सेप्टेम्बर ११ आक्रमणको १९ वर्ष : संसार झनै असुरक्षित

विन्देश दहाल
विन्देश दहाल

लोकान्तर डट् कमका कूटनीतिक मामिला सम्पादक विन्देश दहाल अन्तर्राष्ट्रिय राजनीति तथा पूर्वीय अध्यात्मबारे लेख्छन् । 

तस्वीर स्रोत : रोबर्ट क्लार्क/एसोसिएटेड प्रेस

१९ वर्षअघि आजैको दिन अर्थात् सेप्टेम्बर ११ मा अमेरिकाको न्युयोर्कस्थित ट्विन टावर तथा भर्जिनियामा रहेको पेन्टागनमा अलकायदा नामक आतंकवादी संगठनले दुईवटा विमान ठोकाउँदा करीब तीन हजार मानिसको ज्यान गएको थियो । 

२१औं शताब्दीको आरम्भमै भएको उक्त घटनाले अमेरिकाको राजनीतिक तथा सामाजिक जीवनमा परिवर्तन ल्यायो भने पश्चिम एसियाको भूराजनीतिमा उथलपुथल ल्याइदियो । 


Advertisement

आक्रमणका योजनाकार ओसामा बिन लादेनलाई सील भनिने अमेरिकी जलसेनाका विशेष फौजका सैनिकहरूले पाकिस्तानको अबोटाबादमा हत्या गरेको पनि नौ वर्ष बितिसकेको छ । 
 

ट्विन टावर आक्रमणको दूरगामी प्रभाव संसारभरि परेको छ । विशेषगरी पश्चिम एसियामा अमेरिकी नेतृत्वको सैन्य कारवाहीका कारण अनेकौं विद्रोह जन्मिए र युद्धहरू आरम्भ गरिए जसको शान्तिपूर्ण समाधान अहिलेसम्म हुन सकेको छैन । 


Advertisement

सेप्टेम्बर ११ को आक्रमणपछि अमेरिकाले आतंकवादविरुद्धको युद्ध (वार अन टेरर) चलायो । उक्त युद्ध तथा त्यसका प्रतिक्रियाका कारण लाखौं मानिसले ज्यान गुमाए भने दशौं लाखौं मानिस थालथलो छोड्नका लागि बाध्य भए । 

ब्राउन विश्वविद्यालयले गरेको एक अध्ययनले आतंकवादविरुद्धको युद्धका कारण कम्तीमा पनि पाँच लाख मानिसको मृत्यु भएको अनि ३ करोड ७० लाख मानिस विस्थापित भएको देखाएको छ । 
 

ट्विन टावर आक्रमणको एक महिना पनि नबित्दै अमेरिकी सैनिकहरूले अलकायदालाई ध्वस्त पार्न अफगानिस्तानमा आक्रमण गरे । त्यहाँको तालिबान सरकारले लादेन र अलकायदाका लडाकूहरूलाई शरण दिएकाले अमेरिका तालिबानलाई पनि निर्मूल पार्न तम्सियो । 
 

अलाकायदा लडाकूविरुद्धको कारवाही गरेर ९/११ को पीडाको बदला लिनेसम्म त ठीकै थियो तर अमेरिकाले राष्ट्रनिर्माण तथा विद्रोह दमनको अभिभारा ग्रहण गर्न थालेपछि भने परिस्थिति बिग्रँदै गयो । आतंकवादविरुद्धको युद्धका क्रममा अफगानिस्तानको संस्कृतिमा आघात पुग्ने काम गर्‍यो । आनुपातिक रूपमा आवश्यकताभन्दा बढी शक्तिप्रयोग गरेकाले अमेरिकी सैनिकहरूविरुद्ध प्रतिकार भए । साम्राज्यहरूको चिहान भनिने अफगानिस्तानले इतिहासकै सबभन्दा शक्तिशाली अमेरिकी साम्राज्यलाई पनि बाँकी राखेन । फलस्वरूप अमेरिकाले शुरू गरेको युद्ध अहिलेसम्म पनि टुंगिएको छैन ।

अफगानिस्तान आक्रमणको दुई वर्ष पनि नबित्दै तत्कालीन राष्ट्रपति जर्ज डब्ल्यू बुशले इराकमा युद्ध शुरू गरे । सेप्टेम्बर ११ को आक्रमणमा इराकका राष्ट्रपति सद्दाम हुसेनको कुनै पनि संलग्नता नभएपनि उनले आफ्नो देशमा आम विनाशक हतियार उत्पादन गरेको आरोप लगाउँदै युद्ध शुरू गरिएको थियो । तर पछि खोज्दै जाँदा इराकमा त्यस्तो हतियारै थिएन । 

सद्दाम हुसेनको पतनपछि इराक पूर्ण रूपमा अस्तव्यस्त भयो । अमेरिकीहरूले इराकको जटिल सांस्कृतिक, धार्मिक तथा राजनीतिक आयामहरूलाई बुझ्न नसकेकाले आफूअनुकूलको शासक स्थापना गरिदिँदा विद्रोहका लहर उठे । 

यदाकदा मात्र हुने गरेका आत्मघाती बम आक्रमणहरू त्यसपछि दिनहुँजसो हुन थाले । युद्धले ल्याएको अस्थिरताबाट इस्लामिक स्टेट जस्तो क्रूर र आततायी अतिवादी समूह जन्मियो र त्यसमा सद्दाम हुसेनका बफादारहरू पनि बाक्लै थिए । 

त्यसलाई अमेरिका नेतृत्वको सैन्य गठबन्धनले परास्त त गरेको छ तर त्यसका अवशेषहरू अझै पनि इराक र सिरियामा सक्रिय छन् अनि युरोपका विभिन्न मुलुकमा सानातिना आक्रमण गरिरहेका छन् । सिरिया, लिबिया लगायतका मुलुकमा युद्ध अझै पनि चलिरहेर अशान्ति कायम रहनु त्यही सेप्टेम्बर ११ को दूरगामी परिणाम हो ।

सेप्टेम्बर ११ को आक्रमणले अमेरिकी राजनीतिक चिन्तक स्यामुएल पी हन्टिङटनको सभ्यताको द्वन्द्व सिद्धान्तलाई पुष्टि गर्दै क्रिस्चियन र इस्लाम धर्मलाई आमनेसामने ल्याइदियो । आक्रमणपछि अमेरिका तथा साझेदार मुलुकहरूमा मुसलमानहरूमाथिको दमन ह्वात्तै बढेर गयो ।

त्यसै सन्दर्भमा तत्कालीन बुश प्रशासनले क्युबाको ग्वान्तानामो बेमा रहेको कुख्यात थुनाकेन्द्रमा शत्रुपक्षका लडाकूहरूलाई पठाउन थाल्यो । उनीहरूमाथि त्यहाँ चरम यातना दिइयो र न्यायमा पहुँचबाट वञ्चित गरियो । 

उक्त थुनाकेन्द्र बन्द गराउनका लागि अनेकौैं आवाज उठिरहेको भए पनि बुश प्रशासनले त्यसलाई बेवास्ता गर्‍यो । यसले अमेरिकाको छविमा दाग लगाएको आलोचकहरूको कथन छ । उनीपछिका राष्ट्रपति बाराक ओबामाले पहिलो कार्यकालमा त्यसलाई बन्द गराउने प्रतिबद्धता व्यक्त गरे पनि सफल भएनन् तर थुनुवाहरूको संख्या चाहिँ निकै घटाए । बहालवाला राष्ट्रपति डोनल्ड ट्रम्पले चाहिँ कठोर दृष्टिकोण अपनाउँदै त्यहाँ विदेशी कैदीहरू राख्ने बताएका छन् । 
 

आतंकवादविरुद्धको युद्धले अमेरिकालाई के फाइदा पुर्‍यायो भनी कसैले पनि भन्न सक्दैन । हुन त पश्चिम एसियाका निरंकुश शासकहरूलाई फालेर एउटा विशाल खिलाफत बनाउने र त्यसको सर्वेसर्वा आफैं बन्ने बिन लादेनको सपना थियो । इस्लामिक स्टेटले पछि त्यसलाई आंशिक रूपमा भए पनि साकार पार्न खोजेको थियो । 

अमेरिकाले आफूलाई जोखिम हुन सक्ने अनुमान गरी त्यस्तो खिलाफत बन्न नदिनका लागि आतंकवादविरुद्धको युद्ध शुरू गरेको हो भन्ने मत पनि पाइन्छ । तर लाखौं मानिसको ज्यान जाने गरी गरिएको ‘अन्त्यहीन युद्ध’ले अमेरिकाको कुनै पनि तर्कलाई जायज ठहर्‍याउन सक्दैन ।

विदेशका कहिल्यै नटुंगिने युद्धमा अल्झिएर अमेरिकाले आफ्नै नागरिकलाई खाद्य सुरक्षा तथा सम्मानजनक जीवनस्तर दिन नसकेको विभिन्न आँकडाले देखाएका छन् । सामान्यजनको जीवनस्तर उकास्नुको साटो हातहतियार र सेनामा खर्च बढाएकाले अमेरिकी समाजमा संस्थापन पक्षप्रतिको रोष डोनल्ड ट्रम्प जस्ता लोकरञ्जनवादीका रूपमा विस्फोटित भएको देखिन्छ । 

हुन पनि सेप्टेम्बर ११ आक्रमणपछि अमेरिकाले रक्षा बजेट ह्वात्तै बढाएको छ । सन् २००२ मा लगभग ७३८ अर्ब डलर रक्षा बजेट रहेकोमा सन् २०११ मा आइपुग्दा ४३ अर्ब डलर पुगेको थियो । सन् २०१९ को रक्षा बजेट ६८६.१ अर्ब डलर छ जुन अन्य मुलुकको भन्दा कैयौं गुणा बढी हो । 

यति विशाल बजेट भएपछि अमेरिकाले त्यसको व्यवस्थापनका लागि भए पनि नयाँ युद्ध गर्नुपर्ने हुन्छ । त्यसैले चीनविरुद्ध अमेरिकाले युद्ध शुरू गर्नसक्ने सम्भावना देखाइरहेको छ । दक्षिण चीन सागर र पूर्वी चीन सागर शायद नयाँ युद्धक्षेत्र हुन सक्छन् । जोन पिल्गरले बनाएको वृत्तचित्र ‘द कमिङ वार अन चाइना’ ले यही दाबी गरेको छ ।

सेप्टेम्बर ११ ले सभ्यतागत द्वन्द्व निम्त्याएको थियो भने अब पुनः पहिलो शीतयुद्धको जस्तो विचारधारात्मक द्वन्द्व शुरू हुने हो कि भनी विश्लेषण गरिन थालेका छन् ।
 

विन्देश दहाल
विन्देश दहाल

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्