कात्तिक ३०, २०८०
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
भदौ २२, २०७७
मैले सम्मान गर्ने नेपाली कम्युनिस्ट अगुवामध्ये तपाईंको नाम पनि आउँछ । देश र जनताको परिवर्तनका निम्ति तपाईंले गरेको संघर्ष मैले जति नै बयान गरे पनि अपूरो हुन्छ र मेरो वशको कुरा पनि हो जस्तो लाग्दैन ।
त्याग र बलिदानको कुरा सायद तपाईं जति अरु कसैलाई पनि थाहा छैन होला, त्यसैले सिधै विषय प्रवेश गर्ने अनुमति चाहन्छु ।
सम्माननीय प्रधानमन्त्रीज्यू,
झण्डै ६ महिना अघिदेखि देश कोरोना कहरमा बिरामी भएको छ । कोरोना ग्राफ उकालो लागेको लाग्यै छ । उद्योग, कलकारखाना, शैक्षिक संस्था, होटल तथा यातायात सबै बन्द छन् । लाखौं बालबालिका शिक्षा पाउनबाट वञ्चित छन् ।
बन्दाबन्दीले लगभग सबै क्षेत्रको स्थिति कहालीलाग्दो अवस्थामा पुगेको कुरा सर्वविदितै छ । देशको आर्थिक अवस्था जर्जर बन्दै गएको छ । जनता घरमै बन्दी भएर बस्नुपर्दा दिनचर्या साह्रै कष्टकर बनेको छ । हुनेखानेहरू त जसोतसो जोहो गरेर गुजारा चलाउँदै होलान् । तर यो देशमा भुइँमान्छेको दिनचर्या विकराल बन्दैछ ।
भलै भोकले कोही मरेको खबर सुनिएको छैन । तर अभावले मान्छेलाई भित्रभित्रै रित्याउँदै लगेको छ । म आफैं सहभागी भएका विभिन्न आन्दोलनमा फ्युडियालिजम, क्यपिटालिजम, नेपोटिजम र फेवोरोटिजमका कुनै पनि अवशेष बाँकी रहँदैनन् र राखिँदैन भनियो । देश विकासको मूल शत्रु भ्रष्टाचार जरैदेखि उखेलेर फाल्ने कुरा त कति हो कति कर्णप्रिय लाग्थ्यो । धेरै नेपाली आमाका छोराछोरीले आफ्नो सहादतको पर्वाह सायद यिनैका निम्ति गरेनन् ।
देशमा ठूलाठूला आन्दोलन सुशासन र आमुल परिवर्तनका निम्ति भए । राजतन्त्रको अन्त्य भयो, गणतन्त्र आयो । हामी आमनेपाली जनता निकै खुशी भइयो । झन् भुइँमान्छेको त खुशीले भूइँमा खुट्टा रहेनन् । देशमा रहेको असमानता हट्ने भयो सबैलाई समानता र समावेशी बनाइने भयो भन्दै खुशीले गद्गद् भई बसें । हामीजस्ता आमजनता आशावादी हुँदै देशमा भएको परिवर्तनको आत्मासात गरियो ।
भुइँमान्छेका पनि दिन धपक्कै बल्ने भए, दिनचर्या सहज हुने भयो २ छाक टार्न अब समस्या नपर्ने भयो भन्दै बसियो । सायद जनताले नेकपालाई यसैकारण सत्तारोहरण गराए । भोकानांगा गरीब जनता सबैले साथ दिए ।
म जस्ता धेरै जनताले भोट हालेको सुशासन, समानता, र समृद्धिको सपना देखाउने वामपन्थीको सरकार त्यो पनि झण्डै दुईतिहाइको बहुमतले अहिले सत्तामा छ । सम्माननीय प्रधानमन्त्री केपी शर्मा वलीले बागडोर सम्हाल्नुभएको हेर्दाहेर्दै साढे २ वर्ष बितिसकेछ । तपाईंले भारतले लगाएको नाकाबन्दी ताका देखाउनुभएको हिम्मतको सबैले खुलेर प्रशंसा गरेको सुन्दा तपाईं पनि म जस्तै पुलकित हुनुहुन्छ होला हगि ?
झन् भारतले अतिक्रमण गरेको नेपाली भूभाग समेटेर सार्वजनिक गरिएको नक्साले त हामी सबै नेपालीको कद झन् उचो बनाएको छ । तपाईंका राम्रा कामको इतिहासले उच्च मूल्यांकन गर्नुपर्छ र गर्ने पनि छ । तर अहिले देश निकै गम्भीर मोडमा छ ।
सम्माननीय प्रधानमन्त्रीज्यू,
तपाईंलाई भोट हाल्ने आम मान्छेको अहिलेको अवस्था तपाईंलाई जगजाहेर नै होला । दैनिक ज्यालादारी गरेर खाने हजारौं मजदुरहरू एकछाक खानलाई पानी र घाम नभनी खुलामञ्चमा लामबद्ध भएर बसेको देख्दा तपाईंलाई पनि मलाई जस्तै च्वास्स मन पोल्छ होला हगि ?
यो त एउटा प्रतिनिधि घटना हो । एकपटक सोच्नुस् त कति अप्ठ्यारो परेको छ होला नेपाल र नेपाली जनतालाई । मेरो त मन मात्रै पोल्ने हो मैले हेरेर विचरा भन्नुबाहेक अरु केही गर्न सक्दिनँ तर तपाईं त देशको प्रधानमन्त्री धेरै कुरा गर्न सक्ने हैसियतमा हुनुहुन्छ ।
सम्माननीय प्रधानमन्त्रीज्यू,
सुन्छु देशमा भ्रष्टाचार र दण्डहीनता मौलायो रे ! तपाईं सत्ता मोहले गर्दा होला आत्मरतिमा रमाउनु हुन्छ रे ! सीमित आसेपासेबाहेक अरुलाई त चिन्नु पनि हुन्न रे ! तपाईं हठी हुनुभयो रे ! अरुको कुरा सुन्नु नै हुन्न रे ! आफ्नै पार्टीमा विधि र पद्धतिको खिलाफ जानुहुन्छ रे !
तपाईंको धपक्कै बलेको अनुहारले तपाईंमा एपोलोको जस्तो कुटिलता र विवेकले भरिएको पूर्ण मानवको झल्को दिन्छ । तपाईं नार्सिसस जस्तो आत्मरतिमा रमाउने मान्छे कदाचित हैन आम नेपालीलाई थाहा छ । तपाईं जस्तो त्यागी देशप्रेमी जनमतको कदर गर्ने मान्छे यसो गर्नुहुन्छ, मलाई यो कुराको कुनै विश्वास नै लाग्दैन । सायद तपाईंलाई मन नपराउने जत्थाले तपाईंको बढ्दै गरेको उचाइको मानमर्दन गर्न खोजेका होलान् । मेरो मनले भन्छ, तपाईंलाई लागेका आरोपहरू सबै मिथ्या हुन् । म किमार्थ यी आरोपलाई तपाईंले जस्तै स्वीकार गर्न सक्दिनँ । किनकि म पनि तपाईंजस्तै असत्य कुरा मन पराउँदिनँ ।
राजनीति मेरो पेशा होइन । तर म एक सचेत नेपाली नागरिक हुँ । देशको प्रगति हुँदा मेरो पनि प्रगति हुन्छ भन्ने सोच बोकेको एक प्रगतिशील आम नागरिक । समावेशिता, समन्यायिकता, दलित, महिला, पिछडा वर्ग सबैको समुल उन्नति हुने वैचारिक धरातल मेरो नसा–नसामा दौडिन्छ ।
सम्माननीय प्रधानमन्त्रीज्यू,
आमनेपाली जनता वैचारिक विचलन नभएको एउटा सिंगो नेतृत्वले देश चलाएको हेर्न चाहन्छन् । हेर्नुस् त कति बेथिति छ ? तपाईहरुले बहस गर्ने जनताको बहुदलीय जनवाद र एक्काइसौं शताब्दीको जनवादको बलिमा जनता पिल्सिनु हुँदैन । समय सान्दर्भिक निकास अवश्य निकाल्नुहुनेछ । अहिलेको जल्दोबल्दो आवश्यकता त म जस्ता तमाम नेपाली जनताको बिहान–बेलुकाको गर्जो टार्ने कुरा प्रधान हो ।
समय कालजयी छ र बलबान पनि । समय बितिसकेको छैन । बरु अब बाँकी रहेको तपाईंको समय जनताको दुःखेको मनलाई मल्हमपट्टि लगाउन खर्चिनुपर्छ र म जस्ता आम नागरिकका घरका भित्तामा हाम्रा परिवारको फोटो राख्ने ठाउँमा तपाईंको पनि एकथान फोटो एक आदर्श व्यक्तिको रूपमासँगै रहेको हेर्ने मेरो इच्छा तपाईंले पूरा गर्नुहुनेछ भन्ने मेरो भरोसा छ । सबै भ्रमलाई चिर्न जरुरी छ । तपाईंको हातमा अहिले सबैथोक छ । सायद मैले भन्न खोजेको आशय बुझिसक्नुभयो होला ।
आगामी दिनमा नेपाली जनताले कसैलाई पनि सराप्नु हुँदैन । जनताले सिसिफसको जस्तो दुःख भोग्नु नपरोस् । देशको मुहार फेर्नलाई खम्बा बन्न नसके पनि इँटा बन्न पाइयोस् ।
अन्त्यमा, तपाईंका पालामा देश समृद्ध नेपाल सुखी नेपालीको नारातर्फ उन्मुख भई भोकानांगाको दिन फर्किएको हेर्ने ठूलो रहर पूरा हुनेछ भन्ने दीर्घ आशा राखेको छु ।
तपाईंको सोच देश र जनताको निम्ति सदैव सकारात्मक बनिरहोस् र तपाईंले टेक्ने धर्ती नडगमगाओस् ।
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...