अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयले राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुखलाई घुस लिँदालिँदै मंगलवार रंगेहात पक्राउ गरेको छ ।
मंगलवार बिहान बुटवल–१३ बाट राजस्व अनुसन्धान बुटवलका प्रमुख विजय रानाले गुड्खा उद्योगीसँग २ लाख रुपैयाँ घुस लिँदै गर्दा अख्तियारको टोलीले पक्राउ गरेको हो ।
गुड्का व्यवसायी अनिलकुमार झासँग घुस रकम लिँदै गर्दा तेस्रो पक्षबाट आएको सूचनाका आधारमा अनुसन्धान प्रमुखलाई पक्राउ गरिएको हो । कार्यालय नजिकै घुस रकम लिने विषयमा बार्गेनिङ भइरहेको सूचना आएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोली त्यहाँ पुगेको प्रमुख डा. भिष्मकुमार भुसालले जानकारी दिए ।
सोमवार नै अख्यितारले बाँके निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराई र सहायक संरक्षण अधिकृत विष्णु रोकायालाई ८ लाख ९८ हजार स्रोत नखुलेको रकमसहित रुपन्देहीबाटै पक्राउ गरेको थियो ।
प्रकाश आचार्य
लोकान्तर संवाददाता आचार्य लुम्बिनी प्रदेशबाट रिपोर्टिङ गर्छन् ।