
कोरोना संक्रमण रोकथाम तथा जोखिम न्यूनीकरण गर्न बुधबार मध्यरातिदेखि जारी गरिएको निषेधाज्ञाको अवधि थप गर्ने तयारी भएको छ । निर्णय लिन उपत्यकास्थित काठमाडौं, भक्तपुर र ललितपुर प्रशासनको संयुक्त बैठक मंगलबार बस्दै छ ।
बैठकले १० गतेसम्म जारी गरिएको निषेधाज्ञाको अवधि बढाउनेबारे निर्णय गर्नेछ । त्यसअघि प्रमुख जिल्ला अधिकारी नेतृत्वको जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) र उपत्यकाभित्रका स्थानीय तहसँग पनि यसबारे संयुक्त रूपमा छलफल गरिने काठमाडौंका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) जनकराज दाहालले बताए । सोमबार उपत्यका नगरपालिका फोरमले पनि भदौ १५ गतेसम्म स्थानीय तहबाट प्रदान गरिने अत्यावश्यकबाहेकका सबै सेवा स्थगनको निर्णय गरेको छ ।
फोरमले निषेधाज्ञा भदौ १५ गतेसम्म बढाउन पनि सिफारिस गरेको छ । फोरमको सिफारिस मंगलबार प्रशासनसँगको संयुक्त बैठकमा पेस गरिनेछ । सोमबार नै भक्तपुर र ललितपुर जिल्ला सुरक्षा समिति र डीसीसीएमसी बैठकले निषेधाज्ञाको अवधि बढाउने निर्णय गरेका छन् । दुवै प्रशासनले आ–आफ्ना निर्णय मंगलबार बस्ने संयुक्त बैठकमा पेस गर्नेछन् । संक्रमण रोकथाम तथा नियन्त्रणकै लागि थप निर्णय लिन जिल्ला प्रशासन कार्यालय काठमाडौंमा तीन जिल्लाको संयुक्त सुरक्षा र डीसीसीएमसीको बैठक डाकिएको काठमाडौंका प्रजिअ दाहालले बताए ।
ललितपुरका प्रजिअ नारायणप्रसाद भट्टले निषेधाज्ञाले जोखिम बढ्न नदिएको भन्ने प्रतिक्रिया आएको बताए । भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले निषेधाज्ञा एक साता बढाउने निर्णय भएको र यसलाई काठमाडौं र ललितपुर प्रशासनसहितको संयुक्त बैठकमा पेस गरिने बताइन् । ‘चहलपहल पूर्णरूपमा नियन्त्रण गर्न सकिएको छैन, मर्निङवाक र इभिनिङवाकका नाममा जथाभावी आउजाउ भइरहेको छ, यसबारे आगामी संयुक्त बैठकले अझै कडाइ हुने गरी निर्णय लिन्छ ।’
मन्दिर/पाटीपौवा र खुला स्थानमा गएर भीडभाड गर्ने प्रवृत्तिले पनि जोखिम बढाएको उनले बताइन् । ‘मर्निङवाकमा निस्किएको मान्छे मन्दिर छेउमा गएर घण्टी बजाउँछ, अर्को मान्छे आएर त्यही घण्टी बजाउँछ, दायाँबायाँ हेर्दै चुरोट पिउँछ, बाहिर सटर बन्द गरेर भित्रबाट खाजा र भट्टी पसल चल्दा रहेछन्,’ उनले भनिन्, ‘संक्रमणमा किन बल प्रयोग गर्नू भनेर हामीले लचकता अपनाएका हौं, अबको निषेधाज्ञामा प्रशासनले त्यस्तो लचकता सहँदैन, निर्मम रूपमा प्रस्तुत हुन्छ ।’ काठमाडौंका प्रजिअ दाहालले ‘मर्निङवाक’ मा ननिस्कन बारम्बार आग्रह गर्दा पनि अटेर हुन थालेकोले बल प्रयोग नै गर्न प्रहरीलाई निर्देशन दिइएको बताए । ‘मर्निङवाक, इभिनिङवाक लगायतबाट हुने आउजाउले आफू त जोखिममा परे नै, अरूलाई पनि संक्रमणको दलदलमा फसाउने खतरा भयो,’ उनले भने । कान्तिपुर दैनिकमा खबर छ ।