सरकारले भन्यो– तत्काल देशव्यापी लकडाउन गर्ने कुनै तयारी छैन

सरकारले कोरोना संक्रमणको जोखिम न्यूनीकरणका नाममा पुनः देशव्यापी बन्दाबन्दी (लकडाउन) गर्ने योजना नरहेको सरकारले जनाएको छ ।

सरकारले भदौ १ गतेदेखि सञ्चालन गर्ने भनिएको हवाइ उडान, लामो दूरीका सार्वजनिक यातायात र स्कूल भने तत्काल नखुल्ने संकेत गरेको छ । 


Advertisement

साउन १९ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले गत चैत्र ११ गतेदेखि भएको जस्तै लकडाउन फेरि नहुने स्पष्ट गरेका हुन् । 

‘अहिले नै देशव्यापी लकडाउन भनेर जानेतर्फ सोचेको छैन । त्यस्तो परिस्थिति भयो भने स्थानीय प्रशासनले यो कदम चाल्न सक्छ । दुई दर्जन स्थानीय तहमा बन्दाबन्दी गरिएको छ,’ मन्त्री खतिवडाले भने, ‘त्रसित भएर पूर्ण लकडाउन हुन्छ कि भन्ने अवस्था छैन । सन्त्रस्त नहुन सबैलाई आह्वान गर्छु ।’


Advertisement

स्वास्थ्य क्षेत्रका विज्ञ र आर्थिक क्षेत्रका विज्ञले सरकारले गर्नुपर्ने कामको सुझाव दिएकाले सोही अनुसार अगाडि बढ्ने उनले बताए । 

‘नागरिकको स्वस्थ जीवन र आर्थिक जीवनलाई सन्तुलित ढंगले अगाडि बढाउनुपर्छ, लकडाउन मात्र सबै समस्यको समाधान होइन भन्ने उहाँहरूको सुझाव छ,’ खतिवडाले भने, ‘ज्यान जाने ५० वटा मुख्य रोगमध्ये कोभिड कान्छोतिर पर्छ, ५० औं नम्बरमा पर्छ भन्ने डाक्टरहरूको भनाइ छ । कोभिडका कारण लकडाउन गरिरहँदा अन्य कारणले नेपालीको जीवन नमरोस् भन्नेतर्फ सरकार सचेत छ ।’ 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्