कोरोना नियन्त्रणका लागि स्मार्ट लकडाउन किन जरुरी छ ?– डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

डा. रवीन्द्र पाण्डे
डा. रवीन्द्र पाण्डे

जनस्वास्थ्य विज्ञ पाण्डे लोकान्तरका नियमित स्तम्भकार हुन् ।

देश अहिले कोरोना संक्रमणको गम्भीर मोडमा पुगेको छ । नेपालसँग सिमाना जोडिएका भारतका युपी, बिहार तथा पश्चिम बङ्गालमा कोरोना संक्रमणको भयावह अवस्था र खुला सिमानाको कारण नेपालको तराइ तथा काठमाडौं उपत्याका सामुदायिक संक्रमणको बाटोमा अग्रसर छन् । काठमाडौंजस्तो घनाबस्ती भएको क्षेत्रमा आवतजावत तथा जनस्वास्थ्यका मापदण्डबारे कडाइ नहुँदा दैनिक ६ – ८ हजार व्यक्ति उपत्यका प्रवेश गरिरहेका छन् भने दैनिक लगभग ३ हजार यातायातका साधन काठमाडौं प्रवेश गरिरहेका छन् । ती हरेक नागरिकलाई छिटोछरितो ढंगले पीसीआर परीक्षण गर्ने र संक्रमितलाई आइसोलेसनमा नराख्ने हो भने संक्रमण फैलिएर नियन्त्रण बाहिर जाने खतरा देखिएको छ । त्यस्तैअन्तरदेशीय तथा अन्तरजिल्लागत आवतजावतलाई व्यवस्थित नगर्ने हो भने देशभर संक्रमण फैलिने जोखिम बढ्नेछ । यी जोखिमलाई न्यूनीकरण गर्न तथा आम नागरिकलाई रोग र भोकबाट बचाउनका लागि निम्न लिखित रणनीति अवलम्बन गर्नु जरुरी छ ।

भारतसँग सिमाना जोडिएका अधिकांश जिल्लामा कोरोना संक्रमण समुदायमा फैलिएको छ, फैलिने क्रममा छ । तसर्थ सीमा नाकालाई १००% शिलबन्दी गर्ने, सीमावासीलाई राहत र सचेतना दिएर सुरक्षाकर्मीसँग संयुक्त गस्ती गर्ने । आवतजावत दुवैलाई बन्द गर्ने । सामान ढुवानी गर्ने भारतीय ड्राइभर र हेल्परलाई कोरोना परीक्षण गरेर मात्र नेपालभित्र आउन दिने वा सीमाबाट नेपाली चालकमार्फत परिवहनको व्यवस्था मिलाउने । यो सबैभन्दा महत्त्वपूर्ण पक्ष हो । हामीकहाँ संक्रमण आउने प्वाललाई टाल्ने हो भने आन्तरिक अवस्था व्यवस्थापन गर्न हामी आफै सक्षम छौं । भारतको युपी, बिहार र पश्चिम बङ्गाल कोरोना संक्रमणको इपिसेन्टर बन्दै गएको तथ्यलाई हामीले गम्भीर रूपमा लिनु जरुरी छ । परीक्षण सबैभन्दा कम भएको बिहारमा ५९ हजार ३ सय २८ जना, युपीमा ९७ हजार ३ सय ६२ जना तथा पश्चिम बंगालमा  ७८ हजार २ सय ३२ जनामा हालसम्म संक्रमण पुष्टि भएको छ भने मृतकको संख्या पनि बढ्दै गएको छ ।


Advertisement

त्यस्तै असारको तेस्रो हप्तायता देखिएको कोरोना संक्रमण लक्षणयुक्त छ । करीब ३० % मा लक्षण देखिएको छ भने १५ % मा कडा लक्षण देखिएका छन् । लक्षणयुक्त संक्रमण धेरै जनालाई सर्ने तथा गम्भीर बनाउने प्रकृतिको छ । नेपालको अहिलेसम्मको तथ्यांक विश्लेषण गर्दा १ जना संक्रमितले बढीमा १२५ जनालाई तथा घटीमा १ जनालाई संक्रमण सारेको एवं औसतमा एक जनाले १२ जनालाई संक्रमण सारेको सीसीएमसीले जनाएको छ । यो अवस्था विध्यमान भएमा १० हजार संक्रमितले १ लाख २० हजार व्यक्तिलाई संक्रमण सार्न सक्छन् । तसर्थ छिटो परीक्षण र छिटो कन्ट्याक्ट ट्रेसिङको स्मार्ट रणनीति बनाउनु जरुरी छ ।

हाम्रा अस्पतालका आइसीयू अहिले नै लगभग भरिएका छन् । अभियानको रूपमा अस्पतालको क्षमता नबढाउने हो भने हाम्रो स्वास्थ्य प्रणालीले महामारी धान्न सक्दैन । तसर्थ कोरोना संक्रमण रोकथामका लागि राज्य एवं नागरिकले उच्च सतर्कता अपनाउनुको विकल्प हामीसँग छैन । प्रकोप नियन्त्रणका लागि हामीले केही अप्ठ्यारा सहनुपर्ने अवस्था आउन सक्छ । यसका लागि हामी मानसिक रूपमा तयार हुनु जरुरी छ ।


Advertisement

 

संक्रमित क्षेत्रमा २-३ हप्ता कडा लकडाउनले केहुन्छ ?

आवतजावत बन्द हुँदा संक्रमणको स्थानीयकरण हुन्छ ।

कोरोना संक्रमण भएका व्यक्तिलाई २-३ हप्तामा या पूरा निको हुन्छ या उनीहरू अस्पताल जान्छन् तर अन्य स्वस्थ व्यक्तिलाई संक्रमण सार्न सक्दैनन् ।

अहिले विद्यमान संक्रमण ७५ % नियन्त्रणमा आउँछ ।

काठमाडौं उपत्याका लगायत जनघनत्व बढी भएका सहरमा, सीमा जोडिएका जिल्लामा, अहिलेसम्म तथा पहिले संक्रमण भएका पहाडी जिल्लामा पुलिंग मेथडबाट व्यापक परीक्षण गर्ने । त्यसको नतिजा र संवेदनशीलता हेरेर नेपाललाई रेड जोन, एल्लो जोन र ग्रीन जोनमा विभाजन गर्ने ।

आईसीयू, भेन्टिलेटर, अक्सिजन, ब्लड, प्लाज्मा थेरापी, रेमडेजेभिर लगायतका एन्टीभाइरल औषधि लगायतको पर्याप्त व्यवस्था गर्ने । गुणस्तरीय र्‍यापिड एन्टिजेन टेस्ट (३० मिनेटमै कोरोना संक्रमणको रिपोर्ट आउने आधुनिक किट) खरिद गरेर परीक्षणलाई छिटो छरितो बनाउने ।

संक्रमितको लागि स्कूल, कलेज, सामुदायिक भवन, सरकारी भवन तथा होटेलमा प्राथमिक उपचारसहितको आइसोलेसन सेन्टरको रूपमा विकास गर्ने ।

सरकारी अस्पताल, निजी अस्पताल, मेडिकल कलेज आदिमा कडा लक्षण देखिएका वा गम्भीर बिरामीलाई मात्र भर्ना गर्ने ।

न्यून आय भएका व्यक्तिलाई पुग्दो राहत दिने । रोजगारीका अवसर बढाउन पर्याप्त गृहकार्य गर्ने ।

पहिलेजस्तो लामो समय लकडाउन नगर्ने । जोखिम स्थानमा मात्र छोटो, प्रभावकारी, उद्देश्यमूलक तथा कडा लकडाउन गर्ने ।

नागरिक परिचालन, स्थानीय निकायसँग समन्वय, राजनैतिक/ सामाजिक/ स्वयंसेवी  आदिलाई अभियानको रूपमा जनचेतना विस्तारका लागि परिचालन गर्ने ।

लकडाउन खोलेपछि के गर्ने ?

रेड जोनका आवश्यक स्थानमा लकडाउन, सिल तथा कडाइ गर्ने, एल्लो जोनका संक्रमित ठाउँमा सिल गर्ने तथा ग्रीन जोनमा जनस्वास्थ्यका मापदण्ड पूरा गरेर स्कूल, लामो दुरीका यातायात तथा आन्तरिक उडान गर्ने ।

कोरोना नियन्त्रण नहुने बेलासम्म मास्कको सही तरिकाले प्रयोग नगर्नेलाई १००० जरिवाना गर्ने, दुरी कायम नगर्ने, धेरैजना जम्मा हुने / भेला गर्ने / भीड गर्ने आदिलाई पनि जरिवानाको व्यवस्था गर्ने ।

तरकारी बजार बन्द गरेर हरेक स्थानीय पसलबाट किनबेच गर्न लगाउने ।

यातायात जोरबिजोर, त्यो पनि आवश्यक कामको लागि मात्र अनुमति दिने ।

शैक्षिक संस्था, फिल्महल, नाइट क्लब, भोजभतेर, भेला, सम्मेलन, प्रदर्शन आदिलाई निषेध गर्ने ।

अन्तर्राष्ट्रिय उडानजम्मा २ उद्देश्यले मात्र गर्ने –

क) नेपालमा अड्केका नेपाली वा विदेशीलाई अर्को ट्रान्जिट पुर्‍याउन ।

ख) देश आउन चाहने नेपालीलाई नेपाल ल्याउन ।

यस्तो विषम परिस्थितिमा कुनै पनि पर्यटक नेपाल भ्रमण गर्न आउँदैनन् न त हामी नै भ्रमण गर्न कुनै देश जान्छौं ।

भारतमा बीसौं लाख संक्रमित छन् । त्यहाँ निजी अस्पतालमा एकदम महँगो तथा प्याक छ भने सरकारी अस्पतालमा खुट्टा राख्ने ठाउँ छैन । यदि फ्लाइट वा लामो दुरीका बसमा उनीहरूको पहुँच भयो भने उपचार गर्न, कोरोनाबाट बच्न, घुम्न भारतीय र बंगलादेशी प्रतिदिन हजारौं आउन सक्छन् । उनीहरूले यहाँका अस्पताल, होटेल, रेस्टुरेन्ट, सपिङ सेन्टर, ट्याक्सी लगायत यातायात संक्रमित गरेर ठूलो महामारी सिर्जना गर्ने डर हुन्छ । तसर्थ अन्तर्राष्ट्रिय उडानलाई हतार नगर्ने ।

स्थानीय निकाय र प्रदेश सरकारको यो वर्षको बजेट रकमान्तर गरेर राहत, परीक्षण र उपचारमा प्रयोग गर्ने । प्रत्येक प्रदेशमा घटीमा १००० / १००० बेडका अस्थायी कोरोना अस्पताल बनाउन शुरू गर्ने ।

संक्रमितको तथ्यांक, ठेगाना तथा अन्य विवरण पारदर्शी र सही दिने व्यवस्थालाई प्रभावकारी बनाउने । यसो गर्दा जनतामा कोरोना संक्रमणप्रतिको सतर्कता र सचेतना थप वृद्धि हुन्छ ।

अन्य देशमा जस्तै गुणस्तरीय एन्टीबडी टेस्ट किट किनेर नेपालमा कति प्रतिशत जनसंख्या इम्युन भएको छ, अध्ययन गर्ने । यसो गर्दा इम्युन व्यक्तिलाई आर्थिक गतिविधिमा सक्रिय बनाउन सकिन्छ ।

सेना, प्रहरी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, राजनीतिकर्मी, कर्मचारी, सफाइकर्मी, होस्टेल, उद्योग लगायत सामूहिक बसाइ हुने क्षेत्रमा अनिवार्य मास्क, भौतिक दुरी तथा सरसफाइको व्यवस्था गर्ने । नियमित परीक्षण गरिरहने ।

कोरोना परीक्षण गर्दा संवेदनशील स्थान चयन गर्ने: सुकुम्बासी बस्ती, फोहोर तथा कवाड संकलन गर्ने व्यक्ति, तरकारी बजार, मिठाइ पसल, मासु काट्ने ठाउँ, असन/ इन्द्रचोक लगायत गल्लीभित्रका चिया पसल, खाजा पसल, भट्टी, गाडीका वर्कसप, भरिया, सामूहिक बसाइका स्थान लगायतका संवेदनशील स्थानमा परीक्षण गरेको भए संक्रमितको पहिचान हुन्थ्यो । त्यस्तै भारतीय नागरिक र संक्रमित क्षेत्रबाट आएका नागरिकलाई खोजीखोजी परीक्षण गरेर संक्रमित पाइएमा आइसोलेसनमा राख्ने ।

दशैँअघि २-३ लाख नेपाली स्वदेश आउने आंकलन गर्न सकिन्छ । उनीहरूलाई ५-७ दिन होल्डिङ सेन्टरमा राखेर तथा पीसीआर टेस्ट गरेर मात्र आइसोलेसन सेन्टर वा गाउँमा पठाउने व्यवस्था गर्नुपर्छ । यसको तयारी अहिलेदेखि नै गर्नुपर्दछ । दशैं, तिहार, छठ लगायतका पर्वको समयमा विशेष निगरानी राख्ने ।

काठमाडौं उपत्यकाका हरेक नाकामा अनिवार्य रूपमा होल्डिङ सेन्टरमा राखेर पीसीआरको रिपोर्ट आएपछि मात्र सहर पस्न दिने । काठमाडौं भित्रिने हरेक नाकामा सुरक्षा जाँच कडा गर्ने ।

कोरोना संक्रमणका नन-कोरोना समस्यालाई समाधान गर्नका लागि हरेक स्वास्थ्य संस्थामा मनोपरामर्शदाताको व्यवस्था गर्ने । क्वारेन्टीन तथा आइसोलेसन केन्द्रमा पनि परामर्शको व्यवस्था गर्ने ।

क्वारेन्टीन र आइसोलेसनमा नि:शुल्क वाइफाई र मोबाइल सेटको व्यवस्था गर्ने जसले गर्दा शंकास्पद तथा संक्रमित व्यक्ति इन्टरनेटमा व्यस्त रहन्छन् । नकारात्मक सोच आउँदैन। आत्महत्या घट्छ ।

त्यस्तै क्वारेन्टीन तथा आइसोलेसनमा राख्दा पहिले खाएका औषधि छुट्न नदिने ।

दीर्घरोगीलाई नियमित परीक्षण गर्ने तथा गाउँगाउँमा दीर्घरोगका औषधि उपलब्ध गराउने ।

स्वास्थ्यकर्मीलाई तोकिएको जोखिम भत्ता प्रत्येक महिना तलबसँगै उपलब्ध गराउने । सही तरिकाले PPE लगाउन तालिम दिने । स्वास्थकर्मीको मनोबल बढाउनको लागि विभिन्न सुविधा, सुरक्षा र संक्रमित भएमा गुणस्तरीय उपचारको प्रत्याभूति दिने । ५०% जनशक्तिलाई काममा लगाउने तथा ५० % जनशक्तिलाई पुलमा राखेर पालैसँग २/२ हप्ता ड्युटी गर्ने व्यवस्था मिलाउने ।

कन्ट्याक्ट ट्रेसिङलाई प्रभावकारी बनाउनका लागि को व्यक्तिको को-कोसँग भेट भएको थियो भन्ने जानकारी दिने मोबाइल एप्लिकेसन हरेक नागरिक नागरिकलाई प्रदान गर्ने ।

कोरोना संक्रमण परीक्षण, उपचार, निमोनियाको जानकारी, एम्बुलेन्स आदिका हटलाइन नम्बर व्यवस्था गरेर आमजनतालाई सुसूचित गर्ने ।

कोरोना संक्रमण नियन्त्रणमा हरेक मन्त्रालयबीचको सहकार्य, प्रदेश सरकारको प्रभावकारी कदम तथा स्थानीय निकायलाई अत्यन्तै सक्रिय बनाउन प्रेरित गर्ने ।

विश्वका विभिन्न देशले कोरोनाविरुद्धको खोप निर्माण गरिरहेका छन् । खोपको तेस्रो चरणको परीक्षण, खोपको वितरण तथा GAVI( Global alliance of vaccination & immunization ) सँगको समन्वय उच्चस्तरबाट गर्नु जरुरी छ ।

यदि हामी सबैले सही तरिकाले मास्कको प्रयोग गर्ने, हरेक अवस्थामा व्यक्तिगत दुरी कायम गर्ने, भीडभाड नगर्ने, भोजभतेर नगर्ने, अनुहारलाई नछुने, हात सफा गरिरहने तथा सधैँ सजग हुने हो भने लकडाउन तथा कर्फ्युजस्ता अप्रिय नियम लगाउनुपर्दैन, कुनै पनि व्यक्तिको संक्रमण भएर मृत्यु हुँदैन । हामी सबैले म, मेरो परिवार र मेरो समाजलाई बचाउँछु भनेर प्रण गरौं, यही नै कोरोना नियन्त्रणको सबैभन्दा सस्तो र प्रभावकारी उपाय हो ।

डा. रवीन्द्र पाण्डे
डा. रवीन्द्र पाण्डे

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्