दुहबी नाकामा तस्करीका बादशाह महासेठ : आमादेखिको विरासत, दुवै देशको नागरिकता लिएर धन्दा !

अजय अनुरागी
अजय अनुरागी

अजय अनुरागी लोकान्तरका लागि खोज, राजनीति र समसामयिक विषयवस्तुमा कलम चलाउँछन् ।

स्थान : नेपाल–भारत अन्तर्राष्ट्रिय सीमा ।

धनुषा जिल्लाको विदेह नगरपालिका वडा नम्बर २ स्थित दुहबी नाका ।


Advertisement

तस्वीरमा देखिएको जस्तै सीमा नाका प्रवेश गर्ने नाकामा नेपालको सशस्त्र प्रहरी बलको इकाइ । 


Advertisement

सशस्त्र प्रहरी नायब निरीक्षकको कमाण्डमा खटिएको टोली त्यहाँ दिनरात तैनाथ हुन्छ । वारि नेपालको भू–भागतर्फ बाँसको ढाँटले सीमा आवागमनमा प्रतिबन्ध लगाइएको छ ।

बीचमा दशगजा (नो म्यान्स ल्यान्ड) छ । पारि पनि भरतीय सीमा सुरक्षा बल (एसएसबी)का जवानहरू तैनाथ छन् । उता पनि बाँसको ढाँटले आवागमनमा रोक लगाइएको छ । 

वारि पनि केही पसल, पारि पनि केही पसल छन् । वारिको गाउँको नाम दुहबी, पारिको गाउँको पनि नाम दुहबी । नेपाल र भारततर्फ सीमा नाका सिलबन्द छ ।

कुनै पनि नागरिकको आवागमनमा पूर्णरूपमा प्रतिबन्ध छ । नेपालमा कोरोना संक्रमणको महामारीलाई रोकथाम तथा नियन्त्रणका लागि चैत्र ११ गतेदेखि नै अन्तर्राष्ट्रिय नाका सिल गरिएको छ । 

झट्ट हेर्दा नाकाको मुख्य सडकमा ढाँट लागेका कारण मानिसहरूको आवागमनमा रोक लागेको जस्तो देखिन्छ तर सत्य भने त्यस्तो छैन ।

सहायक मार्ग तथा चोर बाटोबाट दुवै देशका मानिसहरूको आवागमन कुनै दिन पनि रोकिएन । मानिसको आवागमन त के, लकडाउन तथा सिलबन्दी मौकामा तस्करी झनै मौलाएको छ ।

उक्त नाकामा दुवैतर्फ सुरक्षाकर्मी तैनाथ भएपनि नाकामा तस्करकै शासन चल्छ । राजीव महासेठ नाम गरेका व्यक्ति दुहबी नाकामा तस्करका ‘बादशाह’ हुन् । अवैध तस्करीको दुनियाँका नाइके हुन्, उनी । 

उक्त नकामा नेपालतर्फ वा भारततर्फ जुनसुकै सुरक्षाकर्मी तैनाथ भएपनि उनको कारोवारलाई कुनै असर गर्दैन । जनपथ प्रहरीदेखि सशस्त्र प्रहरीमा जुनसुकै एसपी आएपनि उनको अवैध धन्दामा भने कुनै असर पर्दैन । यहाँसम्म कि प्रदेश प्रहरी कार्यालयको नेतृत्व गर्ने डीआईजी नै परिवर्तन भएपनि उनको तस्करी साम्राज्यमा सिन्कोसम्म हल्लिन्न ।

वारिपारि नै उनको पसल छ । नेपालको पनि नागरिकता प्रमाणपत्र प्राप्त गरेर उनले नेपालको दुहबी नाकानजिक महल ठ्ड्याएर व्यापार गर्दै अएका छन् । जनकपुरमा समेत उनले केही कित्ता जग्गा जोडेका छन् ।

तस्करीमा उनलाई पारिवारिक विरासत कै साथ छ । तस्करी जगतमा उनको भन्दा ठूलो नाम उनकी आमाको छ । ‘चाची’को नामले उनी तस्करीको दुनियामा राजीवभन्दा कुख्यात छिन् ।

‘सामान लग्ने बेला बाटोमा चाचीको कुपन छ भने कुनै पनि प्रहरीले सामानलाई रोक्दैन,’ तस्करीमा संलग्न एक व्यक्तिले पहिचान नखुलाउने शर्तमा भने, ‘चाचीको नामले सबै प्रहरीले सजिलै सामान लग्न र ल्याउन दिन्छन् ।’

चाची यो तस्करीको दुनियामा पुरानो खेलाडी रहेको उनले बताए । आमाको यो साम्राज्यलाई अहिले छोरा राजीवले निरन्तरता दिँदै आएका छन्, अझ भनौं थप फैलाएका छन् ।

नेपालको सामान भारत र भारतको सामान नेपाल पठाउने यी आमा र छोराको मुख्य धन्दा हो । भन्सारमा अवैध मालसामान ओसारपसार गर्ने उनीहरूको मुख्य पेशा हो ।

राजीव महासेठ

इलाकाका चौकीदेखि माथिसम्म सेटिङ मिलएर मिलाएर उनीहरूले यस्तो धन्दा चलाउँदै आएका छन् । प्रहरी प्रशासनदेखि स्थानीय तहका जनप्रतिनिधिसम्म लाइन मिलाएर सेटिङगमा नै एकछत्र उक्त धन्दामा राज गर्दै आएका छन् । 

बेलाबेला नेपालस्थित उनको घर र पसलमा छापामारी हुने गरेको छ । जिल्लामा नयाँ एसपी, प्रदेशमा डीआईजी सरुवा भएर आयो कि उनको पसल, घर तथा गोदाममा छापामारी हुन्छ ।

सशस्त्र प्रहरीको प्रमुखदेखि भन्सार कार्यालय प्रमुख समेत सरुवा भएर आएपछि उनको गोदाम र पसलमा छापा मारेर आफ्नो प्रभाव देखाउने नाटक गर्छन् ।

कुनै बेला सामान बरामद पनि हुन्छ, धेरैजसो बेला सामान बरामद नै हुँदैन ।

नयाँ सुरक्षाकर्मी आएको बेला होस् वा प्रमुख जिल्ला अधिकारी आएको बेला, छापामारीको नाटक गर्ने र फेरि सेटिङ मिलेपछि धन्दा शुरू भइहाल्ने स्थानीयको आरोप छ ।

‘यो सबै कुरा दाम बढाउनका लागि हुन्छ, दाम बढ्छ, लाइन मिल्छ र फेरि धन्दा चलिरहेकै हुन्छ,’ तस्करीमा संलग्न ती व्यक्तिले भने, ‘बेलाबेला अलिअलि हाम्रो सामान पनि नियन्त्रणमा लिन्छन्, तर त्यो राजस्व असूल गरिएको तथा सामानहरू बरामद गरिएको भनेर देखाउनका लागि मात्रै हुन्छ ।’

सर्वसाधारण नागरिक तथा स–साना व्यापारीको सामान बरामद गरेर राजस्व असुलेको देखाउने गरिएको उनले बताए । 

भदौ १२ गते जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रको कमाण्डमा गएको ११ जना प्रहरीको टोलीले दुहबी नाकामा महासेठको घरमा छापा मार्‍यो । उसो त जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेत र जिल्ला प्रशासन कार्यालय धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी आफैं पनि पुगेका थिए । तर, उनीहरू नाकामा नगएर दुहबीको सीमा प्रहरी चौकीमा बसेका थिए ।

 ‘अवैध सामान मिनी ट्रकमा ल्याएर महासेठले आफ्नो गोदाममा भण्डारण गरेर राखेको सुराकीका आधारमा प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय धनुषाको संयुक्त टोली पुगेर तस्कर महासेठको घर तथा पसलमा छापा मारेका थियौं,’ डीएसपी मिश्रले भने, ‘शुरूमा छापामारी गर्न अवरोध गरे पनि हामीले छापा हानेका थियौं, तर त्यहाँ सुराक पाएअनुसार समान बरामद भएन ।’ 

‘त्यसपछि उनको छेउमै रहेको अर्को व्यक्तिको घरमा छापामारी गर्न लाग्दा भारत तर्फको गाउँबाट ५ सय जति मानिसहरू भेला भएर हामीलाई ढुंगामुढा गर्न थाले । हामी शुरूमा ११ जना मात्र थियौं, तर उनीहरू करीब ५ सय जतिको संख्यामा थिए,’ मिश्रले लोकान्तरसँग भने, ‘हामीले एक राउण्ड हवाई फायर गर्‍यौं, अनि तत्कालै नजिकको प्रहरी चौकीबाट थप मद्दत झिकाएर ब्याक भएका थियौं ।’

भारततर्फका एसएसबीहरूको पनि भूमिका शंकास्पद र उनीहरूले नै ती व्यक्तिहरूलाई उकासेर ढुंगामुढा गरएको हुनसक्ने आशंका मिश्रले व्यक्त गरे ।

यता फायरिङ भएपछि गाउँका मानिसहरू आएर ढुंगामुढा गरे पनि त्यसमा आफ्नो कुनै संलग्नता नरहेको महासेठले प्रतिक्रिया दिए । ‘छापामारी गर्दा पनि एउटा मापदण्ड त हुनुपर्‍यो, घरमा आइमाइ समेत हुन्छन् र प्रहरी प्रशासन पटक–पटक जबरजस्ती रातिको समयमा घरमा घुस्ने काम गर्ने हुनाले स्थानीयहरूले प्रतिकार गर्ने गरेका छन्,’ महासेठले भने, ‘मैले त आफ्नो घरको साँचो नै प्रहरीलाई दिने गरेको छु, तर कुनै पटक पनि सामान बरामद हुँदैन ।’

उक्त तस्करी नियन्त्रण गर्ने प्रमुख दायित्व भनेको बिदेह नगरपालिका वडा नम्बर १ स्थित महिनाथपुरको सशस्त्र प्रहरी बलको हो । त्यहाँ सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षकको कमाण्डमा बोर्डर आउट पोस्ट (बीओपी) नै स्थापना गरिएको छ । नेपाल प्रहरीले छापा मारेको दिन प्रहरी निरीक्षक दिलेन्द्र खत्री भने झिँझामा गएको बताएका थिए ।

‘फायरिङ भएपछि मात्र त्यहाँ कार्यरत रहेका हाम्रा सईसाबको युनिटले बुझेर मलाई खबर गरेका थिए,’ खत्रीले भने, ‘म यहाँ इञ्चार्ज भएर आएको ७ दिन मात्र भएको छ, को तस्कर हो भनेर मैले अहिलेसम्म मान्छे नै चिनेको छैन ।’
किसानहरू अहिले रासायनिक मालखाद किन्नका लागि उता जाने गर्छन्, १ किलो चिनीदेखि सामान्य किराना आइटमहरू किन्न जाने गरेका छन् ।

यहाँ नेपाली नागरिकहरूको बाजार भनेकै पारिको बाजार भएका कारण स्थानीयहरू सामान्य किनमेल गर्न जाने गरेको भए पनि तस्करी नै भने नभएको खत्रीले बताए ।

ठीक १ वर्षअघि जनकपुर भन्सार कार्यालयका कर्मचारीहरूले पनि महासेठकै घरमा छापामारी गर्न जाँदा सयौंको संख्यामा भारतीय नागरिकहरू जम्मा भएर भन्सारका कर्मचारीहरूलाई ढुंगामुढा गरेर घाइते बनाएका थिए ।

२०७६ साल भदौ २८ गते भन्सारका कर्मचारी जाँदा उनीहरूले गरेको ढुंगामुढाबाट भन्सारका कर्मचारीहरू नीरबहादुर कटुवाल, मोहन थापा, रामबहादुर कापर, अमर प्रधान क्षेत्री समेत घाइते भएका थिए ।

‘घाइते कर्मचारीहरू जसोतसो ज्यान बचाएर जनकपुर आई प्रादेशिक अस्पताल जनकपुरमा उपचार समेत गराएका थिए,’ भन्सार कार्यालयका प्रमुख रामेश्वर कुमार मिश्रले लोकान्तरसँग भने, ‘भन्सारका कर्मचारीमाथि भएको आक्रमणको घटनाका सन्दर्भमा मेडिकल रिपोर्ट समेत पठाएर मुचुल्का उठाएर छानबिन गरी दोषीलाई कारवाही गर्न मौखिक तथा लिखित रूपमा नै जिल्ला प्रहरी कार्यालय धनुषालाई पत्र लेखेका थियौं । तर, घटनाको १ वर्ष बितिसकेपनि हालसम्म तस्कर महासेठलाई प्रहरीले कुनै कारवाही गरेको छैन ।

प्रहरीसँग सामान्य भनाभन भएपनि आम नागरिकलाई तत्काल नै समातेर अभद्र व्यवहारसहित विभिन्न मुद्दा दर्ता गरेर कानूनी कारवाही अगाडि बढाउने गरिन्छ, तर नाकामा पटक–पटक प्रहरी र भन्सारका कर्मचारीमाथि नै ढुंगामुढा र आक्रमण गर्दा समेत ती तस्कर तथा तस्करका संगठित समूहलाई प्रहरीले पक्राउ गरेर कारवाही गर्ने गरेको छैन ।

प्रहरी नै मासिक असुलीमा लागेकाले पक्राउ गरेर कारवाही गर्ने नैतिक बल देखाउन नसकेको स्थानीयको आरोप छ । तर प्रहरी भने यसलाई स्वीकार्दैन।

‘तस्कर महासेठसहितको समूहलाई के कस्तो कारवाही गर्ने भनेर अब हामीले छलफल गर्दै अगाडि बढ्ने छौं,’ डीएसपी मिश्रले बताए ।

यता महासेठ भने ५ वर्षअघि धनुषाको जटही नाकाबाट भन्सार तिरेर नै कपडाको आयात निर्यात गर्ने गरेको तर पछि आएर आफूले दुहबी नाकामा रक्सी पसल तथा अन्य व्यापार गरेका कारण प्रहरीदेखि भन्सारसम्मले पटक–पटक आफूलाई दुःख दिने गरेको उनी बताउँछन् ।

आफू नेपाली नागरिक भएको तथा नेपालको कानून अनुसार प्यान कार्ड तथा भ्याट कार्ड बनाएर कारोबार गरेपनि प्रहरीले बेलाबेला दुःख दिने गरेको उनको भनाइ छ । जनकपुरमा समेत जग्गा किनेर घर बनाएर आफ्नो छोराछोरीलाई त्यहीँ राख्ने गरेको उनले बताए ।

‘म नेपाली नागरिक भएर नेपालमा नै व्यापार गर्दै आएको तथा मेरा पूर्वज तथा परिवारका सदस्यहरू नाकापारि ठीक सामुन्ने घर बनाएर व्यापार गर्दै आएका छन्,’ महासेठले भने, ‘यो आजदेखि होईन, धेरै वर्षदेखि बोर्डरमा त्यसैगरी चल्दै आएको छ ।’

उनले यस्तो सफाइ दिएपनि पारिपट्टिको घर र पसल पनि उनी र उनकी आमा भएर हेर्दै आएका छन् ।

महासेठसँग नेपाल र भारत दुवै देशको दोहोरो नागरिक रहेको बिदेह नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष श्रवण कुशियैत यादवले पनि स्वीकार गरे । ‘हामी निर्वाचित भएर आउनुभन्दा भन्दा धेरै पहिले नै उनीहरूले नेपाली नागरिकताको प्रमाण पत्र लिएर घर जग्गा किन्ने तथा व्यापार व्यवसाय गर्दै आएका छन्,’ उनले भने, ‘हामीहरू निर्वाचित भएर आएदेखि कुनै पनि भारतीय नागरिकलाई नागरिकताका लागि सिफारिस गरेका छैनौं ।’

स्थानीय भने जनप्रतिनिधि पनि तस्करसँग मिलेको आरोप लगाउँछन् । तर, वडाध्यक्ष कुशियैतले उक्त आरोपलाई ठाडै अस्वीकार गरे ।

महासेठ मात्र होइन, उक्त नाकामा व्यापार गर्ने प्रायःजसो सबै भारतीय नागरिक नै भएपनि नेपालको समेत नागरिकता लिएर जग्गा किनेर नाकाको दुवैतर्फ व्यापार गर्ने तथा तस्करीको काम गर्दै आएका छन् ।

नाका प्रवेश गर्ने मुख्यद्वारमै राजेशकुमार साहको कस्मेटिक तथा विवाहका सामान पाइने पसल छ । उनले पनि आफूसँग नेपाली नागरिकताको प्रमाणपत्र बोकेका छन् । २० वर्षअघि पीसीओ पसलबाट शुरू गरेका उनी अहिले कस्मेटिक सामानको तस्करी गर्ने मुख्य तस्करको रूपमा कुख्यात छन् । उनको पनि वारिपारि नै पसल छ ।

धनुषाको प्रायः जसो बोर्डरस्थित नाकामा महासेठ र साहजस्तै दुवैतर्फको दोहोरो नागरिकता लिएका व्यक्तिहरू नै तस्करीको काम गर्दै आएका छन् । दुवै देशको नागरिकता भएको तथा वारि र पारि समेत घर तथा पसल थापेको हुनाले पारिको सामान वारिको पसलमा र वारिको सामान पारिको पसल तथा गोदाममा भण्डारण गरेर राख्ने गरेका हुन्छन् । ​सेटिङ मिलाएर नै कारोबार गरिने हुनाले कसैलाई पनि सम्बन्धित निकायले कारवाही गरेको हुँदैन ।

‘दिनमा साइकलमा साना व्यापारी तथा रातमा मिनी ट्रकदेखि ठूलो ट्रकसम्ममा सामानहरू ओसारपसार हुने गर्छ,’ दुहबीका एक स्थानीयले भने, ‘ तलदेखि माथिसम्म सेटिङ मिलाएर काम गर्नेहरूले जन प्रतिनिधिहरूलाई समेत मिलाएका हुन्छन् ।’

स्थानीयले विरोध गर्‍यो भने उल्टै कुनै न कुनै मुद्दामा फसाइदिने कारण स्थानीयले खुलेर विरोध समेत गर्न नसक्ने उनले बताए ।

हेर्नुहोस्, थप तस्वीर :

अजय अनुरागी
अजय अनुरागी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्