हिरोशिमामा अणुबम खसाइएको ७५ वर्ष भोलि पुग्ने, अमेरिकी निर्णय अझै विवादमा

अमेरिकाले जापानको हिरोशिमामा अणुबम खसाएको ७५ वर्ष बितिसक्दा बम खसाउने विमान इनोला गेलाई वाशिङटनको डल्लेस विमानस्थल नजिकको संग्रहालयमा राखिएको छ । 

त्यसलाई सफा गरेर राखिएको छ । तर २५ वर्षअघिसम्म पनि त्यसलाई बेवास्ता गरिएको थियो । 


Advertisement

दोस्रो विश्वयुद्ध सकिएको निकै समयसम्म पनि बी–२९ सुपरफोर्ट्रेस बमवर्षक विमान कुहिनका लागि छोडिएको थियो । त्यसलाई टुक्राटुक्रा पारिएको थियो, टुक्राहरू यत्रतत्र छरिएका थिए, इन्जिनमा चराले गुँड बनाएका थिए र

कसैले विमानको बन्दूक अड्याउने ठाउँ नै भाँचिदिएको थियो । 


Advertisement

यसरी उक्त विमानलाई ध्यान नदिनुमा अमेरिकाको राष्ट्रिय मनोविज्ञानमा रहेको दोधारेपन एउटा कारण हो । त्यो विमानले दोस्रो विश्वयुद्ध अन्त्य गरेको हो कि सर्वसाधारणको सामूहिक हत्या गरेर आणविक त्रासको युगको आरम्भ गरेको हो भन्ने विषयमा अहिलेसम्म बहस चलिरहेको छ । 
 

इनोला गेलाई आंशिक रूपमा नवीकरण गरेर सन् १९९५ मा नेसनल एयर यान्ड स्पेस म्युजियममा प्रदर्शनीमा राख्ने योजना बन्दा इतिहासकारहरूले यसको विरासतलाई कसरी हेरिएला भनी चिन्ता व्यक्त गरेका थिए । 

वायुसेनाका पूर्वसैनिकहरूले यसरी विमानलाई प्रदर्शनीमा राख्दा जापान र अमेरिकाको जिम्मेवारी एउटै नैतिक स्तरमा राख्ने भनी आपत्ति जनाएका थिए । त्यसपछि संग्रहालय सञ्चालकहरूले हिरोशिमामा १ लाख ४० हजारजनाको ज्यान जाने घटना तथा आणविक हतियारको दौड शुरू भएको तथ्यलाई लुकाउन कोशिश गरेका थिए । 

तर आलोचकहरू त्यतिमा मात्र सन्तुष्ट भएनन् । संग्रहालयका निर्देशक मार्टिन हार्विटलाई राजीनामा दिन बाध्य पारियो । 

विमानलाई पूर्णरूपमा नवीकरण गरेर संग्रहालयको नयाँ भव्य भवनमा लगिँदा बम खसेपछि बाँचेका जापानी तथा अन्यबाट विरोध प्रदर्शन भएको थियो । विमानमा रातो रंग छ्यापिएको थियो र फ्रेम पनि कुच्याइएको थियो । 

सन् १९४५ को अगस्ट ६ मा हिरोशिमामा अनि त्यसको तीन दिनपछि नागासाकीमा अणुबम खसाइएको विषयमा भएका सबै नैतिक, राजनीतिक र ऐतिहासिक बहस सार्वजनिक प्रदर्शनीमा पारिएको छैन । तर घटनाको ७५ वर्ष बितिसक्दा यससम्बन्धी बहस सतहमा आउन छोडेको छैन । 
 

इतिहासकारहरूमाझ मात्र विमति छन् भन्ने हैन । वायुसेनाले अणुबम प्रयोग गरिएकाले विश्वयुद्ध अन्त्य भएको र थप रक्तपात हुन नपाएको दृष्टिकोण राख्छ भने नेसनल म्युजियम अफ द यूएस नेभीले नितान्त भिन्न धारणा राख्छ । 

हिरोशिमा र नागासाकीमा खसाइएका बमले गरेको विशाल क्षतिले जापानी सेनामा खासै असर पारेन,’ इनोला गेले खसाएको लिटल बोय नामक अणुबमको प्रतिमासँगै रहेको प्लाकमा यस्तो लेखिएको छ । 

हिरोशिमा र नागासाकीमा प्रयोग गरिएको यो बर्बर हतियारले हामीलाई जापानविरुद्धको युद्धमा कुनै भौतिक सहायता गरेन । जापानीहरू हारिसकेका थिए र आत्मसमर्पण गर्न ठिक्क परेका थिए,’ एड्मिरल विलियम लीहीले लेखे । उनी अमेरिका र बेलायतको चीफ्स अफ स्टाफका अध्यक्ष थिए । 

द गार्डियनबाट

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्