महामन्त्रीमा सुरक्षित हुन सभापतिकै दाबेदारी

गगन थापा समाजको आम तप्काका लागि सुनिने र देखिने प्रतिपक्ष हुन् । उनी सरकारको मात्रै होइन, आफ्नो पार्टी कांग्रेसमा पनि प्रतिपक्षी भूमिकामा छन् । धेरैले भन्छन्, ‘थापा संसद्मा नभएको भए कांग्रेसको भूमिका अझै खुम्चिन्थ्यो । उनीजस्तै युवाको उपस्थिति पार्टी केन्द्रीय कार्यसमितिमा नभइदिएको भए नेतृत्वको मनमोजी अझै चल्थ्यो ।’

कांग्रेस निकट विश्लेषक पुरञ्जन आचार्यका अनुसार थापा कुनै नेताको फेर समातेर नभई सडकले बनाएका नेता हुन् । ०६२/०६३ को जनआन्दोलन यताका समयमा समाजको मुद्दा बोक्न र मुद्दालाई आम जनतामाझ सञ्चार गर्न सक्ने क्षमता कांग्रेसमा बीपीपछि थापामा आफूले देखेको आचार्य सुनाउँछन् । ‘उनको लोकप्रियतालाई भजाउन सक्ने हो भने पार्टीलाई धेरै माथि ल्याउन सकिन्छ,’ उनले भने, ‘तर कांग्रेसमा त्यस्तो संस्कृति छैन ।’


Advertisement

पार्टीले लोकप्रियता भजाउन नसके पनि आफैंले निर्माण गरेको जगबाट माथि आउन थापाको संघर्ष भने जारी छ । पार्टीभित्रको गुट उपगुट, नेताहरूको सिन्डिकेड र प्रतिनिधिमूलक परम्परागत निर्वाचन प्रणाली छिचोल्दै नेतृत्व सम्हाल्ने भूमिकामा आउन उनीजस्ता नेतालाई ठूलै सकस पर्ने देखिन्छ । जस्तो, १३ औं महाधिवेशनमा पर्‍यो । एकातिर बीपी कोइरालाको विरासत बोकेका शशांक कोइराला थिए, अर्कोतर्फ आफ्नै ससुरा अर्जुननरसिंह केसी ।

पार्टीको मूलधारको प्रतिनिधित्वसमेत कोइराला र केसीकै पक्षमा थियो । सभापति शेरबहादुर देउवा प्यानलमा केसी र वरिष्ठ नेता रामचन्द्र पौडेल प्यानलबाट कोइराला खडा थिए । दुइटै टिमको प्यानलमा ठाउँ नपाएपछि उनी पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षमा उनी जोडिए । प्रतिस्पर्धामा ससुरासमेत जोडिएपछि पारिवारिक सम्बन्धमै तलमाथि होला कि भन्ने भय उनमा थियो । तर, उनी पछि हटेनन् । यसमा उनले समाजसित गरेको वाचा मुख्य कारण थियो । ससुराभन्दाअघि नै उनले महामन्त्रीमा उठ्ने घोषणा गरिसकेका थिए । १३ औं महाधिवेशनमा महामन्त्रीको प्रतिस्पर्धा उनका लागि आफैंमाथिको परीक्षण थियो । ५ सय ८४ मतका साथ उनी तेस्रो स्थानमा रहे ।


Advertisement

शशांक १४ सय १७ मतका साथ विजयी भए । केसीको १ हजार १७ मत थियो ।

पार्टीमा नेतृत्व परिवर्तनको मुद्दा अहिले चलिरहेको छ । देउवा र पौडेलको पुस्ताबाट अब पार्टी चल्दैन भन्ने विषय जोडतोडले उठिरहेको छ । जुन विषय १३ औं महाधिवेशनमा पनि उठेका थिए । ‘१३ औं महाधिवेशनमा हामी १०/१५ जना युवा निरन्तर जम्मा हुन्थ्यौं । नेतृत्वको विषयमा लामो छलफल गर्थ्यौं । युवामा नेतृत्व हस्तान्तरणको कुरा हुन्थ्यो । त्यतिबेला मैले तपाईंहरू हिम्मत गर्नुहोस्, गर्नुहुन्न भने म गर्छु मलाई साथ दिनुहोस् भनेको थिएँ, कसैले नाइँ भन्नुभएन,’ थापाले सम्झिए, ‘तर भोट हाल्ने बेला म एक्लै लखरलखर हिँड्नुपर्‍यो । युवा साथीहरूकै साथ मैले पाइनँ ।’

अहिले पनि उस्तै परिवेश र अवस्थाबाट नेतृत्वमा आउन थापाजस्ता युवाले ठूलै पापड बेल्नुपर्ने विश्लेषक आचार्यको बुझाइ छ । ‘पार्टीको यही प्रतिनिधिमूलक प्रणालीबाट नेतृत्वका आउनका लागि कि त नेताहरूकै फेर समात्नुपर्छ, कि पालो कुरेरै बस्नुपर्छ,’ उनले भने । थापाको आगामी लक्ष्य स्पष्ट छ, १४ औं महाधिवेशनमा महामन्त्री बन्ने र १५ मा सभापति हुने । पार्टीभित्र मुख्य तीन गुट रहेकामा थापा अहिलेसम्म सिटौला समूहमै छन् । १३ औं महाधिवेशनमा स्वतन्त्र ढंगले नेतृत्वमा आउन सम्भव छैन र तेस्रो धारबाट पार लाग्न पनि मुस्किल छ भन्ने देखाएको छ । पार्टी सभापति देउवाले दुई दशकदेखि नै आफ्नो गुटलाई ‘इन्ट्याक्ट’ राखेका छन् । पार्टीभित्रको नेटवर्किङ प्रणालीमा उनी एक्लैको ४० प्रतिशतभन्दा बढी पकड छ ।

इतरपक्षका सबै (वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक, पूर्वमहामन्त्री प्रकाशमान सिंह, सिटौला, शेखर कोइरालासहितको समूह) को संगठनमा करिब ६० प्रतिशत ‘होल्ड’ छ । त्यसमध्ये सिटौला पक्षको करिब ‘१०’ प्रतिशत भएको अनुमान छ । सिटौला पक्षमा जनाधार भएका थापा आफैं हुन् । अहिलेसम्म उनी सिटौला पक्षमा जोडिरहे पनि आगामी महाधिवेशनमा त्यहीँ समूहबाट उम्मेदवार हुने सम्भावना निकै कम छ । कतिपयले उनी सभापति देउवासँगै जोडिए महामन्त्रीको उम्मदेवार बन्ने अनुमानसमेत लगाएका छन् । तर त्यसलाई उनी सत्य मान्दैनन् ।

देउवासँग उनको विगतदेखि केही सैद्धान्तिक र कार्यशैलीगत विमति छन् । ०७४ को आमनिर्वाचनमा पार्टीले नराम्रो पराजय भोगेपछि अग्रभागमा रहेर नेतृत्वको सबैभन्दा बढी आलोचना गर्नेमा उनै थिए । अग्रिम महाधिवेशनको माग राखेरै नेतृत्व परिवर्तन गर्नुपर्छ भन्ने अभियानको उनले नै नेतृत्व गरे । उनीसहित केही युवाले केन्द्रीय कार्यसमितिमा नेतृत्व परिवर्तनसहितका एजेन्डा लिखित रूपमै राखेका थिए । अहिले पनि थापा वर्तमान नेतृत्व र पुस्ताबाट पार्टी चल्दैन भन्ने निष्कर्षमै छन् । यो उनको एजेन्डा पनि हो । ‘समाजबाट उठेका नेतालाई आफ्नो एजेन्डाबाट पछि हट्न निकै ठूलो कठिनाइ हुन्छ, १३ औं महाधिवेशनमा पनि भएको त्यहीँ थियो,’ सिटौला समूहका एक नेताले भने, ‘सकेसम्म संस्थापन इतरपक्षलाई एक ठाउँमा ल्याउने, नसके इतरपक्षकै बलियो टिमबाट महामन्त्रीमा उठ्ने योजना उनले बनाएका छन् ।’

थापा यतिबेला वरिष्ठ नेता पौडेल, महामन्त्री कोइराला, केन्द्रीय सदस्य शेखर कोइराला, पूर्वमहामन्त्री सिंहसँग निरन्तर संवादमा छन् । यी सबैलाई मिलाएर सभापतिको एक मात्रै उम्मेदवार बनाउने चाहना उनमा देखिन्छ । त्यसो हुँदा मात्रै आफूले उठाएको नेतृत्व परिवर्तनको एजेन्डा सफल हुने अनुमान उनको छ । त्यसैले सिटौलालाई समेत इतरसमूहको गोलबन्दमा जोड्ने भूमिकामा उनी अघि बढी रहेका छन । नोजोडिँदासम्म उनी सिटौला पक्षमा रहनेछन् । पार्टीका कतिपय उनका समकालीनहरू समेत उनको बढ्दो लोकप्रियताप्रति ‘डाह’ गर्छन् । उनलाई नेता मान्न बूढापुस्ता मात्रै होइन, केन्द्रीय कार्यसमितिमा रहेका युवा नेता नै तयार देखिँदैनन् । युवा नेताहरूमै एकता नहुँदा उनले पनि गुटको सहाराबाटै नेतृत्वमा पुग्नुपर्ने देखिन्छ । पौडेल र सिटौला पक्षको गठजोड हुन नसके उनले सिटौला समूह छाड्न सक्छन् ।

थापाले भने कुनै गुटभन्दा पनि आगामी निर्वाचनमा कांग्रेसलाई एक नम्बरको पार्टी बनाउने एजेन्डा र कार्यक्रममा आफूले सबैलाई जोड्न चाहेको बताए । ‘अहिलेसम्म मत नहालेका लाखौं युवालाई कांग्रेसमा आकर्षित गर्न सक्नुपर्छ । उनीहरूको नजरमा सबैभन्दा अघि अनुहार नै पर्छ । अनुहार भनेको पार्टीको नेतृत्व पनि हो । अहिले भइरहेको नेतृत्वले आमजनतालाई भरोसा दिलाउन सक्छ भन्ने विश्वास छैन,’ उनले कान्तिपुरसँग भने, ‘अब कांग्रेसलाई नयाँ जीवन दिन सक्छ भन्ने भरोसा चाहिएको छ ।’ उनको प्राथमिकता पहिलो र दोस्रो पुस्ताबाट आफूहरूको पुस्तामा पार्टीको नेतृत्व आउनुपर्छ भन्नेमा छ । त्यो सम्भव नभए एकपटक असफल भइसकेको नेताबाट नेतृत्व हस्तान्तरण हुनुपर्छ भन्नेमा छ ।

पार्टीलाई नयाँ जीवन दिने भरोसा योग्य नेतृत्व आए आफू केन्द्रीय सदस्यका लागि समेत तयार रहेको थापाले बताए । तर, पुरानै नेतृत्वले निरन्तरता पाउने अवस्था खडा भए सभापतिका लागि समेत उम्मेदवारी दिन सक्ने उनको भनाइ छ । ‘परिणामले आशा जगाउन सक्ने अवस्था भएन भने प्रयत्नले पनि आशा जगाउने काम गर्नुपर्छ । त्यो भनेको मेरो सभापतिको उम्मेदवारी नै हो,’ उनले भने, ‘परिणामले आशा दिने अवस्था आयो भने महामन्त्रीको दावा मेरो प्राकृतिक नै हुन्छ । तर त्यस्तो अवस्थामा केन्द्रीय सदस्यका लागि पनि म तयार हुन्छु ।’ महामन्त्रीमा आशा गर्ने ठाउँ भए पनि उनी यसैपटक सभापतिमा आउने सम्भावना भने कम भएको विश्लेषक आचार्य बताउँछन् । ‘पार्टी बडो निर्दयी हुन्छ । त्यहाँ समाजको चाहना र भविष्यसँग कुनै मतलब हुन्न,’ उनले भने, ‘एजेन्डा, विचार र कार्यक्रमले भन्दा गुट, परिवार, गिरोहले काम गर्छ । त्यहाँबाट जितेर आउन फलामको चिउरा चपाउनुपर्छ ।’ कान्तिपुर दैनिकमा कुलचन्द्र न्यौपानेले खबर लेखेका छन् । 

छापाबाट
छापाबाट

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्