स्थानीय तहले गरे कोरोनाको खर्च विवरण सार्वजनिक

प्रतिकात्मक तस्वीर

कोरोना भाइरस नियन्त्रण, रोकथाम तथा राहत वितरणका लागि सिरहा जिल्लाका स्थानीय तहले गरेको खर्चको विवरण सार्वजनिक गरेका छन् ।

कोरोना भाइरस संक्रमण नियन्त्रण, रोकथाम र राहत वितरणका लागि गरिएको खर्च विवरण सार्वजनिक गर्न चौतर्फी माग उठेपछि जिल्लाका १७ मध्ये १२ स्थानीय तहले खर्च विवरण सार्वजनिक गरेका हुन् ।


Advertisement

जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा स्थानीय तहले खर्च विवरण प्रस्तुत गरेका छन् ।
 
कोरोना नियन्त्रण र राहत वितरणका लागि सिरहा नगरपालिकाले सबैभन्दा बढी ५ करोड ९० लाख ८६ हजार ४३० रुपैयाँ र सबैभन्दा कम अर्नमा गाउँपालिकाले ३९ लाख ५९ हजार १०३ रुपैयाँ खर्च गरेको छ । गोलबजार नगरपालिकाले १ करोड ६० लाख ८५ हजार ५३ रुपैयाँ, कर्जन्हा नगरपालिकाले १ करोड ४८ लाख १५ हजार ८१६, धनगढीमाई नगरपलिकाले ५५ लाख ९४ हजार ६३३ तथा लहान नगरपालिकाले १ करोड ९८ लाख ४० हजार ७८ खर्च गरेको विवरणमा उल्लेख छ । 

मिर्चैया नगरपालिकाले १ करोड ७२ लाख ८१ हजार ७७, विष्णुपुर गाउँपालिकाले ८८ लाख ६१ हजार ७१०, बरियारपट्टि गाउँपालिकाले १ करोड ५७ लाख २३ हजार ७६७, नरहा गाउँपालिकाले ७३ लाख ५९ हजार २४९, लक्ष्मीपुर पतारी गाउँपालिकाले ६९ लाख ६५ हजार ६९५ र औरही गाउँपालिकाले २ करोड २० लाख ८० हजार ९३० खर्च गरेको विवरणमा जनाइएको छ ।
 
जिल्ला स्वास्थ्य कार्यालयले ३० लाख ८६ हजार २८८ र जिल्ला अस्पतालले १ करोड ३८ लाख ५९ हजार ७०७  खर्च गरेको विवरण प्राप्त भएको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले जानकारी दिए ।


Advertisement

खर्च विवरण सार्वजनिक गर्न नसकेका कल्याणपुर नगरपालिक, सुखीपुर नगरपालिका, सखुवानन्कारकट्टी गाउँपालिका, भगवानपुर गाउँपालिका र नवराजपुर गाउँपालिकालाई पनि खर्च विवरण सार्वजनिक गर्न पत्राचार गरिसकेको उनले बताए ।

कमेन्ट गर्नुहोस्