पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मास्क प्रयोगलाई अनिवार्य गर्न र सीमा नाका पूर्णरूपमा सिल गर्न सरकारलाई सुझाव दिएका छन् ।
राजनीतिक दलका नेता तथा स्वास्थ्य विज्ञहरूसँग छलफलका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलवार बालुवाटारमा आयोजना गरेको छलफलमा देउवाले यस्तो सुझाव दिएका हुन् ।
'नेपालीको उद्धार गर्नुपर्ने स्थितिमा बाहेक सिमानाको आवागमनमा सम्पूर्ण कडाइ र सिमा नाका सिल गर्ने,' देउवाले दिएको ७ बुँदे सुझावमा भनिएको छ, 'सुरक्षाका लागि मास्क लगाउने अनिवार्यतासँगै चेतनामूलक अभियानमा आमसञ्चारमाध्यमको व्यापक प्रयोग गर्ने ।'
लकडाउन अन्त्य गरिएपनि कोरोना संक्रमण नरोकिएको अवस्थामा भावी रणनीतिका लागि सुझाव लिन प्रतिपक्षी दलका नेता तथा जनस्वास्थ्य विज्ञहरूलाई ओलीले बालुवाटार बोलाएका थिए ।
के–के छन् देउवाका सुझावहरू ?
(१) हालसम्मका कमजोरी र प्रगतिको गहिरो समिक्षा गरियोस् । स्वास्थ सामग्री खरिदमा भएको अनियमितता र भ्रष्टाचार ढाकछोप होइन छानबिन र कार्वाही गरियोस् ।
(२) नेपाली कांग्रेसले विगत देखिनै अघि सारेका माग तथा परिवर्तित स्थितिमा निम्न विषय सम्बोधन गरेर युद्धस्तरमा कार्य गर्न विशेष ध्यानाकर्षण गराउँदछु ।
* आरडीटी परीक्षण स्थायी रूपले अन्त्य ।
* सम्पूर्ण रूपले पीसिआर परीक्षण गर्दै एक प्रदेशमा एकलाख नयाँ परीक्षण तत्काल प्रारम्भ गर्ने गरी आवश्यक बन्दोबस्त ।
* स्वास्थ सामग्रीको पर्याप्त प्रबन्ध । अत्यावश्यक पर्ने औषधि रेमडीसीभरको आयातमा तदारुकता । आइसोलेसन वार्ड विस्तार र भेन्टिलेटरको अत्यावश्यक प्रबन्ध ।
* मापदण्ड अनुरूप क्वारेन्टीनहरूको यथाशीघ्र व्यवस्थापन ।
* विदेशमा अप्ठ्यारोमा परेका नेपालीको निःशुल्क उद्वार गरि क्वारेन्टीन र परीक्षण पश्चात् घर पुर्याउने व्यवस्था ।
* नेपालीको उद्दार गर्नुपर्ने स्थितिमा बाहेक सिमानाको आवागमनमा सम्पूर्ण कडाइ र सिमा नाका सिल ।
* सुरक्षाका लागि मास्क लगाउने अनिवार्यतासँगै चेतनामूलक अभियानमा आमसञ्चारमाध्यमको व्यापक प्रयोग ।
(३) परिस्थिति अनुरूपका रणनीति निर्माण गर्न विज्ञहरूसँग परामर्श गर्ने क्रमलाई नियमितता दिएर निर्मित रणनीतिको चुस्त कार्यान्वयनका लागि तदारुकता राखियोस् ।
(४) विभिन्न दल, संघ–संस्था र आम संचार माध्यमका सुझाव नियमित रूपले ग्रहण गरेर कार्य गर्ने प्रवृत्ति आत्मसात गरियोस् ।
(५) उच्च जोखिम, मध्यम जोखिम र न्यून जोखिमको क्षेत्र पहिचान गरेर भिन्न क्षेत्र भिन्न रणनीति निर्माण र कार्यान्वयन गरियोस् ।
(६) विभिन्न जायज माग अघि सारेर आमरण अनशनमा बसेका युवाहरूको भावना तत्काल सम्बोधन गरेर उनीहरूको जीवन रक्षा गरियोस् ।
(७) वर्ग, क्षेत्र र परिस्थिति हेरि राहतका लागि कार्यक्रम तर्जुमा र कार्यान्वयन व्यवस्थित ढंगले गरियोस् ।
लोकान्तर संवाददाता