नेपाली कांग्रेसले प्रदेश सभामा प्रमुख प्रतिपक्ष दलको नेता खाली रहेको ७ महिनापछि बल्ल चयन गरेको छ ।
प्रदेशसभा संसदीय दलको नेतामा कपिलवस्तुबाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने वीरेन्द्रकुमार कनौडियालाई चयन गरिएको छ । गत माघ ८ गते विपक्षी दलका नेता बलदेव शर्मा पोखरेलको मृत्यु भएपछि कनौडियालाई नै कांग्रेसले कार्यबाहक नेता बनाए पनि चयन गर्न भने सकेको थिएन ।
मंगलवार बुटवलमा बसेको पार्टी संसदीय दलको बैठकले कपिलवस्तु ३ (२) बाट निर्वाचित कनौडियालाई नेता चयन गरिएको सार्वजनिक लेखा समितिका सभापति तथा सांसद डिल्लीबहादुर चौधरीले लोकान्तरलाई जानकारी दिए । शर्माको ठाउँमा कांग्रेसले दाङका शंकर गिरीलाई यस अगाडि नै ंंसांसद बनाइसकेको छ ।
कनौडियालाई पार्टी संसदीय दलको नेतामा प्रमुख सचेतक सुरेन्द्र हमालले प्रस्ताव र लेखा समितिका सभापति समेत रहेका सांसद डिल्ली चौधरीले समर्थन गरेका थिए । कनौडिया झण्डै २ दशकअघि जलस्रोत सहायक मन्त्री भएका थिए । दलको नेता चयन भएका कनौडियाले अब प्रदेश सभामा प्रमुख विपक्षी दलको भूमिका सशक्त र प्रभावकारी बनाउने बताए । ८७ सदस्यीय प्रदेशसभामा कांग्रेसका १९ सांसद छन् ।
प्रकाश आचार्य
लोकान्तर संवाददाता आचार्य लुम्बिनी प्रदेशबाट रिपोर्टिङ गर्छन् ।