ओली-प्रचण्डबीच म्याराथन वार्ता, तर विवाद जहाँको त्यहीँ

मंगलवारको वार्तामा सीईओ भट्टलाई लिएर चर्काचर्की

फाइल फोटो।

सत्तासीन नेकपामा देखिएको विवाद अन्त्यका लागि नेताहरू पछिल्लो तीन दिनदेखि निरन्तर छलफलमा जुटे पनि ठोस निष्कर्ष निस्किएको छैन।

प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आइतवारबाट हरेक दिन बालुवाटारमा छलफल भइरहेको छ। तर, अझै निकास निस्कन सकेको छैन।


Advertisement

प्रचण्डको तर्फबाट वरिष्ठ नेता झलनाथ खनाल र ओलीको तर्फबाट संसदीय दलका उपनेता सुवास नेम्वाङलाई साथ राखेर छलफल भए पनि स्थायी कमिटी बैठक बोलाउने विषयमा सहमति जुट्न नसकेको हो।

मंगलवार साँझको छलफलमा प्रचण्ड र खनालले स्थायी कमिटी बैठक महिनौंसम्म स्थगित गरेर राख्न नमिल्ने बरु छिट्टै बैठक बोलाउन भनेका थिए।


Advertisement

तर, ओली राजी भएनन्। बरु पार्टीभित्रको विवाद अब स्थायी कमिटीबाट हल नहुने भन्दै ओलीले ‘सचिवालय बोलाएर छलफल गरौंला’ भनेका थिए।

प्रधानमन्त्री ओलीका पछिल्ला अभिव्यक्ति र कामकारवाहीप्रति असन्तुष्ट नेकपाका नेताहरुले दुबै पदबाट उनको राजीनामा मागेका थिए। त्यस यता ओली स्थायी कमिटी टार्दै आएका छन्।

साउन ६ गतेदेखि स्थगित स्थायी कमिटी बैठक राख्ने वारे सहमति जुट्न सकेको छैन ।

मंगलवार साँझ बालुवाटारमा सवा घन्टा चलेको बैठकमा नेताहरुले ओलीको तीव्र आलोचना गरेका थिए। 

मन्त्रिपरिषद्को सोमवारको बैठकले ‘एजेन्ट’को आरोप लाग्दै आएका राष्ट्रिय योजना आयोगका सदस्य इन्जिनियर सुशील भट्टलाई लगानी बोर्डको सिइओ नियुक्त गरेको थियो।

‘विवादास्पद' व्यक्तिलाई नियुक्ति गरेर सरकारसँगै पार्टीलाई समेत आलोचनाको शिकार बनाएको भन्दै अध्यक्ष प्रचण्ड र नेता खनालले मंगलवार बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग रोष प्रकट गरेका थिए।

छलफलको मुख्य एजेन्डा पार्टीभित्रको गतिरोध अन्त्यको रहे पनि नेताहरूले प्रधानमन्त्री ओलीको कदमको आलोचना गरे।

नेताहरुले अब उप्रान्त राजनीतिक नियुक्ति गर्दा पार्टीको परामर्श लिन भनेपछि प्रम ओलीले प्रतिवाद त गरेनन्। बरु परामर्शमा मात्रै नियुक्ति गर्ने जवाफ दिएका थिए ।

ओलीसँगको भेटवार्ताअघि प्रचण्डले मंगलवार बिहान उपाध्यक्ष वामदेव गौतमसँग परामर्श गरेका थिए ।

नेकपाभित्रको विवादका कारण असार १० गते शुरु भएको स्थायी कमिटी बैठक पटक पटक स्थगित हुँदै आएको छ ।

छलफलमा सहभागी नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङका अनुसार पार्टीभित्रको गतिरोध अन्त्यका लागि निरन्तर छलफल गर्न सहमति अनुसार बैठक टुंगिएको हो। बुधवार साँझ ५ बजे पनि अध्यक्षहरुबीच छलफल हुने नेता नेम्वाङले जनाए।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्