पारिवारिक विरासतलाई निरन्तरता दिँदै मैथिलीका प्रख्यात गायक मल्लिक

अजय अनुरागी
अजय अनुरागी

अजय अनुरागी लोकान्तरका लागि खोज, राजनीति र समसामयिक विषयवस्तुमा कलम चलाउँछन् ।

मैथिली भाषाका लोकप्रिय गायक तथा संगीतकारको रूपमा छुट्टै पहिचान स्थापित गर्न सफल व्यक्ति हुन् जनकपुर स्थायी ठेगाना भएका सुनीलकुमार मल्लिक । पारिवारिक विरासतमा नै गीत संगीतको माहौल पाएका मल्लिकले मैथिली भाषामा थुप्रै गीत गाउनुका साथै संगीतकारको रूपमा पनि स्थान बनाएका छन् ।

विद्यार्थी हुँदादेखि नै गीत गाउन सिकेका उनले हालसम्म मैथिली भाषाका दर्जनौं एल्बम तथा मैथिली सिनेमा समेतमा स्वर दिनुका साथै संगीत समेत दिएका छन् ।


Advertisement

धनुषाको कंटिर झा नमूना माविबाट प्राथमिक शिक्षादेखि एसएलसीसम्म अध्ययन गर्ने क्रममा नै उनले गीत गाउन शुरू गरे । घरमा बुवा कामेश्वर मल्लिकले गीत संगीतको माहौलमा सिकाउने काम गर्दै आएकाले पनि विद्यालयमा हुने प्रायःजसो सांस्कृतिक कार्यक्रममा उनले गीत गाउने गरेका थिए ।

प्रत्येक वर्ष सरस्वती पूजा हुँदा सांस्कृतिक कार्यक्रम आयोजन हुने गर्थ्यो । मैथिली भाषामा नाटक लेख्ने प्रख्यात नाटककार महेन्द्र मलंगिया (जसलाई मैथिली भाषाको नाट्य लेखनमा सेक्सपियर नै भनिन्छ) त्यहीँ विद्यालयका शिक्षक थिए । उनका बुवा मल्लिक पनि त्यहीँ विद्यालयका शिक्षक थिए । त्यसकारण पनि अन्य विद्यालयको तुलनामा सांस्कृतिक कार्यक्रमको रूपमा मैथिली भाषाको नाटकदेखि गीत संगीत आदिको कार्यक्रम प्रत्येक वर्षको सरस्वती पूजामा आयोजन हुने गर्थ्यो । त्यही सांस्कृतिक कार्यक्रममा उनले मैथिली भाषाका गीतहरू गाउने गरेका थिए । 


Advertisement

२०३६ कार्तिक १९ गते जनकपुरमा मैथिली भाषामा नाटक प्रदर्शन गर्ने उद्देश्यले मिथिला नाट्य कला परिषद् (मिनाप) स्थापना भएको थियो । पछि उनी पनि मिनापसँग आवद्ध भए । विद्यालयमा मात्र गीत गाउने मल्लिकले मिनापको स्टेजमा गीत गाउने मौका पाए । जानकी मन्दिरको प्राङ्गणमा मिनापले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा धेरै भनसुन गरेर गीत गाउने मौका पाएको उनी सम्झिन्छन् । ‘त्यतिबेला मिनापको मञ्च पाउनु धेरै ठूलो कुरा थियो,’ मल्लिकले भने, ‘मिनापमा मेरो बुवा, मलंगिया सर समेत आवद्ध भएका कारण धेरै सिफारिस गरेपछि मात्र मैले मञ्चमा गीत गाउने मौका पाएको थिएँ ।’

त्यो मञ्चमा भारत दरभंगाका ठूलो गीतकार चन्द्रमणि झा पनि अतिथिको रुपमा गीत गाउन आएका थिए । चन्द्रमणिको उपस्थितिमा चन्द्रमणिले नै लेखेको गीत ‘सिरकीके दोगे शिकार किएक कएले, सोरहे वर्षमें सिंगार किएक कएले’ मल्लिकले गाएका थिए ।

त्यसपछि विभिन्न गीतको धुन आफैंले बनाउने काम गर्न थाले मल्लिक । उनले नेपाल र भारतका विभिन्न मञ्चमा गीत गाउने अवसर पाउन थाले । पहिलो पटक उनको नेपाली भाषामा ‘मुटुभरि माया’ नामक एल्बम सार्वजनिक भएको थियो । काठमाडौंको म्यूजिक नेपालको स्टुडियोमा रेकर्डिङ गरिएको एल्बममा ८ वटा गीत थिए । जसमा उनीसँगै आभाष लाभ, रश्मि दत्त, संगीता देव लगायतले पनि गीत गाएका थिए । सुनील प्रवेशले संगीत दिएको एल्बममा मल्लिकले ८ मध्ये ३ वटा गीतमा आफ्नो स्वर दिएका थिए । 

त्यसपछि त्रिभुवन विश्वविद्यालयको कीर्तिपुरस्थित क्याम्पसमा नेपाल तराई विद्यार्थी संघका विद्यार्थीले सांस्कृतिक कार्यक्रम आयोजन गर्दा उनलाई पनि गीत गाउन बोलाइएको थियो । उनले गायनकला देखेपछि नेपाल टेलिभिजनमा समेत गीत गाउने अवसर पाएका थिए । संगीतकार राजेन्द्र निखिलले उनलाई नेपाल टेलिभिजनको स्टुडियोमा लगेर एउटा मैथिली गीत रेकर्ड गर्न लगाए । ‘सनन सनन बहे रे बसात, उदगारे फुइजगेल सरगम सुर सात’ गीत रेकर्ड गरेर टेलिभिजनबाट फूलबारी कार्यक्रममा गीत प्रसारण गरिएको थियो । 

रौतहटका अशोक चौधरीले मैथिली भाषाको विद्यापति धाराबाहिक बनाउँदा समेत सनन सनन गीत रेकर्ड गरेर प्रसारण गरिएको थियो । मतिशचन्द्र लालले मैथिली भाषामा ‘दहेज’ फिल्म बनाउँदा समेत उनले ४ वटा गीत गाएका थिए । राजेन्द्र निखिलले फिल्ममा संगीत दिएका थिए भने जनकपुरका गायकहरू आभाष लाभ, नीलम मल्लिक सहितले गीत गाएका थिए । 

‘छौंडा तोरा बज्जर खस्तौ’ एल्बमबाट लोकप्रियता 

केही सिनेमा तथा स्टेजमा गीत गाए पनि लोकप्रियता भने २०५३ सालमा रिलीज भएको ‘छौंडा तोरा बज्जर खस्तौ’ नामक मैथिली एल्बमबाट भएको उनी बताउँछन् । जनकपुरका राजेश जालानले एल्बममा लगानी गरेको थियो । भारतको पटनामा १५ दिन बसेर एल्बमको रेकर्डिङ सम्पन्न भएको थियो । ८ वटा गीत रहेको एल्बममा मल्लिकले ४ वटा गीत गायन र संगीत दिएका थिए । उनी र भाइ प्रवेश मल्लिकको जोडीको रूपमा पहिलो पटक संगीतकारको रूपमा पहिचान बनाउन सफल भएका थिए ।

‘धक धक धड्के जिया, एबै कहिया गाम यौ’, ‘चंचल चपल रस स भरल’ सहित ४ वटा गीत उनले गाएका थिए । आभाष लाभ, रश्मि दत्त लगायतले समेत सुपरहिट गीतहरू गाएको एल्बममा मल्लिककी ५ वर्षीया छोरी नेहाले गाएको ‘हेतई दीदीके बियाह गे बहिना तहू अबिहए’ गीत समेत चर्चित बनेको थियो । आभाष लाभ र रश्मि दत्तले गाएको ‘रे छौंडा तोरा बज्जर खस्तौ’ नामक गीत धेरै नै चलेको थियो । सुनील–प्रवेशको जोडीमा त्यसपछि थुप्रै गीतहरू आएका छन् ।

संगीतकारको रुपमा झन् निखार ल्याउन उनी भारतको इलाहावादस्थित ‘प्रयाग संगीत समिति’मा भर्ना भए । केही महिना संगीत सिकेर उनी जनकपुरमा फर्किएपछि जनकपुरमा नै शास्त्रीय संगीतका गुरुहरू शिवलाल दास र लक्ष्मी नारायण दास लगायतबाट निरन्तर सिकाइको काम जारी राखे । प्रयागले संगीत समितिबाट समेत संगीतमा एमए उत्तीर्ण गरेको उनी बताउँछन् । उनले ‘गीत घर घरके’, ‘हमर धकधकी बढेए’, ‘मैया भवानी बिनती सुनू हमर’, ‘लेहुवाएल आंचर’, ‘खोता सिंगार’ नामक एलबममा समेत गीत गाएका छन् ।

गोपाल पाठकले बनाएको मैथिली सिनेमा ‘ममता’मा रश्मि दत्तले संगीत दिनुका साथै उनले गीतहरू पनि गाएका थिए । रश्मि दत्तको युगल जोडी तथा एकल गायन समेत गरेर ४ वटा गीत गाएका थिए । धिरेन्द्र प्रेमर्शीले लेखेको गीत ‘जीब लए प्राण हम कत स बेसाही, प्रेमक बनमे लागल पसाही’ उनले गाउनुका साथै विभिन्न गीतमा स्वर दिएका थिए । 

नाटकमा समेत लाइभ गायन 

मिनापले मैथिली भाषामा नाटक प्रदर्शन गरेर ठाउँ ठाउँमा लोकप्रियता कायम गरी रहेको थियो । मल्लिक पनि मिनापसँग आबद्ध भइसकेका थिए । २०४८ सालमा मोफसलबाट पहिलो पटक काठमाडौंको मञ्चमा प्रदर्शन गर्ने मौका मिनापले पनि पाएको थियो । मिनापका कलाकारहरू नाटककार महेन्द्र मलंगियाको नाटक ‘ओकरा आँगनक बारह मासा’ नामक नाटक मञ्चन गर्न काठमाडौं गएका थिए । नाटकमा १२ महिनाको परिवेश देखाउन १२ वटा गीतहरू पनि लाइभ नै गाउनुपर्ने थियो ।

जनकपुरकै नाटककार अबधेश पोखरेलले हरमुनियामा संगीत दिएर मल्लिकले गीत गाएका थिए । गीत सहितको नाटकमा कलाकारले यति राम्रो अभिनय प्रदर्शन गरेका थिए कि नाटकले पुरस्कार नै जित्न सफल भएको थियो ।

‘काठमाडौंमा गरिएको प्रयोग सफल भएपछि नाटककार मलंगियाले स्क्रिप्ट लेखिसकिएको नाटकमा पनि गीत राखेर नयाँ तरिकाले प्रदर्शन गराउन थाल्नुभयो,’ मल्लिकले सम्झिए, ‘नयाँ नाटक लेख्दा त ब्याकग्राउन्डमा ठाउँठाउँमा गीत राखेर नै नाटक लेख्न थाल्नुभयो ।’

‘गाम नै सुतइए’, ‘पुस जाढ कि माघ जाढ’, ‘छुतहा घैल’ जस्ता नाटकको स्क्रिप्ट पहिले नै लेखिसकेका मलंगियाले पछि गीत थपेर काठमाडौंको गुरुकूलमा मञ्चन गराउँदा राष्ट्रिय पुरस्कार नै पाउन सफल भएको उनी बताउँछन् । ‘ओ खाली मुंह देखै छै’ नामक नाटक शुरूमा एकांकी नाटक मात्र थियो । पछि नाटककार मलंगियाले गीतहरू समेत थपेर पूर्णनाटक बनाएका थिए । रमेश रंजनले लेखेको नाटक ‘डोमकछ’ त पूरापूरी गीति नाटक नै थियो, जसमा मल्लिकले लाइभ नाटकमा गीत गाउनेदेखि संगीत दिने काम समेत गरे ।

पछिल्लो समय रामायण सर्किटको अवधारणा आउँदा मल्लिक र श्याम सुन्दर शशिले स्क्रिप्ट तयार पारेर गीती नाटक ‘जानकी लीला’ तयार पारेका थिए । नाटक नेपाल र भारतको विभिन्न शहरका मञ्चमा प्रदर्शन भएको छ । 

सयौं सडक नाटकदेखि मञ्चीय नाटकमा गीत गाउनेदेखि संगीत दिएका मल्लिकले २०६५ सालदेखि २०७१ सालसम्म मिनापको नेतृत्व गर्ने अवसर समेत पाएका थिए । पछिल्लो १० वर्षदेखि उनले आफ्नै निजी निवासमा स्टुडियो निर्माण गरेर गीतहरू रेकर्ड गर्ने गरेका छन् । 

जनकपुरका गंगासागरमा प्रत्येक दिन साँझ आयोजना हुने गंगा आरतीमा बजाइने गीतहरू पनि उनले नै गाएका छन् । रमेश रञ्जनले लेखेको गीत ‘इएह छि अपन जनकपुर, ई सीताके जनकपुर’ सहित सबै गीतहरू उनले नै गाएका छन् ।  

एउटा गीत रेकर्ड गर्दा ४० देखि ५० हजार रुपैयाँ आम्दानी गर्ने गरेका मल्लिक गायन पेशामा पनि अब विगतभन्दा राम्रो कमाइको अवसर भएको बताउँछन् । ‘गीत घर घरके’ एल्बममा गाउँदा समेत त्यतिबेला २५ हजार रुपैयाँ गाएबापत पाएका मल्लिक भने अब झन् बढी कमाइ हुने गरेको बताउँछन् । उनी विभिन्न नगरपालिकाको नगर गानदेखि थप एल्बमहरू निर्माण गर्ने काम गर्दै आएका छन् ।

मिथिला राज्य संघर्ष समितिको संस्थापक अध्यक्ष भएर सक्रिय रुपमा मैथिली भाषाको उत्थानका लागि सक्रिय हुने गरेका मल्लिक अब पुस्तकको रुपमा गीत संग्रह प्रकाशन गर्ने तयारीमा रहेको बताउँछन् । 

गीत संगीतमा योगदान दिएर मैथिली भाषाको उत्थानमा योगदान पुर्‍याएबापत २०७४ सालमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई ‘जन सेवा श्री’ सम्मानबाट सम्मानित गरेका छन् । मैथिली विकास कोषदेखि विभिन्न संघसंस्थाले उनलाई पटक–पटक सम्मान गर्दै आएको छ । 

यस क्षेत्रमा उनको पहिचान गायक तथा संगीतकारको रुपमा भएपनि पेशाले उनी शिक्षक हुन् । २०४६ सालमा मावि शिक्षकको रुपमा सरकारी जागिरमा प्रवेश गरेका उनले लामो समय शिक्षकको रुपमा कम गर्दै शैक्षिक तालिम केन्द्रमा प्रशिक्षकको रुपमा काम गरेका छन् । अहिले उनी शिक्षातर्फ राजपत्रांकित प्रथम श्रेणीको (सहसचिव) तहमा जनकपुरधाम उपमहानगरपालिकामा कार्यरत छन् । 

सरकारी जगिरे भएर पनि उनले आफ्नो पारिवारिक विरासतमा पाएको गीत संगीतको शिक्षालाई निरन्तरता दिँदै आएका छन् । उनका हजुरबुवा मुसद्दीलाल मल्लिक तबला बादक थिए भने बुवा कामेश्वर मल्लिक पनि गायक तथा संगीतकार छन् । भाइहरू शैलेन्द्र मल्लिक पनि गीत गाउनुका साथै अहिले पनि मिनापमा महासचिवको रुपमा कार्यरत छन् भने अर्को भाइ रमेश मल्लिक तबला बादकको रुपमा भारतको दिल्लीमा एउटा विद्यालयमा संगीत शिक्षकको रूपमा कार्यरत छन् । अर्का भाई प्रवेश मल्लिक भारतको हिन्दी सिनेमा बलिउडमा समेत गायक तथा संगीतकारको रुपमा प्रवेश गरेर नाम कमाइसकेका छन् । अर्का भाइ अमरेश मल्लिक, छोरीहरू नेहा, निहारिका र छोरा निशान्त पनि गायनमा लागेको उनी बताउँछन् । 

अजय अनुरागी
अजय अनुरागी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्