२६ जेठ २०८३, मंगलबार

आलिया भट्टको फिल्म 'सडक २' को ट्रेलरले तोड्यो यूट्युबमा डिसलाइकको कीर्तिमान

साउन २९, २०७७
आलिया भट्टको फिल्म 'सडक २' को ट्रेलरले तोड्यो यूट्युबमा डिसलाइकको कीर्तिमान

बुधवार सार्वजनिक भएको बलिउड फिल्म सडक २ को ट्रेलरले यूट्युबमा अहिलेसम्म ५७ लाख डिसलाइक कमाएको छ । 

यस भिडियोमा लाइक र डिसलाइकको अनुपातमा निकै ठूलो अन्तर छ । ट्रेलरमा ३ लाख १५ हजार मात्र लाइक आएका छन् । 

अनुपातमा हेर्दा सडक २ को ट्रेलर सर्वाधिक डिसलाइक पाउने भिडियो बनेको छ । यसले ९४.७५ प्रतिशत डिसलाइक पाएको छ भने जम्मा ५.२५ प्रतिशत लाइक पाएको छ ।

सडक २ को ट्रेलरले स्विडेनका गेमर प्युडीपाईको भिडियो क्यान दिस भिडियो गेट वान मिलियन डिसलाइक्सको सर्वाधिक​ डिसलाइक अनुपातलाई उछिनेको हो । उक्त भिडियोले ४० लाख ८८ हजार डिसलाइक पाएको छ जुन ९३.८० प्रतिशत डिसलाइक हो । 

संख्याको आधारमा हेर्दा चाहिँ यूट्युबमा सर्वाधिक डिसलाइक कमाउने भिडियो सन् २०१८ को डिसेम्बर ६ मा सार्वजनिक भएको ‘यूट्युब रिवाइन्ड २०१८ : एभ्रिवान कन्ट्रोल्स रिवाइन्ड’ हो । यसले एक करोड ८१ लाखभन्दा बढी डिसलाइक पाएको छ । 

दोस्रो नम्बरमा गायक जस्टिन बीबरको 'बेबी' गीतको भिडियो छ । त्यसले १ करोड १५ लाख ७० हजार डिसलाइक पाएको छ ।

सडक २ को ट्रेलरले यही रफ्तारमा डिसलाइक कमाउने हो भने ‘यूट्युब रिवाइन्ड २०१८ : एभ्रिवान कन्ट्रोल्स रिवाइन्ड’ लाई पनि उछिन्न सक्ने सम्भावना छ । 

बलिउड अभिनेता सुशान्त सिंह राजपूतको निधनपछि चर्किएको नातावाद सम्बन्धी बहसका कारण सडक २ को ट्रेलर यूट्युब प्रयोगकर्ताहरूको कोपभाजनमा परेको हो । सडक २ मा सबै प्रमुख कलाकारहरू र निर्देशक कुनै न कुनै बलिउड सेलेब्रिटीका सन्तान वा नातेदार हुन् । 
 

salt training

कमेन्ट गर्नुहोस्