जंगली युगदेखि आधुनिक समाजसम्म : राजनीति अझै किन बदनाम ?

गुरूराज घिमिरे
गुरूराज घिमिरे

नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष समेत रहेका घिमिरे नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुन् ।

आफ्नो उत्पत्तिदेखि आजसम्म मान्छेले अकल्पनीय दुःख र अनेक उतारचढाव पार गरेको छ । संसारमा अस्तित्वमा रहेका अनेक जीवहरूमध्ये मानिस सर्वाधिक चेतनशील जीव हो ।

प्राणी जगतमा मानिस हरेक क्षेत्रमा अग्रणी छ, विवेकशील छ र आफ्नो मौलिक सभ्यताको समेत विकास गरेको छ । अन्य कुनै प्राणीको निजी स्थायी परिवार एवं उन्नत र विकसित सभ्यता छैन ।


Advertisement

आदिकालमा मानिस र पशुमा धेरै समानताहरू थिए । यायावरको रुपमा चारैदिशा भौतारिने मान्छे पशुको आक्रमणमा पर्थे र ज्यान गुमाउँथे । मानव सभ्यताको लामो कालखण्ड यसैगरी बित्यो । मुस्किलले यस कालखण्डमा ढुंगाका हतियारहरू बने ।

पाषाण जंगली युग, ढुंगे युग हुँदै कविला तन्त्र शुरू भयो । नदी किनारामा अवस्थित कविला राज्यका मानिसहरूबीच आवासीय क्षेत्र, शिकार क्षेत्र लगायत विषयमा घनघोर द्वन्द्व चल्थ्यो । आपस्तको हिंस्रक द्वन्द्वमा धेरै मानिसहरू मारिन्थे । जतिसुकै दुःख माने पनि उनीहरू मानिसको मृत्युलाई सहज रुपमा लिन अभ्यस्त भइसकेका थिए । आपस्तमा लड्नु भौतिक आवश्यकताको जगेर्नाका लागि र मारिनु नियतिको रुपमा सर्वस्वीकार्य भइसकेको थियो । वृद्ध र कमजोर मानिसहरू अनाहकमा मारिन्थे । कविला युगको कविला तन्त्रमा एकै कविलाभित्र समेत घोषित/अघोषित नियम तोडिँदा मुखिया पदको चयनमा आन्तरिक असमझदारी उत्पन्न भई ठूल्ठूला झगडाहरू मच्चिन्थे ।


Advertisement

द्वेष, ईष्या र व्यक्तिगत अहम्का कारण धेरै कविलाहरूमा ठूलो आन्तरिक विनाश निम्तिन्थ्यो । मन पराएको पुरुष वा स्त्रीको नाममा समेत झगडा हुन्थे । हाडनाता र अन्य नातागोताको कुनै आचारसंहिता थिएन । बुवाआमा, छोराछोरी ,दाजुभाइ र दिदीबहिनीको आपसी सम्बन्ध पशुसरह थियो । बलियो व्यक्तिको मनमौजी राज चल्दथ्यो । 

यस्तो परिपाटी हजारौं वर्ष चल्यो । मुखियाहरू एकप्रकारले आधुनिक राजा जस्तै तत्काल उपलब्ध सुविधाको अधिकतम उपभोग गर्दै विलासी जीवन बिताउँथे । तथापि आफ्नो कविलाको सुरक्षाको लागि ज्यानसम्म दिन पछि पर्दैन्थे । निजी सुरक्षाको लागि पिठ्यूँ फर्काएर भाग्दैन्थे ।

यही कविलातन्त्रको विकसित र आधुनिक रूप नै सामन्तवादी राजतन्त्र हो । यो कतै लोकप्रिय र कतै निरंकुश चरित्रको थियो । यद्यपि त्यसका अवशेषहरू आजपर्यन्त छन् । जनइच्छा बमोजिम चल्न मञ्जुर राजसंस्थाले अस्तित्व बचाएका छन् । शक्ति, ऐश्वर्य र वैशिष्ट्यताको अभिमान देखाउनेहरू सभ्यताको कहालीलाग्दो गर्तमा बिलाएका छन् । यसका निम्ति मानव सभ्यताको विकास क्रमले धेरै लामो समय व्यतीत गरेको छ । 

पौराणिक ग्रन्थहरूमा वर्णित समृद्ध सभ्यतासम्म आइपुग्न लाखौं वर्षहरू गुजार्नुपरेको छ । अर्बाैं पुर्खाहरूको कुर्बानीको जगमा आधुनिक मान्छेको अभिर्भाव भएको छ । आदि मानवदेखि आजको सभ्य मानव जातिसम्मको इतिहास रच्न अकल्पनीय पीडा झेल्नुपरेको छ । अहिलेको सभ्यताको गजुर तिनै प्रातःस्मरणीय पुर्खाहरूको आँशु, हाँसो, त्याग र भौतिक हाडखोरको जगमा उभिएको छ । यो निकै भावुकतापूर्ण र कठोर समेत छ । हामीले भोगिरहेको सहज जीवनको पृष्ठभूमि निकै कारुणिक र असहज छ ।

विकास क्रमकै एउटा अंग हो समाज । परिवारको बृहत् रूप र राज्यको एकाई । यिनै समाजहरूले नै जाति, नश्ल, संस्कृति र धर्मको संरक्षण तथा विकास गरेका हुन् । यदि समाजको उद्भव हुँदैनथ्यो भने अहिलेको आधुनिक समाजको विविधता, विशिष्टता र मौलिकताको निरन्तरता सम्भव नै थिएन । धर्मको उदय नभएको भए नैतिकता, दया, करुणा र परोपकार जस्ता कुराले मानव जीवनमा स्थान नै पाउने थिएन र धर्म मानव सभ्यताको अमूल्य सम्पदा पनि हुने थिएन ।

साँच्चै क्रान्तिकारी भएर सबै एकछत्र बनाउँछु भन्ने नारा पनि नलागेका होइनन् समय–समयमा तर ती सबै पानीका अक्षर साबित भए । आफ्नो प्राणको बाजी राखेर हुर्काएको सभ्यता, संस्कृति र पहिचानलाई मेटाउन खोज्ने आत्मविनासक तत्वलाई सभ्यता आफैंले बेतोड जवाफ दियो । यसको जग हो परिवार । यो व्यक्तिको शक्तिको स्रोत हो र सम्पत्तिमाथि निजी स्वामित्वको कारक । यसको अर्थ विवाह नामक संस्था र सम्पत्तिको स्वामित्व परिवारसँगै जोडिएका अभिन्न तत्व हुन् । विवाहको उत्पत्ति नहुँदासम्म नारी पुरुषको सम्बन्ध पशुवत र चरम वेश्यावृत्तिपूर्ण थियो । यो नारी र पुरुष दुवैको हकमा प्रचलित थियो । मानव सभ्यताको शक्ति र विकासको स्रोत समाज हो र विकासको अघिल्लो चरणको भरपर्दो धरातल पनि हो । जहाँ टेकेर मानव सभ्यता आजपर्यन्त निरन्तर अघि बढेको छ ।

समाजले मानिसको उत्तरदायित्वको क्षेत्रलाई फराकिलो बनाउँछ । परिवारले हरेक व्यक्तिमा कर्तव्यको सिर्जना गर्दछ । अलिकति अन्तस्करण खुलेको र जीवनको तात्पर्य थाहा पाएको व्यक्ति परिवारको दायरा नाघेर बाहिर निस्कन्छ । आफ्ना निजी मामलामा थोरै उदासिन बन्छ र सामाजिक स्वार्थ र उत्तरदायित्वको भारी बोक्न तयार हुन्छ । उसको मन र आँखा परिवार सँगसँगै समाजतिर पनि उत्तिकै चनाखो एवं केन्द्रित रहन्छ । औसत बुद्धिको मान्छेले त्यसो गर्न सक्दैन र समाजमा त्यस्ता मान्छे छ्याप्छ्याप्ती पाँइदैनन् पनि । पशु र मानिसमा धेरै फरक छ भन्ने चेतना र होश भएको मान्छे नै वास्तविक रुपमा सामाजिक उत्तरदायित्वबोध भएको मान्छे हो । मानिसले कर्तव्य र उत्तरदायित्वको बोध गरेरै समाजको गठन गरेको हो । अन्य प्राणीहरूको पनि समाज हुन्छ तर उत्तरदायित्वको भावना हुँदैन । सन्तानोत्पादनको न्यूनतम कर्तव्यबाहेक सामाजिक कर्तव्यको त कुरै छाडौं । त्यसैले आजसम्म मानव समाजले हुर्काएका, जोगाएका र पुस्ता दर पुस्ता हस्तान्तरण गर्दै आएका सम्पदाहरू नै मानव जातिका पहिचान हुन् । यो सबै मानिसको उन्नत चेतनाको प्रतिफल हो र यसको माध्यम मानव निर्मित समाज नै हो ।

समाज राष्ट्रको आधारभूत एकाई हो । अर्थात् समाजको बृहत् रुप नै राष्ट्र हो । परिवारको सीमा नाघेर समाजको उत्तरदायित्व लिएको व्यक्तिले समाजको सीमा समेत नाघ्न सक्छ । यसको मतलब उसले राष्ट्रिय उत्तरदायित्व निर्वाह गर्ने अग्रसरता लिन सक्छ तर यसका लागि गतिलो र भरपर्दो माध्यम चाहिन्छ । साँच्चै भन्ने हो भने राजनीति त्यही उपयुक्त माध्यम हो, जसको उद्देश्य मानव समाजको हित गर्ने र आउने पुस्तालाई थप सुविधा सम्पन्न सहज समाज हस्तान्तरण गर्ने हो । राज्यको उत्पत्तिसँगै राजनीतिक विचारधाराको समेत विकास हुँदै गयो । किनभने खास सैद्धान्तिक मूल्यमान्यता बेगर राज्य सञ्चालनको अभिभारा पूरा गर्नु कठिन कार्य थियो । तत्कालीन समाजका अगुवा र चेतनशील व्यक्तिले यस्ता सिद्धान्तको प्रतिपादन गरे । यही दौरानमा नै धर्मको समेत उत्पत्ति भयो । यो मानव निर्मित लोक सञ्चालनको पवित्र आचारसंहिता हो, सुझबुझ पूर्ण सामाजिक विज्ञान हो । यसको मार्गदर्शनले मानव समाजको धेरै कल्याण भएको छ ।

प्रकृतिको रहस्य नै ईश्वर हो । मानिस त्यसको एकछेउ पनि पुगेको छैन र ईश्वरीय अस्तित्वको खोजी निकै दुरुह विषय हो । सम्भवतः अनन्तकालसम्म यसमा खोज अनुसन्धान चलिरहने छ । मानव जातिले आफ्नो उर्बर चेतनाले आफ्नो पशु जुनि बदलेर सभ्य बनेसँगै संसारको रहस्य र ईश्वरको खोजी आरम्भ गरेको हो । यही खोजको शास्त्रले नै धर्मको अभ्युदय गराएको हो । धर्मको मार्गनिर्देश अनुरुप सदाचार र सद्वयवहारले समाजका सबै किसिमका हिंसा र तनावहरूलाई अन्त्य गरेर आध्यात्मिक साधनाद्वारा ईश्वरलाई बुझ्न सकिन्छ भन्ने मत विभिन्न सन्तहरूको छ । 

संसारमा धेरै समयसम्म राज्यहरू धर्मको अधिनमा वा   प्रभावमा चले । राजनीति धर्मको शाखा जस्तो भयो । हुन त प्राचीन युगमा सनातन धर्मबाहेक अरु धर्मको उदय भएकै थिएन । समयक्रममा राजनीतिले आफ्नो अस्तित्व बोध गर्‍यो र दुनियाँमा यसको छुट्टै अस्तित्व स्थापित भयो । समाजको सबै क्षेत्रमा राजनीतिको बर्चस्व र सर्वोपरिता स्थापित भयो । राज्यको उत्पत्तिसँगै राजनीतिको पनि अभिर्भाव भए पनि यसको संस्थागत विकास हुन निकै समय लाग्यो । एक प्रकारले राज्यको उत्पत्ति आफैंमा राजनीति नै थियो । तथापि यसले पखेटा फिजाएर जगतभर बर्चस्व कायम गर्न भने लामो समयको अभ्यास पार गर्नुपर्‍यो ।

राजनीतिले नागरिक जीवनलाई सहज तुल्याउन सक्नुपर्छ । समाजमा उपलब्ध जीविकोपार्जनका सुविधा र विकल्पमा बृद्धि गर्न र नागरिक आवश्यकतालाई बुझ्न सक्नुपर्छ । राजनीति आवधिक रुपमा हुने निर्वाचनबाट गठन हुने सरकार र त्यसमा सहभागिता मात्र होइन । राजनीति सत्ताको चमकदमक मात्र होइन । सरकारले नागरिक जीवनलाई गुणात्मक बनाउन सक्छ कि सक्दैन ? त्यो राजनीति हो । ठूल्ठूला राजनीति शास्त्रको बहस या विभिन्न वाद र सिद्धान्तको विवाद मात्र राजनीति होइन । यस्तो राजनीतिको उपादेयता त्यतिबेला समाप्त हुन्छ, जब सत्ता वा सरकारले नागरिकलाई चित्तबुझ्दो सेवा र वस्तुको प्रवाह गर्दैन । यस प्रकारको राजनीति एउटी त्यस्ती आमा जस्तो हुन्छ, जो आफ्ना छोराछोरीको प्रशंसा मात्र गर्छे तर आवश्यक भोजनको व्यवस्था भने गर्दिनन् ।

कतिपय मानिसहरू राजनीतिलाई गहिरोसँग बुझ्दैनन् वा बुझ्न चाहँदैनन् । लाजमर्दो कुरा त के छ भने राजनीतिको तात्पर्य थाहा नै नपाई कतिपय मानिसहरू सत्ताको शिखरमा पुग्दछन् । यस्तै व्यक्तिहरूले राजनीतिको छवि बिगार्छन् र बिगारेका छन् ।

यसैकारण दुनियाँमा हिटलर पैदा हुन्छ र राजनीतिको नाममा फासिस्ट तानाशाही चलाएर ६० लाख निर्दोष मानिसको हत्या गर्दछ । स्टालिन जस्ता क्रूर शासक पैदा हुन्छन् र आफ्नो शासनकालमा २ करोड मानिसहरूको हत्या गर्छन् । सांस्कृतिक क्रान्तिको नाममा ७० लाख मानिस मारिन्छन् । मुसोलिनी, पोलपोट, चाउचेस्कु, सद्दाम हुसैन, कर्णेल गद्दाफी जस्ता राजनीतिक आवरणमा उदाएका खलपात्रहरूले राजनीतिको हदैसम्म बदनामी गर्दछन् । त्यसैले राजनीतिको भावना नबुझ्ने र बुझेर पनि अवसरलाई चरम दुरुपयोग गर्ने प्रवृत्ति संसारभर पाइन्छ । नेपाल पनि त्यसको अपवाद छैन ।

वर्तमान सरकारले राजनीतिलाई नै बदनामीको मार्गतर्फ धकेल्ने कसरतमा जुटेको देखिन्छ । नागरिकले दैनन्दिन झेल्नुपरेको दुःखको कहरप्रति उदासिन रहनु नै राजनीतिको हुर्मत लिनु हो । कविला तन्त्रको मुखियाले समेत आफ्ना सदस्यहरूको उचित रेखदेख गर्दथ्यो । नेपालको वर्तमान राजनीतिले कविला युगलाई समेत मात ख्वाएको छ ।

गुरूराज घिमिरे
गुरूराज घिमिरे

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्