको छ।

महानगरले आइतबार मात्र वातावरण व्यवस्थापन विभागमा कार्यरत कूचिकार र चालक तथा सहरी स्वास्थ्य विभागका कर्मचारी बाहेक सबैको भत्ता कटौति गरिदिएको थियो।

त्यस्तै, इन्धनसँगै खाजा खर्चमा समेत कटौती गरिएको छ, भने इन्धन पुन:मूल्यांकनका लागि कार्यदल गठन गरिएको छ। 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्