

वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनकालागि मंगलबार देशका ३४ जिल्लामा उम्मेदवार मनोनय दर्ताको काम उल्लासमय वातावरणमा सम्पन्न भयो । चुनावमा सहभागी हुने साना ठूला सबै राजनीतिक दलहरुले मनोनयन दर्तालाइ उत्सवको रुपमा लिए । अपवाद बाहेक मेयर, गाउँपालिका प्रमुख, वडाअध्यक्ष जस्ता प्रमुख पदहरुमा महिलाहरुको सक्रियता अपेक्षाकृत देखिएन । प्रमुख वा उपप्रमुख मध्ये एकसिट महिलालाइ भन्ने सबैधानिक व्यवस्थालाइ दलहरुले महिलाको सिट उपमेयर, उपप्रमुख, उपाध्यक्ष जस्ता पदमात्र भएको जसरी अर्थ्याएका छन् ।
महिला उम्मेदवारलाइ सबै दलहरुले पुरुष उम्मेदवारको सहयोगीको रुपमा पद स्थापित गरिदिएका छन् । महिलाप्रति विश्वास गर्न नसकेका कारण यो अवस्था आएको हो वा महिला नेतृहरु प्रमुख चलाउने हैसियतमा पुग्न नसकेकै हुन ? यो विषय अहिले बहसको रुपमा सतहमा आएको छ ।
ठुला दलहरुले समेत महिला नेतृलाइ मेयरको रुपमा अघि नसार्नु राजनीतिक दलले देखाउने आर्दश र पाटीभित्रको यथार्थता अलग कुरा हुन भन्ने प्रमाण हो । नयाँ बैकल्पिक शक्ति बन्ने दावी गरेको विवेकशिल नेपाली पाटीले काठमाडौंको मेयरका लागि युवा पुस्ताकी प्रतिनिधी रन्जु दर्शना अहिले चर्चाको पात्र बनेकी छन् ।
राजधानी शहर काठमाडौं महानगरपालिकाको मेयर बन्ने दृढ संकल्पका साथ अपवादको रुपमा महिला र युवा पुस्ताको प्रतिनिधित्व गर्दै राजनीतिको मैदानमा उदाएकी दर्शना महिला भन्दा पनि उमेरका कारण सबैको चाँसो र चर्चाकी पात्र बन्न पुगेकी छन् । रन्जुसँगै स्वतन्त्र उम्मेदवारको रुपमा चित्रबहादुर केसीकी भतिजी पनि काठमाण्डौको मेयरको स्वतन्त्र उम्मेदवारको रुपमा मैदानमा आएकी छन् । जे होस चर्चाचाँही रन्जुकै बढी भइरहेको छ ।
काठमाडौं जस्तो धेरै जनसख्या भएको र देशकै केन्द्रविन्दु मानिएको शहरको मेयर पदमा महिलाको उम्मेदवारी पर्नु, भर्खर २१ वर्षकी युवतीले राजनीतिप्रति देखाएको सक्रियताले पनि जनचाँसो ह्वातै बढेको छ । उपमेयर, उपप्रमुख, उपाध्यक्ष जस्ता पदमा महिलालाइ सिट सुरक्षित गरिदिएका ठुला दलहरु मेयरमा को उठाउने भन्ने अन्यौलकै बिचमा सकसले नाम टुँगाए । पुरातनवादी सोचलाइ झापड दिन रन्जुले राष्ट्रिय सभागृहबाट उम्मेदवारीको उदघोष गरिन ।
धेरै अनुहार पहिले दोहोरिए कै पर्लान, नयाँ अनुहार परिहाले पनि उमेरले परिपक्क भएकाहरु कै पल्लाभारी होला कि नहोला ? त्यो त परिणामले देखाउने पक्ष हो । सविधानले नै चालिस प्रतिशत महिलाको उपस्थितीलाइ सुरक्षित गरेपछि महिला प्रतिनिधिको सख्या यसपटक पक्कै बढ्ने छ । त्यसमा पनि युवा पुस्ताले राजनीतिप्रति देखाएको चाँसो, सरोकार र सहभागीताले पनि यसपटकको निर्वाचनको रौनकता बेग्लै देखिएको छ ।
भर्खरै खुलेको साझा पार्टीका संयोजक रविन्द्र मिश्रले आफुपनि युवाहरुलाई प्रवर्द्धन गर्नुपर्छ भन्ने पक्षमा रहेको तर काठमाडौंको मेयर भनेको चानचुने जिम्मेवारीको पद नभएको भन्दै रञ्जुलाई उपमेयरका लागि प्रस्ताव गरे । काठमाण्डौको मेयर पदका लागि अनुभवी, सक्षम, इमान्दार र विज्ञ व्यक्ति आवश्यक हुन्छ भन्ने मिश्रको धारणाले साझा पार्टीले समर्थन गरेका मेयरका उम्मेदवार किशोर थापा उपयुक्तः पात्र हुन भन्ने दावीलाइ प्रष्टाएको देखिन्थ्यो । पक्कै पनि राजधानीको मेयर पद चानचुने पद होइन । कम्तिमा पनि अवको वीस वर्षपछिको राम्रो काठमाण्डौको परिकल्पना गरिनुपर्छ । धुलोमान्डु, ढलमान्डु बाट साँच्चिकै रुपान्तरण भएको राजधानी काठमाण्डौको खोजी गरिनुपर्छ । यसको लागि सक्षम नेतृत्व अपरिहार्य मानिन्छ ।
मिश्रले भनेका छन्, विकसित देशहरुमा पनि युवालाई प्रवर्द्धन गर्ने भनिएतापनि राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, मेयर जस्ता पदमा उमेर खाएका परिपक्व मान्छेहरु नै हुन्छन् । यी एकाध पात्र भनेका अपवाद हुन, अपवादलाई सामान्यिकरण गर्न मिल्दैन । युवालाई जिम्मेवारी दिने नाममा २१ वर्षको व्यक्तिलाई थाम्नै नसक्ने भारी बोकाउन हुँदैन । युवा जोश र अनुभव, परिपक्कतालाइ मिलाउने हो भने हामीले खोजेको जस्तै सफा काठमाण्डौ पक्कै बन्नेछ ।
रविन्द्र मिश्रले जतिबेला आन्दोलनमा माइक समातेर भाषण गर्दै हिडेकी रन्जु दर्शनाको फोटोको क्याप्सनमा लेखेका थिए युवालाइ अवसर दिनुपर्छ भनेर यतिबेला किन आफ्नै भनाइलाइ उदाँगो घोषित गरिरहेका छन् ? कतिपयले मिश्रको त्यही स्टाटसलाइ विरोधको हतियार बनाएका छन् । अहिले जागिरबाट रिटायर्ड हुन केही समय बाँकी रहदै आकर्षक तलवभता त्यागेर राजनीतिमा होमिएका मिश्रले युवा पुस्ताकी मेयरकी उम्मेदवार दर्शनालाइ उपमेयरमा प्रस्ताव गर्नु, अहिले अझै बेला भएको छैन भन्नु, एकाद उदाहरण देखाएर अपवादलाइ आंकलन गर्न हुदैन भन्नु कतिको उपयुक्त र व्यवहारिक तर्क हो भन्नेहरु पनि देखिएका छन् ।
मिश्रले साच्चिकै परिवर्तन चाहेका हुन भने युवालाइ अवसर दिनुपर्छ भन्ने मनसाय हो भने रन्जुलाइ मेयरको रुपमा स्विकारेर किशोर थापालाई उपमेयर दिन सकिदैन र ? तर्क, बहस आफ्ना ठाऊँमा जसरी जुन रुपले पनि गर्न सकिन्छ तर केही गर्छु भन्ने संकल्प भएको र गर्ने आँट भएको विवेकी व्यक्ति मेयर बन्नुपर्छ यसमा दुइमत छैन । पात्र भन्दापनि प्रवृति र आचरण प्रमुख हो ।
रन्जुको पक्षमा उभिएका खासगरी युवा पुस्ताको साझा आवाज छ रन्जु मेयर भइन भने हाकिम साब भन्दै बिन्ती बिसाएर उनलाइ लाइन लागेर भेट्नु पर्नेछैन । ए बहिनी भनेर सिधै कार्यकक्षमा भेट्न सकिन्छ । काम झन्झटीलो बन्ने छैन तुरुन्त बिना झन्झट प्रशासनिक कामहरु सम्पन्न गर्न सकिनेछ ।
युवा पुस्ताकी प्रतिनिधी भएकोले दर्शनाबाट धेरै परिवर्तनको अपेक्षा राख्न सकिन्छ । यदि यसो हो भने एकपटक युवालाइ मौका दिन सकिदैन ? मतदाताको मनस्थिती सधैभरी एकैनासको हुँदैन, इतिहास साक्षी छ काठमाडौंमा नानीमैया दाहालले नपत्याउने गरी मैँ हुँ भन्ने राजनीतिज्ञलाइ पछारेकी थिइन ।
रन्जु दोश्रो नानीमैया बन्न के बेर ? राजधानीको अस्तब्यस्ताबाट आजित भएका जनताहरुले पक्कै परिवर्तन चाहेका छन्् । त्यसकै लागि भएपनि नयाँ अनुहारले स्थान पाउँछ कि भन्ने आंकलन गर्न थालिएको हो । रन्जु दर्शना राजधानीकै स्थायी बासिन्दा हुन, औपचारिक शिक्षा हासिल गरेकी छन्, नेपालमा काम छैन, भविष्य छैन भन्दै धमाधम विदेशिएका युवा पुस्तालाइ केही मात्रामा भएपनि आशाको किरण जगाउन, स्वदेशमै हामी युवाले केही गर्नुपर्छ भन्ने विचार धारा बोकेकी छोरी हुन ।
किशोर थापा सक्षम, अनुभवी र इमानदार पुर्व प्रशासक हुन । जसले जितेपनि नयाँ अनुहारले प्रधानता पाओस भन्ने सदिक्षा छ । रन्जुले जित्दा युवाको प्रतिनिधित्व हुन्छ, किशोर थापाले जित्दा इमान्दारीता, अनुभव र संकल्पले जित्छ । अन्य दलका प्रतिनिधिले जितेभने ‘नयाँ बोतलमा पुरानो रक्सी’को स्वाद मिसिन्छ फरक यतिमात्र हो । आम मतदाताले सुझबुझपुर्ण निर्णय गर्नसक्नुपर्छ, नयाँ अनुहार फेर्ने कि यसपटक पनि पुरानै हेर्ने त ? यो जिम्मा मतदाताकै हातमा छ ।