२६ जेठ २०८३, मंगलबार

कक्षा ११ मा नयाँ व्यवस्था, सङ्काय छुट्याउन नपाइने

भदौ ७, २०७७
कक्षा ११ मा नयाँ व्यवस्था, सङ्काय छुट्याउन नपाइने
तस्वीर सौजन्य : गोरखापत्र दैनिक

अब विद्यालयले कक्षा–११ मा विद्यार्थी भर्ना गराउँदा सङ्कायका आधारमा भर्ना लिन नपाइने भएको छ । विगतको जस्तो विज्ञान, शिक्षा शास्त्र, मानविकी र व्यवस्थापन सङ्कायका रूपमा यस पटकबाट भर्ना लिन नपाइने भएको हो ।

पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक गणेशप्रसाद भट्टराईले यस पटकबाट विद्यालयले विगत जस्तो सङ्काय छुट्याएर विद्यार्थी भर्ना गर्न नपाइने जानकारी दिए। उनले अब एकलपथीय हिसाबले मात्रै विद्यार्थी भर्ना गर्न पाइने जानकारी दिए ।

यसमा भर्ना हुँदा विद्यार्थीलाई ऐच्छिक विषय छनोट गर्न दिइन्छ तर सङ्कायका आधारमा त्यसलाई मान्यता दिइँदैन । यसपटक कक्षा–११ मा तीनवटा अनिवार्य विषय र तीनवटा समूहबाट एक÷एक विषय ऐच्छिक गरी छवटा विषय अध्यापन गराइन्छ ।

विद्यार्थीले चाहेमा सातौँ विषयका रूपमा पनि अध्ययन गर्न पाउने व्यवस्था छ । कक्षा–११ पनि अब विद्यालय मातहतमै सञ्चालन हुने भएकाले विद्यार्थी भर्ना प्रक्रिया कक्षा–९ र १० को जस्तै गरी लिइने भएको हो । एकलपथीय प्रणालीमा सङ्काय छुट्याएर अब भर्ना हुुँदैन र पठनपाठन पनि हुँदैन ।

साथै विद्यार्थीलाई प्रमाणपत्र दिँदा पनि सङ्कायका आधारमा नदिइने भएको छ । कक्षागत उत्तीर्ण भनेर मात्र प्रमाणपत्र दिइन्छ । विद्यालय तहमा गएपछि अब कक्षा १२ को भर्ना पनि यसैगरी हुनेछ । यसअघि उच्च माध्यमिक शिक्षा परिषद्को मातहतमा कक्षा–११ र १२ मा विद्यार्थी भर्ना तथा प्रमाणपत्र जारी गर्दा सङ्कायका आधारमा गर्ने गरिएको थियो ।

हतारमा निर्णय
राजधानीको विश्व निकेतन माध्यमिक विद्यालयका प्रधानाध्यापक हेरम्ब कँडेलले विद्यार्थी, शिक्षक तथा अभिभावकलाई बुझाएर मात्रै यस खालको नीतिगत निर्णय गर्नुपर्नेमा त्यसमा हतार गरिएको बताए । यसबाट आफूहरू पनि अन्योलमा परेको उनी बताउँछन् ।

सङ्काय नमाने पनि विद्यालयले आन्तरिक रूपमा त्यसको अभ्यास गर्ने उहाँको भनाइ छ । विद्यार्थीलाई निश्चित समूहमा विभाजन गराएर नपढाएको अवस्थामा उच्च शिक्षामा विद्यार्थीको शैक्षिक यात्रा अन्योलमा पर्ने उहाँले बताउनुभयो । बेलायतस्थित क्याम्ब्रिज प्रणालीको ‘ए’ लेभलमा भने यस खालको अभ्यास लामो समयदेखि गरिँदै आएको छ ।

नेपालमा पनि त्यस अनुसारको पठनपाठन हुँदै आएको छ तर कक्षा–११ को हकमा यो नौलो भएको जनाइएको छ । शिक्षकको व्यवस्थापन गर्न विद्यालयलाई समस्या हुने भएकाले निश्चित समूहमा विद्यार्थीलाई विभाजन गराएर अध्यापन गराउन विद्यालय बाध्य हुने उनको भनाइ छ ।  गोरखापत्र दैनिकमा शेषकान्त पण्डितले खबर लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्