यूएई र बहराइनले गरे इजरायलसँग सम्बन्ध सामान्य गर्ने सम्झौता, के होला पश्चिम एसियामा अब ?

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु मंगलवार यूएई तथा बहराइनका परराष्ट्रमन्त्रीहरूसँग ऐतिहासिक सम्बन्ध सामान्यीकरण सम्झौतामा सहभागी बनेका छन् । 

अब्राहम एकोर्ड्स भनिने उक्त सम्झौतामा हस्ताक्षरको क्षणलाई प्रशंसा गर्दै ट्रम्पले यसबाट इतिहासको दिशा परिवर्तन हुने र नयाँ मध्यपूर्वको बिहानीको संकेत दिने बताए । 
 


Advertisement

नेतान्याहुले यसलाई इतिहासको महत्त्वपूर्ण क्षण र शान्तिको नयाँ बिहानी नाम दिए । 

यस्तो किसिमको समारोह वाशिङटनमा सन् १९९४ मा गरिएको थियो । त्यतिखेर राष्ट्रपति बिल क्लिन्टनले इजरायलका प्रधानमन्त्री यित्जाक रबिन र जोर्डनका राजा हुसेनबीच घोषणामा हस्ताक्षर गराएर पछि शान्ति सम्झौता हुने वातावरण बनाएका थिए । 


Advertisement

ट्रम्पका लागि यस सम्झौताको यही नै सही समय हो । चुनाव आउनुभन्दा दुई महिनाअघि इजरायल, यूएई र बहराइनबीच सम्बन्ध सामान्य बनाउनका लागि गरिएको सहमति ट्रम्पको परराष्ट्रनीतिको प्रमुख सफलता हो । 

इजरायलले खाडीका विभिन्न मुलुकसँग गोप्य सम्बन्ध राख्दै आएको थियो र इरानविरुद्ध वस्तुगत साझेदारी बनाएको थियो । खाडी मुलुकहरूले इजरायलको उच्च प्रविधिबाट फाइदा लिन खोजेका छन् भने इजरायलले अशान्त पश्चिम एसियामा आफ्नो स्थान सुरक्षित पार्न खोजेको छ । 

खाडी अरब मुलुकहरूका लागि वाशिङटनको बाटो जेरुसेलम भएर जाने टिप्पणी बहराइनका राजा हमाद बिन इसा अल–खलिफाका निजी सल्लाहकारले गरेका छन् । अर्थात्, यी मुलुकहरूले राष्ट्रपति ट्रम्प र ह्वाइट हाउससँग निकट सम्बन्ध बनाउनका लागि इजरायललाई साथ दिने निर्णय लिनु सही हुने थाहा पाए । 

यूएईले इजरायलसँगको सम्बन्ध सामान्य बन्दा अमेरिकासँग एफ–३५ विमान किन्न सहज हुने देखेको छ । ट्रम्पका वरिष्ठ सल्लाहकार ज्यारेड कुशनरको पनि यही धारणा छ । यसले गर्दा यूएईलाई अमेरिकाको अत्याधुनिक हतियार प्राप्त हुने र उक्त क्षेत्रका अन्य मुलुकहरूभन्दा अघि रहन पाइने फाइदा हुन्छ । 

यूएईले पश्चिमी किनाराका केही भाग मिसाउने इजरायलको उद्देश्यलाई थाती राख्न मनाएको छ र सम्बन्ध सामान्य बनाउनका लागि यो एक शर्त भएको स्पष्ट पारेको छ । इजरायलको काम कतिन्जेलसम्म स्थगित हुन्छ भन्ने स्पष्ट छैन तर यूएईले यसमार्फत दुई राज्य समाधानको सम्भावनालाई जीवित राखेको छ । दुई राज्य बनेमा मात्र इजरायल र प्यालेस्टाइनको विवाद समाधान हुने उसको विश्वास छ । 

बहराइनले चाहिँ यस सम्झौताबाट के हासिल गर्छ भन्ने त्यति स्पष्ट छैन । यूएई र बहराइनले इजरायलको उच्च प्रविधियुक्त सैन्य हतियार किन्न र अर्थतन्त्र, स्वास्थ्य, पर्यटन तथा अन्य विषयमा सहकार्य गर्न सहज हुने आशा लिएका छन् । 

राजनीतिक रूपमा पनि यो परिस्थिति यूएई र बहराइनका लागि जीत नै हो । ट्रम्प दोस्रो कार्यकालका लागि निर्वाचित भए भने उनीहरूलाई निरन्तरताको फाइदा मिल्नेछ अनि बाइडनले जितेछन् भने पनि इजरायलसँगको सम्झौताले उनीहरूलाई बलियो स्थितिमा राखेको छ । 

इजरायलको कुरा गर्दा यो सम्झौता उसको परराष्ट्रनीतिको ठूलो उपलब्धि हो । यसअघि मेनाचेम बेगिनले सन् १९७९ मा इजिप्टसँग शान्ति सम्झौता गरेका थिए भने यित्जाक रबिनले सन् १९९४ मा जोर्डनसँग शान्ति सम्झौता गरेका थिए । त्यसपछि नेतान्याहुले अहिले आएर खाडी मुलुकसँग सम्झौता गरेका हुन् । 

सम्झौताले नेतान्याहुलाई देशमा आइरहेको समस्याबाट ध्यान हटाउन पनि सहायता गर्नेछ । त्यहाँ अर्थतन्त्र लडखडाइरहेको छ, बेरोजगारी १८ प्रतिशत छ, कोरोनाभाइरसका कारण दोस्रोपटक देशभरि लकडाउन लगाउनुपरेको छ अनि नेतान्याहुविरुद्ध भ्रष्टाचारका मुद्दा छन् । 

यस सम्झौताले प्यालेस्टाइनीहरूलाई चाहिँ निराश बनाएको छ । सन् २००२ मा साउदीको नेतृत्वमा गरिएको शान्ति पहलले इजरायलसँग अरब मुलुकहरूको सम्बन्ध सामान्यीकरणअघि इजरायल–प्यालेस्टाइन द्वन्द्व अन्त्य गर्नुपर्ने आह्वान गरेको थियो । यूएई र बहराइनले यसलाई उल्ट्याइदिएका छन् र द्वन्द्वमा कुनै पनि प्रगति नभइकनै सम्बन्ध सामान्य बनाउने दिशामा अघि बढेका छन् । प्यालेस्टाइनीहरूले यूएई र बहराइनलाई जेरुसेलम, अल–अक्सा मस्जिद र प्यालेस्टाइनी मुद्दालाई धोका दिएको आरोप लगाएका छन् । 

यस सम्झौताका लागि ह्वाइट हाउसले जोड दिएकाले ट्रम्पविरुद्ध प्यालेस्टाइनीहरूको गुनासोको लामो सिलसिलामा यो पनि जोडिएको छ । ट्रम्प प्रशासनले अमेरिकी दूतावास जेरुसेलम सारेपछि अनि इजरायलसमर्थक अन्य कदम चालेपछि प्यालेस्टाइनीहरूले ह्वाइट हाउससँगको सम्पर्क तोडेका छन् । 

तर प्यालेस्टाइनीहरूको विकल्प सकिँदै गइरहेको छ । उनीहरूलाई इरान, टर्की र केही अन्य मुलुकले साथ दिइरहेका छन् तर उसका परम्परागत अरब मित्रहरू इजरायलसँग नजिकिँदैछन् । त्यसैको संकेत दिँदै अरब लीगले यूएई–इजरायल सम्झौतालाई भर्त्सना गर्नका लागि प्यालेस्टाइनले राखेको प्रस्ताव पारित गर्न मानेन । 
 

सीएनएनमा प्रकाशित ओरेन लीबरम्यानको विश्लेषण
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्