बेरुत विस्फोटका घाइते भन्छन्– हामीलाई सराप लागेको छ

भुताहा धूवाँ हट्न थालेपछि पूर्वी बेरुतका सडकहरूमा विनाशपछिका दृश्य देखिन्छन् । विस्फोट भएको ठाउँभन्दा चार किलोमिटर पर प्रत्येक भवनका सबै नभएपनि धेरै झ्यालहरू भत्केका छन् । 

बेलुकाको ६ बजेपछि विस्फोट भएको थियो । धूवाँ र गुलाफी ग्यासले विनाशका दृश्यलाई छोपेका थिए । फुटेका शीशाले सडक भरिएका थिए । केही टुक्राहरू कार छेडेर भित्र पसेका थिए । रुखहरू धुजाधुजा भएका थिए । सडकमा रगतको आहाल थियो । 


Advertisement

रगतको धारो पछ्याउँदै जाँदा घाइतेलाई क्लिनिक वा अस्पतालतिर दौडाइएका कार र बाइकहरू भेटिन्थे । विस्फोटको केही समयपछि नै मृतक र घाइतेको संख्या थाम्न नसकी अस्पतालहरूलाई गाह्रो परिरहेको थियो । 

शहरका मुख्य चोकहरूमा एम्बुलेन्सको साइरन बजिरहेको सुनिन्थ्यो । शहरबाट भाग्न खोजिरहेका कारहरूका कारण भएको जाममा एम्बुलेन्सहरू फसिरहेका देखिन्थे । 


Advertisement

विस्फोटपछि उठेको धूवाँको मुश्लो हावाले पूर्वतिर लग्दै थियो तर कुनै न कुनै रूपमा धूवाँ लगभग आधा घन्टासम्म उठिरहेकै थियो । 

पूर्वी बेरुतको अशरफिएबाट गेम्माइजतिर हिँड्दै जाँदा विनाशको अझै भयावह दृश्य देखिन्थ्यो । दर्जनौं भवनहरू क्षतिग्रस्त देखिन्थे । पसल र रेस्टुराँहरूमा भारी क्षति पुगेको थियो । नाइटक्लबहरू रहेको एक पूरै इलाका सोत्तर भएको थियो । लेबननमा गृहयुद्ध भएका बेलामा लगातार एक हप्तासम्म गोलीबारुद चल्दा पनि यति ठूलो विनाश भएको थिएन । 

मानिस र बालबालिका रनभुल्ल परेर हिँडिरहेका देखिन्थे । केही हतारहतार हिँड्दै थिए । धेरैजनाको घर ध्वस्त भएपछि गन्तव्यहीन भएर हिँडिरहेका थिए । भग्नावशेषलाई नाघ्दै जान पनि गाह्रो परिरहेको थियो । 
 

बेरुतमा पहिलेपहिले बम वर्षा हुने गर्थ्यो । त्यसैले विस्फोट उसका लागि नौलो कुरा हैन । तर यो विस्फोट चाहिँ उसका लागि अनौठो रह्यो । 

आर्थिक सुस्तताका कारण धरापमा परेको देशलाई यति ठूलो विस्फोटको घटना सहनुपर्दा धेरैको होशहवास गुमेको छ । 

‘हामीलाई सराप लागेको छ,’ लगभग २२ वर्षका एक पुरुषले भने । उनको नाडीमा शीशाले काटेर रगत चुहिरहेको छ । ‘यो दुर्घटना मात्रै हो भने पनि हाम्रा लागि साह्रै महंगो परेको छ ।’
 

लेबननमा यति ठूलो विस्फोट यसअघि सन् २००५ को फेब्रुअरीमा भएको थियो । त्यतिखेर पूर्व प्रधानमन्त्री रफिक हरिरी एक होटलअघि कार बम विस्फोटमा मारिएका थिए । उनको हत्यामा संलग्न रहेको आरोप लागेका

मानिसहरूको पुर्पक्षको फैसला अन्तर्राष्ट्रिय फौजदारी अदालतमा शुक्रवार सुनाइँदैछ । केही मानिस त्यो फैसलाको पूर्वाभासका रूपमा यस विस्फोटलाई लिइरहेका छन् । 

‘यहाँ कुनै पनि कुरा विना कारण हुँदैन,’ सोभी शत्तार भन्छन् । उनी निसान गाडी कम्पनीका पूर्व प्रमुख कार्लोस घोस्नको घरअगाडिको फोहर हटाइरहेका छन् । ‘सबैजनालाई पछि हट्नका लागि दिइएको सन्देश हुन सक्छ ।’

के विस्फोट भएको हो र कसरी भएको हो भन्ने विषयमा सबैका आआफ्नै सिद्धान्त छन् । विस्फोटको आवाज ८० किलोमिटर पर रहेको उत्तरी लेबननमा समेत सुनिएको थियो । अझ २५० किलोमिटर पर साइप्रसको पश्चिममा रहेको ठाउँमा पनि विस्फोटको आवाज सुनिएको बताइन्छ । 

‘ठूलो संख्यामा विस्फोटकहरूबाट मात्र त्यस्तो आवाज निस्कन्छ,’ इन्जिनीयर रियाद हद्दादले भने । ‘बन्दरगाह कि त आफैं विस्फोट भयो कि त तारो बनाइयो ।’
 

गेम्माइज जिल्लामा रहेका छिमेकीहरू जस्तै हद्दादले पनि आफ्नो घर बस्न लायक बनाउनका लागि धेरै काम गर्नुपरेको थियो । ‘हामी कसरी बौरिने हो ? शहरभरिका कम्तीमा १० लाख झ्यालहरू ध्वस्त छन् । त्यो भन्दा पनि पैसा, जागिर, बिजुली, इन्धन केही नभएको स्थिति थियो । अब अहिले यो घटना भएको छ । यो सचेत हुनुपर्ने घटना हो कि युद्ध हुन्छ ?’

लेबननका गृहमन्त्री मोहम्मद फेहमीले ठूलो संख्यामा रहेको अम्मोनियम नाइट्रेट बन्दरगाहमा भण्डारण गरिएको र त्यही विस्फोट भएको बताए । तर उनको घोषणापछि पनि अनुमानको खेती जारी रह्यो । 

‘त्यो हतियार भण्डार थियो त ?’ साथीहरूलाई आत्तिँदै फोन गर्ने एक व्यक्तिले सोधे । ‘इजरायलीहरूले आक्रमण गरे त ? पहिला सानो विस्फोट भयो अनि पछि ठूलो भयो । केले गर्दा पहिलो विस्फोट भयो ?’

हल्ला र षड्यन्त्रका कुरा फैलिँदै जाँदा लेबननका सुरक्षा प्रमुख जनरल अब्बास इब्राहिमले पटका विस्फोटको सिद्धान्तलाई खारेज गरे र गोदाममा उच्च प्रज्वलनशील पदार्थ रहेको बताए । 

द गार्डियनबाट

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्