बेलायतमा लाखौंले गुमाए रोजगारी, करिब ३ हजार ६ सय नेपाली प्रभावित

लन्डनस्थित चेन रेस्टुराँ पिज्जा एक्सप्रेस । कोरोना भाइरसका कारण ६७ वटा आउटलेट बन्द गर्ने रेस्टुराँको निर्णयले ११ सयभन्दा बढी कामदारले जागिर गुमाएका छन् । तस्बिर : एजेन्सी

बेलायतको राजधानी लन्डन बस्दै आएका शिव भण्डारी जागिरविहीन भएको झन्डै ६ महिना पुग्यो । फुलटाइम काम गरिरहँदा पारिवारिक बाध्यताले जागिर छोडेका उनी लगत्तै कोभिड–१९ को चपेटामा परे ।

कोभिड अनि लकडाउनका कारण धेरै कम्पनी बन्द भए, अस्तित्वमा रहेका कम्पनीले पनि कामदार निकाल्न थाले । परिणामत भण्डारीले पनि चाहेजस्तो काम पाइरहेका छैनन् । ‘अनुकूल समय र राम्रो तलब आउने काम खोज्दा खोज्दै यति समय बित्यो । अझै कामको टुंगो छैन,’ उनले भने, ‘परिस्थिति थप जटिल बन्दै छ ।’


Advertisement

कोभिड–१९ को महामारीअघिसम्म नेपाली विद्यार्थी विकास सिंह लन्डनको एक होटलमा पार्टटाइम काम गरिरहेका थिए । तर लकडाउनपछि ग्राहक अभावमा होटलमा ताला लाग्यो । अप्रिल पहिलो साताबाट जागिर गुमाएका उनी अर्को कामका लागि भौंतारिरहेका छन् । ‘बाँच्नै गाह्रो भइसक्यो । विद्यार्थी भनेपछि कसैले राख्दैनन्,’ उनको गुनासो छ, ‘नेपाल जाऊँ भने पनि कोभिडको त्रास झन् बढेको छ । बसौं बेलायतमा काम पाउनै मुस्किल भयो ।’

महामारीका कारण कैयौं कम्पनी बन्द भएपछि बेलायतमा गएको एक दशकयताकै सबैभन्दा धेरै बेरोजगारी बढेको आधिकारिक तथ्यांकहरूले देखाएका छन् । गत अप्रिलदेखि जुनसम्ममा २ लाख २० हजार मानिस बेरोजगार भएका ब्रिटेनको अफिस अफ नेसनल स्टाटिस्टिक्स (ओएनएस) ले जनाएको छ ।


Advertisement

सन् २००९ मा विश्वव्यापी वित्तीय संकटयता एक त्रैमासिकमा यति धेरै मानिस बेरोजगार भएको यो नै सबैभन्दा ठूलो संख्या हो । यो तथ्यांकमा जागिर नगुमाए पनि घरमै बस्न भनिएका (फर्लो स्किम), जिरो आवर सम्झौतामा भएका वा अस्थायी रूपमा बेतलबी बिदामा रहेका मानिसलाई समेटिएको छैन ।

भाइरसको महामारी सुरु भएसँगै गरिएको लकडाउनको अवधिमा कुल ७ लाख ३० हजार जनाले रोजगारी गुमाएका हुन् । ओएनएसका अनुसार पछिल्लो एक महिनामा मात्रै रोजगारी (पेरोल) मा रहने मानिसको संख्या ८१ हजारले घटेको छ ।

लन्डनस्थित नेपाली दूतावासका प्रवक्ता एवं उपनियोग प्रमुख शरदराज आरन महामारीको चपेटामा नेपाली पनि परेको बताउँछन् । बेलायतमा बस्ने करिब २ लाख नेपालीमध्ये काम गर्ने उमेर समूहका करिब ३० प्रतिशत छन् । उनका अनुसार तीमध्ये झन्डै ६ प्रतिशत अर्थात् ३ हजार ६ सय प्रभावित भएको उनको अनुमान छ । ‘धेरैजसो नेपाली सेक्युरिटी, हस्पिटल वा केयर होममा काम गर्ने हुँदा त्यहाँ जनशक्ति सधैं खाँचो हुन्छ । त्यसैले अरू समुदायभन्दा कम प्रभावित भएको मेरो बुझाइ छ,’ उनले भने ।

लकडाउनका बेला व्यवसाय टिकाइराख्न र बेरोजगारी बढ्न नदिन बेलायत सरकारले विभिन्न आर्थिक सहायता प्याकेज, भ्याट कटौती, ऋण सहुलियत गरी ४० बिलियन पाउन्डभन्दा बढी उपलब्ध गराए पनि बेरोजगारी दरमा भने कुनै कमी आउन सकेको छैन ।

ओएनएसको तथ्यांकले रोजगारीमा नरहेर वा आम्दानी घटेर सरकारी भत्ताका लागि आवेदन गर्नेको संख्यासमेत उल्लेख्य बढेको देखाएको छ जसमा गत मार्चदेखि जुलाईसम्मको अवधिमा १ सय १७ प्रतिशतले बढेर २७ लाख पुगेको छ । रेस्टुरेन्ट, रिटेलरदेखि अन्य कैयौं व्यवसायले गत जुनमा मात्र १ लाख ४० हजार कामदार निकाल्ने घोषणा गरेका थिए ।

लन्डनमा ८ वटा टेक अवे रेस्टुराँ सञ्चालन गरिरहेका व्यवसायी कुल आचार्य सरकारले साना व्यवसायलाई ठूलो आर्थिक राहत दिए पनि मन्दी सामना गर्नुपरेको बताउँछन् । ‘मेरो आफ्नै व्यवसायमा त असर परिसकेको छैन किनभने टेक अवेभन्दा सिटिङ रेस्टुराँ बढी मारमा परेको अवस्था हो । तर, समग्र नेपाली व्यवसाय संकट उन्मुख हुँदै छन् ।’

वर्तमान परिस्थितिका कारण कर्मचारी केही कटौती गर्नुपरेको उनले बताए । सरकारको ग्रान्ट, भ्याट कटौती, ऋण सहुलियत र ‘इट आउट टु हेल्प आउट’ जस्ता स्किमले साना व्यवसाय झन् नाफामा भएको पनि आचार्यको बुझाइ छ ।

बेलायत सरकारले कोभिड–१९ महामारीका बेला संकटग्रस्त रेस्टुरेन्ट क्षेत्र उकास्ने उद्देश्यले अगस्ट १ देखि ५० प्रतिशत छुट दिने स्किम ‘इट आउट टु हेल्प आउट’ कार्यान्वयनमा ल्याएको छ ।

जसअनुसार अब अगस्ट महिनाभर हरेक साता सोमबारदेखि बुधबारसम्म रेस्टुरेन्ट, पब तथा क्याफेहरूमा ‘इट इन’ गर्दा ग्राहकले ५० प्रतिशत छुट प्राप्त गर्नेछन् । यो स्किमका लागि बेलायतभर ८३ हजारभन्दा बढी रेस्टुरेन्टले नाम दर्ता गरेका छन् । गत ९ अगस्टसम्म १ करोड ५ लाख बढीले उक्त स्किम दाबी गरेको जनाइएको छ ।

यसैबीच, कोभिड–१९ महामारीका कारण बेलायती अर्थतन्त्रमा ११ वर्षपछि पहिलोपटक मन्दी छाएको जनाइएको छ । लकडाउनका कारण बेलायती अर्थतन्त्र दोस्रो चौमासिक अवधिमा २०.४ प्रतिशतले खुम्चिएको हो ।
ओएनएसका अनुसार यस वर्षको पहिलो तीन महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा महिनैपिच्छे २.२ प्रतिशतका दरले अर्थतन्त्र खुम्चिएको छ । जर्मनी, फ्रान्सलगायत युरोपेली मुलुक तथा अमेरिकाको तुलनामा बेलायतको अर्थतन्त्रमा बढी संकुचन देखिएको हो ।

तर लकडाउन खुकुलो पारिएसँगै जुन महिनामा अर्थतन्त्रमा केही सुधार देखिएको जनाइएको छ । ओएनएसका अनुसार जुन महिनामा बेलायती अर्थतन्त्र ८.७ प्रतिशतले वृद्धि भएको छ । बेलायतका पसलहरू खुलेका, कारखानामा उत्पादन हुन थालेको तथा घर निर्माणका कार्यहरू पुनः सुचारु भइसकेका छन् । हाल बन्द रहेका अन्य व्यवसाय खुला भएसँगै अर्थतन्त्रमा थप सुधार आउने अपेक्षा गरिएको छ । कान्तिपुर दैनिकमा  नवीन पोखरेलले खबर लेखेका छन् ।

छापाबाट
छापाबाट

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्