
झापाको मेचीनगर नगरपालिकाका आर्थिकरुपमा विपन्न दुई महिलाको दुवै मिर्गौला खराब भएपछि उपचारमा आर्थिक अभाव भएको छ। वडा नं १० की १७ वर्षीया अरिस्ता परियार र वडा नं ९ की ३० वर्षीया निर्मला ढुङ्गानाको दुवै मिर्गौला खराब भएको हो। उनीहरुको हप्तामा दुई पटक डाइलासिस गरिँदै आएको छ।
धुलावारी माध्यमिक विद्यालयमा कक्षा ११ मा पढ्दै गरेकी अरिस्ताको उपचारमा आर्थिक अभाव भएका कारण सहयोगका लागि वडाध्यक्ष गोपाल खड्काको संयोजकत्वमा सहयोग समिति गठन गरिएको आमा लक्ष्मी परियारले बताइन्।
दुवै मिर्गौला खराब भएकी निर्मला ढुङ्गानालाई चिकित्सकले तत्काल मिर्गौला प्रत्यारोपण गर्न सल्लाह दिएको र छोरीका लागि एउटा मिर्गौला दिन आफू तयार रहेको आमा लक्ष्मीमाया ढुङ्गानाले बताइन्। बिहे गरेको तीन महिनापछि निर्मलाको मिर्गौलामा खराबी देखा परेको थियो। उनको उपचारमा सहयोग जुटाउन गिरिराज धमलाको संयोजकत्वमा बचाउ समिति गठन गरिएको छ।
मिर्गौला खराब भएपछि डाइलासिस र औषधि निकै महंगो पर्ने तथा नयाँ मिर्गौला प्रत्यारोपण खर्च अरिस्ता र निर्मलाजस्ता विपन्न परिवारले धान्न नसक्ने मेची उद्योग वाणिज्य सङ्घका महासचिव ध्रुव कनाल बताए। मिर्गौला खराबी भएर थलिनुभएकी अरिस्ता र निर्मलालाई नयाँ मिर्गौला प्रत्यारोपण गर्न आवश्यक भएको हुँदा आर्थिक सहयोग जुटाउन अपिल गरिएको कनालले बताए।