पुटिनलाई अपदस्थ गर्ने षड्यन्त्र रचेको आरोपमा तीन व्यक्तिलाई कारावास सजाय

मस्कोको एक अदालतले राष्ट्रपति भ्लादिमिर पुटिनलाई अपदस्थ गर्ने षड्यन्त्र रचेको आरोपमा तीनजना व्यक्तिलाई कारावास सजाय दिएको छ । 
 

रस्लान कोस्तीलेनकोभलाई सात वर्ष, प्योत्र कारामजिनलाई साढे ६ वर्ष र भ्याचेस्लाभ क्रुकोभलाई ६ वर्षको कारावास सजाय दिइएको हो । 


Advertisement

सन् २०१८ मा अधिकारीहरूले १० जनालाई पक्राउ गरी न्यु ग्रेटनेस नामक अराजकतावादी सेल चलाएको र सरकारविरोधी आन्दोलनको षड्यन्त्र रचेको आरोप लगाएका थिए । 

यी तीनैजना पुरुषलाई सन् २०१८ को मार्च महिनादेखि प्रिट्रायल डिटेन्सनमा राखिएको थियो । 


Advertisement

समूहका समर्थकहरूले चाहिँ एफएसबी सुरक्षा सेवाले कृत्रिम केस बनाएको अनि उसका एजेन्टहरू समूहमा घुसपैठ गरेर पुटिनविरोधी क्रियाकलाप गर्न लगाएको दाबी गरेका छन् । 

प्रतिरक्षक वकिलहरूका अनुसार, अन्डरकभर प्रहरी एजेन्टले समूहको अतिवादी कार्यक्रमको खाका तयार पारेका थिए । 

रुसको अधिकारवादी समूह मेमोरियलले उनीहरूलाई राजनीतिक बन्दी घोषणा गरेको छ । 

त्यसै आरोपमा परेका अन्य चारजनालाई ४ देखि साढे ६ वर्षको कारावास सजाय दिइएको छ । 

मुद्दाको सुनुवाइ चलिरहेको बेलामा अदालतबाहिर विरोध प्रदर्शन गर्ने कम्तीमा तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्