मनसुन सक्रिय भएकाले ३ दिन देशभर वर्षा हुने

फाइल फोटो

नेपालमा फेरि आगामी ३ दिन मनसुन सक्रिय हुने भएको छ ।

शनिवार रातिबाट मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक सर्ने सम्भावना देखिएकाले २–३ दिनसम्म देशका धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको मौसमविद् शान्ति कँडेलले बताए ।


Advertisement

‘केही स्थानमा भारी वर्षाको सम्भावना समेत रहेको छ,’ मौसमविद् कँडेलले भने । मौसमविद्का अनुसार यस वर्ष मनसुन बढी सक्रिय भएको छ ।

यस वर्ष निरन्तर वर्षा भइरहेको छ । मनसुनी रेखा नेपालमा धेरै दिनसम्म रही रहेकाले वर्षा बढी भएको बताइएको छ । शनिवार रातिबाट २–३ दिनसम्म नेपालमा मनसुन सक्रिय भई देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन अनुरोध गरिएको छ । 


Advertisement

हाल प्रदेश नम्बर २ मा र प्रदेश नम्बर ५ का केही भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा सामान्यदेखि पूर्ण बदली रहेको छ । बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नम्बर ५, कणाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ । 

दिउँसो देशभर सामान्य बदली रही देशका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाका साथै प्रदेश नम्बर १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका १ वा २ स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार शनिवार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २१ दशमलव ४ र अधिकतम तापक्रम ३०ं दशमलव ६ डिग्री सेल्सियस रहेको छ । शनिवार सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १७ दशमलव ३ डिग्री र सबैभन्दा धेरै नेपालगञ्जको अधिकतम तापक्रम ३६ दशमलव ८ डिग्री सेल्सियस रहेको छ । 

कमेन्ट गर्नुहोस्