हात्तीले उप्रदो मच्चाउँदा १ जनाको मृत्यु

फाइल फोटो

जंगली हात्तीको आक्रमणबाट झापाको कमल गाउँपालिकामा बिहीवार राति १ वृद्धको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कमल गाउँपालिका–५ स्थित टुक्रेका ५८ वर्षीय रोहित रेग्मी रहेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक भवनबाबु खड्काले जानकारी दिए ।
 
उनका अनुसार बिहीवार राति करीब २ बजेतिर नजिकैको रतुवा माईवृक्षरोपण आयोजनाको जंगलबाट आएको २ हात्तीले परिवारसहित बस्दै आएका रेग्मीको छाप्रामा आक्रमण गरेको थियो । छाप्रामा एक्कासी हात्तीले आक्रमण गरेपछि ज्यान बचाउन भागेका रेग्मीलाई हात्तीले लखेटेर मारेको अवस्थामा शव भेटिएको प्रहरी निरीक्षक खड्काले बताए ।


Advertisement

रेग्मीका पत्नी र १ नातिनी भने भागेर ज्यान जोगाउन सफल भएका थिए ।

सशस्त्र प्रहरीको जग्गामा छाप्रो बनाएर बसोबास गर्दै आएका रेग्मीलाई छाप्रोबाट केही पर हात्तीले कुल्चिएर मारेको पाइएको तथा राति नै स्थानीयले हात्तीलाई जंगलतर्फ नै धपाएको कमल–५ का वडाध्यक्ष डम्बरबहादुर निरौलाले बताए । यसअघि समेत त्यस क्षेत्रमा हात्तीले उप्रदो मच्चाउँदै आएको थियो ।


Advertisement

कमेन्ट गर्नुहोस्