चीनको ग्वान्जाउमा राजमार्गमा पर्ने सानो घरकी मालिक्नीले सरकारलाई घर बेच्न नमानेपछि त्यस घर बीचमा पारेर पुल बनाइएको छ ।
यस्ता घरलाई चीनमा दिङजिहु अर्थात् कीला घर भनी चिनिन्छ । बाटो बनाउनका लागि घर भत्काउने र त्यसबापत मुआब्जा लिन मालिकहरूले नमान्ने स्थितिलाई दिङजिहु भनिन्छ ।
स्थानीय सञ्चारमाध्यमले जारी गरेको भिडियो फूटेजमा उक्त घर हाइझुयोङ पुलका दुई भागको बीचमा रहेको देखिन्छ ।
यो एक तल्ले घर ४० वर्गमिटर क्षेत्रमा फैलिएको छ र चार लेनको ट्राफिक लिंकको बीचमा एउटा खाल्डोमा छ, क्वाङदोङ टीभी स्टेसनले खबर दियो ।
घर मालिक्नीको थर लियाङ हो । सरकारले आफूलाई गतिलो ठाउँमा घर नदिएकाले आफूले घर बेच्न नमानेको बताइन् ।
यसको परिणाम भोग्न आफू तयार रहेको र अरूले के भन्छन् भनी नसोच्ने उनले बताइन् ।
लियाङले सरकारलाई चारवटा अपार्टमेन्ट दिन भनेको तर सरकारले दुईवटा मात्र दिन मानेको सूत्रहरूले बताएका छन् ।
पीयर भिडियोसँगको अन्तर्वार्तामा उनले आफूलाई कब्रिस्तान नजिक घर दिइएकाले लिन नमानेको बताइन् ।
कीला घर अहिले चीनको सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।
एजेन्सी