तपाईंलाई कोरोना संक्रमण भए के गर्ने, के नगर्ने ? पढ्नुहोस् डा. रवीन्द्र पाण्डेका ४० सुझाव

डा. रवीन्द्र पाण्डे
डा. रवीन्द्र पाण्डे

जनस्वास्थ्य विज्ञ पाण्डे लोकान्तरका नियमित स्तम्भकार हुन् ।

वैश्विक महामारीको रूपमा फैलिएको कोरोना संक्रमण नेपालमा पनि बढ्दो गतिमा छ । परीक्षणको दायरामा नपरेको ठूलो जनसंख्या पनि संक्रमित छ भन्ने तथ्य हामीले बुझ्नुपर्ने हुन्छ । संक्रमण समुदायमा फैलिएसँगै जोखिम वर्गलाई सुरक्षा गर्नु हाम्रो प्रमुख दायित्व रहेको छ ।

आधा उमेर बितेसँगै इम्युनिटी पावर पनि घट्दै जान्छ । त्यस्तै मधुमेह, उच्च रक्तचाप, श्वासप्रश्वासजन्य रोग, मुटुका दीर्घ बिरामी, मिर्गौलाका दीर्घ बिरामी, कलेजोका दीर्घ बिरामी, क्यान्सरका बिरामी तथा अन्य अटो इम्युन रोग भएका व्यक्ति, शारीरिक तौल बढी भएका व्यक्ति तथा गर्भवती, सुत्केरी एवं नवजात शिशुमा पनि रोगप्रतिरोधात्मक क्षमता कमी हुन्छ ।


Advertisement

जोखिम समूहमा रहेका व्यक्ति घरबाहिर नजाने, घरभित्र बस्दा पनि जनस्वास्थ्यका मापदण्ड पालना गर्ने तथा इम्युनिटी पावर बढाउनका लागि तल उल्लेखित आहार, बिहार, आचार र व्यवहारको पालना गर्नु जरुरी छ ।

सक्रिय उमेरका व्यक्तिहरू काममा जाँदा अनिवार्य रूपमा सही तरिकाले मास्क लगाउने, भौतिक दुरी कायम गर्ने, भीडमा नजाने, खुला ठाउँमा बस्ने, हात धोइरहने तथा घरमा आएपछि बाहिरी कपडा, झोला, चस्मा, मास्क आदि छुट्टै ठाउँमा राखेर एवं नुहाएर मात्र परिवारसँग घुलमिल हुनु अपरिहार्य छ ।


Advertisement

आजभोलि हरेक टोल तथा समूहमा संक्रमण फैलिएकाले कोरोना संक्रमण भएको अवस्थामा के गर्ने ? के खाने ? कसरी दिनचर्या स्वस्थकर बनाउने लगायतका विषयमा यो लेख केन्द्रित छ । कोरोना संक्रमण भएमा निम्न लिखित उपाय अवलम्बन गर्नु जरुरी छ ।

– होम आइसोलेसनमा बस्ने व्यक्ति घरबाहिर नजाने । पानी प्रशस्त खाने । ज्वरो आएमा वा टाउको / शरीर दुखेमा पारासिटामोल खाने । एकजना चिकित्सकसँग सम्पर्कमा रहने । अस्पताल जानुपर्‍यो भने सार्वजनिक यातायात प्रयोग नगर्ने । एम्बुलेन्स बोलाउने ।

–​ सास फेर्न गाह्रो भए, छाती दुखेमा वा दबाब महसूस भए, निद्रा लागिरहे, खाना खान नसके  कन्फ्युजन भए तथा ओठ वा अनुहार निलो भए तुरुन्तै अस्पताल जाने ।

– घरका व्यक्तिसँग कुरा गर्दा न्युनतम ६ फिटको दुरी कायम गरेर तथा दुवै तर्फबाट मास्क लगाएर कुरा गर्ने । एक्लै बस्दा मास्क लगाउनु पर्दैन । २ वर्षमुनिका बालबालिकालाई मास्क प्रयोग गर्न हुँदैन ।

– साबुनपानीले हात धोइरहने ।

– थाल, गिलास, चम्चालगायतका भाँडाकुँडा, टावेल, बेड कभर, बाथरुममा सामान सेयर नगर्ने । आफूले धोएर छुट्टै प्रयोग गर्ने ।

– आफ्नो कोठा, बाथरुम, कपडा, बेडसिट आदिलाई नियमित संक्रमणविहीन बनाउने । अन्य व्यक्तिले संक्रमितले प्रयोग गरेका बाथरुम, बेडरूम, कपडा तथा भाँडा सफा गर्नुपरेमा राम्रो खालको मास्क, फेसशिल्ड, चस्मा तथा पन्जा लगाएर सफा गर्ने । फोन, रिमोट कन्ट्रोल, ढोकाको चुकुल, ह्याण्डील, टेबल, कम्प्युटरको किबोर्ड आदिलाई सफा गरिरहने ।

– कुनै पनि औषधि सेवन गरिरहेको संक्रमितले औषधि नछोड्ने ।

– झ्याल खोलेर तथा सकभर हावा र घाम लाग्ने कोठामा बस्ने ।

– छुट्टै बाथरुम नभएमा साझा बाथरुम पहिले संक्रमितले प्रयोग गर्ने । उक्त बाथरुमलाई डिटरजेन्टले राम्रोसँग सफा गर्ने । बाथरुमका ह्याण्डिल, चुकुल आदिलाई डेटोल पानी वा स्प्रिट कपासले राम्रोसँग सफा गर्ने ।

– बच्चालाई दूध चुसाउँदा कोरोना संक्रमण सरेको प्रमाण छैन । आमाको संसर्ग तथा श्वासबाट संक्रमण सर्न सक्ने भएकाले सकभर दूधलाई निचोरेर कुनै भाँडोमा राख्ने र संक्रमण नभएको व्यक्तिले चम्चाले खुवाउने । यसो गर्न सम्भव नभए बच्चाको उमेर अनुसारको फार्मेसीमा पाउने पाउडर दूध तथा आहार खुवाउने ।

– आफूले प्रयोग गरेको फोहोरलाई छुट्टै ब्यागमा राख्ने, ब्यागको मुख राम्रोसँग बाँध्ने, कोठाको एउटा कुनामा राख्ने अनि ७२ घण्टापछि मात्र फोहोर संकलन गर्ने ठाउँमा राख्ने ।

– २ हप्तासम्म एक्लै कोठामा बस्न गाह्रो हुनसक्छ । यो समयलाई सजिलो र सिर्जनशील बनाउने प्रयत्न गर्ने । आफन्त तथा साथीसँग फोन तथा इन्टरनेटमार्फत कुराकानी गर्ने, युट्युबमा राम्रा चलचित्र हेर्ने, योग, ध्यान तथा प्राणायाम गर्ने । पुस्तक पढ्ने । आफ्ना लक्षण तथा अनुभव लेख्ने । आफ्नो रुचि अनुसार आर्ट गर्ने, कविता लेख्ने, कथा लेख्ने ।

– हामीले जस्तो खाना खान्छौं, हाम्रो स्वास्थ्य पनि त्यस्तै हुन्छ । सन्तुलित भोजन गर्ने व्यक्तिको रोगप्रतिरोधात्मक क्षमता बलियो हुन्छ । जसले गर्दा धेरै रोगसँग लड्ने प्रचुर क्षमता हुन्छ । विभिन्न भेराइटीका तथा प्रशोधन नगरेका खानामा प्रोटिन, क्यालोरी, भिटामिन, खनिज तत्व तथा एन्टिअक्सिडेन्ट तत्व प्राप्त हुन्छ । प्रशस्त पानी पिउने तथा प्राकृतिक भोजन गर्नाले मोटोपन, मधुमेह, हृदयरोग, पक्षघात तथा केही क्यान्सरको जोखिमलाई कम गर्न सकिन्छ ।

– मौसमी फलफूल, तरकारी, गेडागुडी, बदाम तथा प्रशोधन नगरेका अन्न, दूध, दही, माछामासु, अण्डा आदिको सेवन गर्ने ।

– पानीले पोषक तत्वलाई रगतमा पुर्‍याउने, शरीरको तापक्रम सन्तुलनमा राख्ने, शरीरका विषाक्त पदार्थलाई निष्काशन गर्ने, जोर्नी तथा अन्य अंगलाई आद्र गराउँछ, तसर्थ दिनको ३-४  लिटर पानी पिउनु जरुरी हुन्छ । पानीसँगै फलफूलको जुस, सुप, मनतातो कागती पानी, हर्बल चिया, ब्ल्याक टी, हल्का कफीको सेवन गर्न सकिन्छ । त्यस्तै रसिला फलफूल, काँक्रो, खर्बुजा आदिको पनि सेवन गर्न सकिन्छ ।

– सकभर अनस्याचुरेटेड फ्याट जस्तै मकैको तेल, भटमासको तेल, सूर्यमुखीको तेल, ओलिभ आयल, एल्मोंड आयल, एभोकाडो तथा माछाको तेल सेवन गर्नुपर्दछ । बोंसो, नौनी, क्रिम, चिज तथा नरिबल तेललाई कम प्राथमिकता दिनु स्वस्थकर हुन्छ ।

– मासुमा सकभर माछा तथा लोकल चिकेन स्वस्थकर हुन्छ । रातो मासु कम खानु हितकर हुन्छ । प्रशोधन गरिएको मासु सेवन नगर्नु उपयुक्त हुन्छ ।

– नुन र चिनी निकै कम खानु पर्दछ । दिनको ५ ग्रामभन्दा कम अर्थात सानो चम्चाको १ चम्चाभन्दा धेरै नुन खानु हुँदैन । बजारमा पाइने स्न्याक्स ( चिप्स आदि ) को सेवन गर्नुहुँदैन । अत्यधिक चिनीको मात्रा हुने कोल्ड ड्रिंक्स, सोडा, चकलेट, केक, कुकिज तथा प्याकेटका जुसको सेवन नगर्नु लाभदायक हुन्छ ।

– एकैपटक धेरै खानुको साटो थोरै तर पटकपटक खानु उपयुक्त हुन्छ । यसले गर्दा पाचनको समस्या हुँदैन ।

– कार्बोहाइड्रेट कम तथा प्रोटिन बढी भएको खानाले कोभिडका बिरामीलाई निकै फाइदा गर्छ ।

– सागसब्जी तथा फलफूलमा बिटा क्यारोटिन, भिटामिन सी तथा अन्य आवश्यक भिटामिन पाइन्छ । ब्रोकाउली, पालुंगो, ठूलो खुर्सानी, च्याउ, गोलभेँडालगायतका हरिया सागसब्जी धेरै फाइदाजनक हुन्छन् ।

– बेसार, अदुवा, पिपली, मरिच, अमला, तुलसी पत्र, लसुन, प्याज, ज्वानो, तील, धनियाँलगायत भान्सामा प्रयोग हुने मरमसलामा रोगप्रतिरोधात्मक क्षमता बढाउने तत्व तथा आलस, फर्सी, खर्बुजा, मुंग्रेलो, सूर्यमुखी आदिमा प्रचुर मात्रामा भिटामिन ई हुन्छ । त्यस्तै दहीलगायत फर्मेंन्टेड फूडमा पाइने प्रोबायोटिकले निकै फाइदा गर्दछ ।

– संक्रमित व्यक्तिलाई निद्राको ठूलो महत्त्व छ । रातिमा ८ देखि ९ घण्टा सुत्नाले रोगप्रतिरोधात्मक क्षमता वृद्धि हुन्छ । निद्रा कम भएमा थकाइ लाग्नुको साथै मस्तिष्कको गतिविधिलाई नकारात्मक असर गर्दछ । निद्राबाट उत्पादन हुने मेलाटोनिन हर्मोनले इम्युनिटी पावर बढाउँछ । दिउँसोको न्याप (अल्पनिद्रा ) पनि प्रशन्नकारक हुन्छ ।

– नियमित रूपमा व्यायाम गर्नाले शरीरबाट टक्सिन बाहिर निस्किने, स्टामिना बढ्ने, शरीरको चयापचय अर्थात् Metabololism मा सुधार हुने, Endorphin Hormone secretion हुने लगायतका कारण इम्युनिटी पावर वृद्धि हुन्छ । संक्रमित व्यक्तिले युट्युब च्यानल हेरेर वा नाचेर पनि पसिना आउन्जेल व्यायाम गर्न सकिन्छ । लक्षण देखिएका वा कमजोर बिरामीले हल्का व्यायाम मात्र गर्नुपर्दछ ।

– आइसोलेसनमा बस्दा मनमा नकारात्मक विचार आउन सक्छन् । कोरोना संक्रमणको कारण स्वास्थ्यमा गम्भीर असर हुन्छ कि ? समाजले अर्कै नजरले हेर्छ कि ? पछिसम्म असर रहन्छ कि ? आदि प्रश्न मनमा ओहोरदोहोर गर्न सक्छन् । यस्ता नकारात्मक विचार, चिन्ता तथा तनावले कर्टिसल हर्मन उत्पन्न गर्दछ जसले गर्दा रोगसँग लड्न शरीर निरुत्साहित हुन्छ । योग, ध्यान, नाचगान, मोटिभेसनल स्पीच श्रवण आदिले मनलाई शान्त गर्छ । सकारात्मक सोच र आत्मबलले संक्रमण निको गर्न मद्दत गर्दछ ।

– प्राणायाम अर्थात् श्वासप्रश्वासको अभ्यासले फोक्सोको क्षमता वृद्धि हुन्छ । शरीरका कोषकोषमा अक्सिजनको मात्रा बढाउँछ ।

– धुम्रपान, मध्यपान, सुर्तीजन्य पदार्थको सेवन, लागू पदार्थको सेवन आदिले फोक्सोको कार्य क्षमता घटाउने, श्वासप्रश्वासका कोष तथा सुक्ष्म नलीमा प्रतिकूल असर गर्दछ । यसले गर्दा संक्रमण निको हुन ढिलो हुने वा गम्भीर अवस्थामा पुग्ने सम्भावना हुन्छ ।

 

इम्युनिटी पावर बढाउने सप्लिमेन्टको प्रयोग ( १-५ सम्म फार्मेसीमा पाउँछ)

  • गुर्जोको गुडुची क्याप्सुल बिहान २ क्याप्सुल / बेलुका २ क्याप्सुल १ महिना
  • अश्वगन्धा क्याप्सुल बिहान २ / बेलुका २ दुधसँग १ महिना
  • भिटामिन सी बिहान १ / साँझ १ चुसेर खाने १ महिना
  • जिंक डिटी बिहान १ / साँझ १ चुसेर १ महिना
  • भिटामिन डी 60k हप्ताको एउटा १ महिना
  • अदुवा, बेसार, ज्वानो, तुलसीको पात, दालचिनी, तेजपात, अलैंची वा सुकमेल, ल्वांग, मरिच, कागती राखेर बनाएको मनतातो झोल दिनमा ३ पटक खाने ।
  • लसुन, प्याज तथा अन्य मरमसला ।

– नाकलाई सफा गर्न मनतातो पानीको जलनेती गर्ने वा मनतातो नुनपानीले दिनमा २ पटक नाकलाई भित्रसम्म सफा राख्ने ।

– नुन र बेसार मनतातो पानीमा राखेर वा ओभिडोन गार्गलले दिनमा २-३ पटक कुल्ला गर्ने ।

– मनतातो पानीमा पदिनाको झोल वा सन्चो २ थोपा राखेर दिनमा २ पटक बाफ लिने ।

– दैनिक नुहाउने, सफा कपडा लगाउने ।

– स्वास्थ्य मन्त्रालयले जारी गरेका प्रोटोकल पालना गर्ने । आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले जारी गरेको प्रोटोकल (नेटमा उपलब्ध छ) अनुसार आहार, बिहार, आचार तथा व्यवहार पालना गर्ने ।

– सामान्य लक्षणका लागि आफ्नो चिकित्सकसँग सल्लाह गरेर ज्वरो आएमा पारासिटामोल, खोकी लागेमा कफ सिरप वा एन्टिएलर्जिक औषधि खाने ।

– सास फेर्न सामान्य गाह्रो भएमा घोप्टो परेर सुत्ने । झ्यालढोका खोल्ने ।

– पल्स अक्सिमिटरले पटकपटक अक्सिजनको लेभल नाप्ने । थर्मोमिटरले ज्वरो नाप्ने । अक्सिजन ९० भन्दा कम हुँदै गएमा अक्सिजन लगाउने वा तुरुन्त अस्पताल जाने ।

– कडा लक्षण देखिएमा वा कुनै पनि किसिमको गाह्रो भएमा एम्बुलेन्स बोलाएर कोभिड अस्पताल जाने ।

घरमा राख्नुपर्ने उपकरण तथा औषधि

  • ज्वरो नाप्न थर्मोमिटर
  • अक्सिजनको लेभल नाप्न पल्स अक्सिमिटर
  • सम्भव भए १ सिलिन्डर अक्सिजन र पाइप लगायतका सामग्री
  • पारासिटामोल – २ पत्ता
  • खोकी तथा रुघाको औषधि
  • पखाला तथा बान्ता रोक्ने औषधि
  • जीवनजल
  • N95 मास्क, पञ्जा, PPE Set

– कुनै गाह्रो नभएमा आइसोलेसनमा बसेको २ हप्तापछि वा कोरोना टेस्ट नेगेटिभ आएपछि आइसोलेसनमा बस्नु पर्दैन । स्वाद र गन्ध पुरानो अवस्थामा फर्किन थप केही समय लाग्न सक्छ । संक्रमितमा २ हप्तापछि यो लक्षण रहेपनि अरूलाई रोग सार्न सक्दैन ।

– आइसोलेसनको अवधि सकिएपछि आफू बसेको कोठा, कोठाका हरेक सामान तथा बाथरुमलाई विभिन्न निर्मलीकरण गर्ने पदार्थले निर्मलीकरण गर्ने । झ्याल खोलेर हावा तथा घाम खेलेमा छिटो संक्रमणरहित हुन्छ । झ्यालतिर हावा फ्याँक्ने गरी ३ दिनसम्म पंखा चलाउन सकिन्छ ।

– कोरोना नरम प्रकृतिको महामारी हो । संक्रमितमध्ये ८५ % व्यक्तिलाई सामान्य लक्षण देखिएर वा नदेखिएर आफैं निको हुन्छ । १० % संक्रमितलाई लाक्षणिक तथा स्वास्थ्यप्रवर्द्धन उपचारले ठीक हुन्छ । ५ % लाई अक्सिजन, एन्टिभाइरल औषधि, एन्टिबायोटिक, प्लाज्माथेरापी, भेन्टिलेटर लगायत सघन उपचारको आवश्यक पर्न सक्दछ । नेपालमा हालसम्म १ % पनि मृत्युदर छैन । दक्षिण एसियामै कोभिड १९ को मृत्युदर कम छ । विश्वमा २ – ३ % मृत्युदर छ । मृत्यु हुनेमा अधिकांश उमेर ढल्केका तथा दीर्घरोग भएका व्यक्ति छन्, तसर्थ कोरोना संक्रमणबारे धेरै चिन्तित हुनु आवश्यक छैन । पर्याप्त सतर्कता, सकारात्मक सोच र उच्च आत्मबलले यो संक्रमणलाई परास्त गर्न सकिन्छ ।

– केही सञ्चारमाध्यममा एकपटक संक्रमित भएपछि भविष्यमा फोक्सोको रोग, मुटुको रोग लाग्ने वा फोक्सो ड्यामेज हुने भनेर गरिएको प्रचार गलत हो । गम्भीर किसिमको भाइरल निमोनिया भएका वा भेन्टिलेटरमा लामो समय बसेर फर्किएका, बहुप्रकारका दीर्घरोग भएका तथा रोगप्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिमध्ये २८ % मा श्वासप्रश्वाससम्बन्धी समस्या वा मांशपेशी कमजोर हुने समस्या वा मनोवैज्ञानिक समस्या देखिएको विभिन्न अनुसन्धानले देखाएका छन् ।

डा. रवीन्द्र पाण्डे
डा. रवीन्द्र पाण्डे

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्