कुलमान घिसिङ, तिम्रो ‘अक्षमता’ प्रमाणित भो

सामान्यतया कोही व्यक्ति विशेषबारे लेख लेख्न हात लाग्दै लाग्दैन । किनकि कतै न कतै केही न केही खोट भेटिहाल्छ अनि मनले सो व्यक्ति मजस्तै एक अतिसामान्य व्यक्ति हो भन्ने ठान्छ ।

मनको असहजताले कसैबारे कलम चलाउन दिँदैन । त्यसमा पनि को मानिस कहिले कुन रूपमा उदाङ्गिने हो भन्ने शंकाले पनि कलम थामिन्छ ।


Advertisement

तर आज यही मनले कलम चला, त्यो पनि व्यक्तिकै बारेमा भनेर बारम्बार आग्रह गरिरहेको छ । लाग्छ यो मनले यी हातलाई र मस्तिष्कलाई अनुनयविनय गरिरहेको छ, केही त लेख भनेर ।

प्रसंग हो नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको । ४ वर्ष अघिसम्म मात्र पनि बिरलै सुनिएको कुलमान नाम आज ४ वर्षपछि जनजनको मनमा बस्न सफल भएको छ । कुलमान आज त्यस्तो एक नाम हुन पुगेको छ, जसलाई घोच्दा सिङ्गो देशलाई दुख्छ । यो नाम आज त्यस्तो नाममा परिणत भएको छ, जसका आँखाबाट आँसु बग्दा झण्डै ३ करोड नेपालीको आँखा रसाएर आउँछ र मन भारी हुन पुग्छ । कुलमान केवल ४ वर्षको अन्तरालमा उज्यालोको प्रतिक भएर उदाएका छन् नेपाली आकाशमा कहिले नअस्ताउने गरी ।


Advertisement

स्मृतिमा अझै पनि ताजै छन् ती दिनका यादहरू, जब घरमा भएको बिजुलीको स्विच थिची घर उज्यालो देख्न पाउँदा पनि खुशी हुन्थ्यो । घण्टौंसम्मको लोडसेडिङको समय सकिएर बत्ती आउने बित्तिकै एक आवाज गुञ्जयमान हुन्थ्यो, ‘बत्ती आयो’ । बत्ती आयो भन्ने खबर एकाएक अन्य ध्वनिले पनि जनाउ दिन्थे । सबैभन्दा सामान्य जनाउ दिने सूचक थियो पानी तान्ने मोटर । वरिपरि घन्किने टेलिभिजन र रेडियोका आवाजले पनि बत्ती आएको संकेत दिन्थे । सो बेलामा सबैभन्दा बढी सोधिने प्रश्न सायद ‘ए साँच्ची आज बत्ती कुन बेला आउँछ ?’ थियो । 

जीवनको ३०–३५ वसन्त पार गरेकाहरूको सबैभन्दा उर्बर समय लोडसेडिङ, जेनेरेटर, ब्याट्री, इमर्जेन्सी लाइट आदि शब्दजालमा रुमल्लिनुपर्‍यो भने १८–२० वर्ष उमेर पुगेकाहरू हुर्कंदा यी शब्द र तिनका प्रयोग सामान्य शब्दाभ्यास जस्तै अतिसामान्य रूपमा लिएर हुर्के ।

यतिकैमा एकाएक ४ वर्षअघि सिनेमामा खलनायक पात्रले मच्चाएको कुकर्म समाप्त पार्न नायक पात्रको उदय भए जस्तै अति सरल र स्वच्छन्द प्रकृतिका एक प्रशासकलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदमा नियुक्ति गरियो । अनि एकाएक चलचित्रको नायकले अविश्वसनीय तवरमा अप्ठ्यारा पार गर्दै अन्त्यमा खलनायक पात्रको इहलीला समाप्त पारेझै अन्धकाररूपी खलनायकलाई नेपाल भन्ने रंगमञ्चबाट एकाएक समाप्त पारे, उनै कुलमानले ।

आफू कार्यकारी भूमिकामा नियुक्ति हुँदाको झण्डै ३५ अर्ब बक्यौता मात्र तिरेनन्, सो कालखण्डमा नाफा भन्ने शब्द नै ‘आकाशको फल आँखा तरी मर’ भएको प्राधिकरणको भागमा जाँदाजाँदै करीब १५ अर्ब कूल नाफा जगेडा गर्ने वातावरण पनि सिर्जना गरिदिए ।

यसरी वर्षौंदेखि घाटामा गएर टाट पल्टिएको एक सरकारी संस्थालाई नमूना संस्थाका रूपमा स्थापित गरिदिए, त्यो पनि केवल ४ वर्षको छोटो अवधिमा नै । उनले यति छोटो समयमा गरेको उपलब्धिले ‘सरकारी संस्थाहरू यदि असल र योग्य व्यक्तिको हातमा सुम्पने हो भने सजिलै काचुली फेर्न सक्ने रहेछ’ भन्ने आशाको बिगुल फुकिदिए । एक प्रकारले भनौं अन्य सयौं हजारौं अमूक संस्थाका विगत र वर्तमानका संस्था प्रमुखदेखि महत्त्वपूर्ण ओहोदामा बसेकाहरूका लागि एउटा गतिलो चुनौती खडा गरिदिए कि कुनै पनि संस्था उभो लगाउने वा अधोगतिमा पुर्‍याउने भनेको सक्षमता वा कार्यकुशलताको प्रभाव वा अभावले गर्ने हो ।

दिनरात नभनी अनवरत रूपमा नेपालीलाई उज्यालो बाँड्ने सपना बोकेर एकलव्य यात्रामा हिँडेका कुलमान आज फराकिलो छाती पार्दै डेरा सरे, प्राधिकरण प्राङ्गणबाट आम नेपालीको मन–मस्तिस्कमा । यसो भनौं कुलमानले दिएको यही उज्यालोपना नै उनका लागि प्राधिकरणको प्राङ्गणबाट बिदा लिनुपर्ने कारक बन्यो । अझ स्पष्ट रूपमा भन्दा जनतालाई सधैका लागि उज्यालो उपहार दिएका कुलमानले आफैंले भने सरकारको तर्फबाट अन्धकार पुरस्कार पाए । पूर्व मेचीदेखि पश्चिम महाकाली पारीसम्मका नेपालीलाई लागेको थियो कुलमानले आम नागरिकलाई दिएको उज्यालोरूपी उपहारको बदला निःशर्त उनलाई सो पदमा दोहोर्‍याइने छ । तर हिसाब त्यति सजिलो थिएन ।

राजनीति त बक्ररेखामा चल्छ । नागरिकको सोझो बुझाइ फगत भावनामा रूपान्तरण हुन्छ । यहाँ अमुक व्यक्ति, अमुक पदमा नियुक्त हुन, प्रतिस्थापन हुन, पुनर्नियुक्ति पाउन कि त अमुक पार्टीको झोला बोक्ने वा लेबी तिर्ने कार्यकर्ता हुनुपर्छ वा अमुक नेताका नजिकका नातेदार हुनुपर्छ । अझै भएन भने अमुक नेताका घरधनी हुनुपर्छ वा उपल्ला नेताका सम्धी हुनुपर्छ । यस्तो नियुक्ति प्रक्रियाको अर्को अचुक वाण भनेको चुनावताका गतिलै ‘ब्रिफकेश’ अमुक नेताका घर वा चुनावी क्षेत्रमा पुर्‍याएको हुनुपर्छ । कुलमान तिमीलाई भाग्यले न नेताको सम्धी बनायो, न त तिमीलाई तिम्रो स्वाभिमानले कुनै पार्टीको लँगौटी समात्न दियो । न तिमीले चुनावमा अमुक पार्टी वा नेतालाई सहयोग गर्‍यौ वा गर्ने वाचा नै गर्‍यौ । न त तिमी कुनै नेताको घरधनी नै हुन सक्यौ । अनि यी योग्यता विना कसरी पुनर्नियुक्ति होस् तिम्रो ?

कमसल र अति औसतको बाहुल्यता भएको माहोलमा नम्बरी सुन भयौ कुलमान तिमी । हुन पनि स्मरणमा भएसम्म र देखे–पढेको इतिहासमा कुनै एक सरकारी कर्मचारीका लागि जनता सडकमा उत्रने, प्रहरीको लाठी खाने मात्र नभई ज्यान नै दाउमा लगाएर कर्मचारीको पुनर्नियुक्तिको माग राखेर आन्दोलनमा उत्रिएको स्मृति नेपालमा त पक्कै नहोला र विश्वमै पनि सायद बिरलै मात्र होलान् यस्ता घटना । यो मानेमा कुलमान तिमीले नयाँ इतिहास बनायौ । 

कुलमान तिमीले चालेका हरेक कदम क्रमभङ्गता थिए । तिमीले तिम्रो कर्तव्यबोध गर्‍यौ । अनि जुन कामका लागि तिमीले नियुक्ति पाएका थियौ, दत्तचित्तले सो कार्य गर्‍यौ । जुन भूमिका निभाउन तिमीलाई कसम खुवाइएको थियो, सो कसमको मर्म अनुकूलको कार्य गर्‍यौ । तिमीले तिम्रा पदले दिने हरेक अधिकारको उचित सदुपयोग गर्‍यौ र नतिजा सोचे अनुरूप वा भनौ अझ सोचेभन्दा राम्रो दियौ । वाचा केवल वाचा गर्नका लागि मात्र गरिने समाजको एक प्रतिनिधि पात्र तिमीले यसरी क्रमभङ्ग गरेपछि कसरी पुनर्नियुक्ति हुन्थ्यो त तिम्रो ?

एकपछि अर्का वाचा, झूटा आश्वासनमाथि थप आश्वासन र काम सिन्को नभाँची गफ ठूलाठूला गर्नुपर्ने समाजको एक हिस्सा भएर पनि गरेको वाचा पूरा गर्ने, पूरा नहुने आश्वासन नदिने अनि कुरा कम र काम ज्यादा गरेर आफूलाई स्पष्ट रूपमा सक्षम प्रमाणित गर्ने कुलमानको पुनर्नियुक्ति होस् पनि कसरी ?
 
एकथरि आएर चुनावमा नारा लगाए र भने, ‘जनता सार्वभौम छन् र राजनीति भनेको साशनका लागि होइन, जनताको सेवाका लागि गर्ने हो ।’ यसरी भोट मागेर हिँडे । चुनावमा जनताले म्याण्डेट दिइसकेपछि राजकाज चलाउनेले जे गर्छ त्यो विना विरोध सहन गर्नुपर्ने र नागरिकले चुप लागेर टुलुटुलु हेर्नुपर्नेमा कुलमानलाई ‘पुनर्नियुक्ति दे’ भन्दै सामाजिक सञ्जालदेखि चिया पसल अनि भान्सादेखि सडकसम्म तताएपछि म्यान्डेट पाइसकेकाहरूले खुवाउने त लोप्पा नै हो नि हाम्रो जस्तो परिपक्व प्रजातान्त्रिक अभ्यास भएको देशमा । किनकि चुनावमा भोट दिइसकेपछि र सत्तामा पुर्‍याइसकेपछि त जनताको काम सक्किगो नि ! चुनाव आउने ताकासम्म कुनै अर्को मिचिएको कालापानी समेटेर कुनै अर्को ‘नक्से राष्ट्रवाद’को पगरी गुथ्ने प्रशस्तै समय छँदैछ । अहिलेको समय भनेको त ७–७ ठाउँबाट असक्षमताको बारम्बार प्रमाण दिइसकेकाहरूका लागि आठौं नियुक्तिको ढोका खोल्ने समय हो । यस्तो समयमा पहिलो प्रमुख नियुक्तिमै सेन्चुरी हानेका कुलमानलाई अर्को इनिङ खेल्न किन दिने ? हो यसरी बारम्बार असक्षम नभई झुक्किएर गरिएको पहिलो नियुक्तिमा नै कार्यकुशलताको उत्कृष्ट नमूना देखाइदिनु नै तिम्रो पुनर्नियुक्तिको द्वारमा भोटे ताल्चा लागेको हो कुलमान ।

कमसल र अति औसतको बाहुल्यता भएको माहोलमा नम्बरी सुन भयौ कुलमान तिमी । हुन पनि स्मरणमा भएसम्म र देखे–पढेको इतिहासमा कुनै एक सरकारी कर्मचारीका लागि जनता सडकमा उत्रने, प्रहरीको लाठी खाने मात्र नभई ज्यान नै दाउमा लगाएर कर्मचारीको पुनर्नियुक्तिको माग राखेर आन्दोलनमा उत्रिएको स्मृति नेपालमा त पक्कै नहोला र विश्वमै पनि सायद बिरलै मात्र होलान् यस्ता घटना । यो मानेमा कुलमान तिमीले नयाँ इतिहास बनायौ । 

तिमीले गरेका कार्यले तिमीलाई यसरी देवत्वकरण नै गर्नुपर्ने त होइन तर आफ्नो कर्तव्यबाट च्युत भएको हाम्रो समाजको उत्तराधुनिक पुँजीवादी संस्कारलाई चुनौती दिँदै इमान्दारितापूर्वक आफ्नो कर्तव्य पालन गरेर तिमीले अरुलाई पनि आ–आफ्नो कर्तव्यबोध गरायौ । यस्तो रामवाण प्रहार गरी विना काम पद ओगटेर बस्न बानी परेकाको मर्ममा चोट पुर्‍याउनु नै तिम्रो अक्षमता हो कुलमान । तिमीले पनि अन्धकार नदिएको भए र अन्धकारमा आफ्नो फलिफाप देख्नेविरुद्ध युद्ध नछेडेको भए सायद आज तिम्रो नियुक्तिमा यतिका व्यवधानका फेहरिस्त पक्कै आउँदैनथे । सायद तिम्रो पदोन्नति नै पो हुने थियो कि ?

यस्तोमा तिमीले आफूलाई इमान भएको कर्तव्यबोध कर्मचारीको रूपमा प्रस्तुत गरेर आफ्नो अक्षमताको परिचय दियौ । अर्थलाई मात्र सार्थक सम्पत्ति ठान्ने स्यालहुइँयाका बीच तिमीले अर्थहीन प्रताडित आममानिसको वाहवाही मात्र कमाएर आफ्नो अक्षमता पुष्टि गर्‍यौ । पदलोलुप आजको समाजमा पदभन्दा इमान र धर्मलाई माथि ठानेर पनि तिमीले आफ्नो अक्षमताको परिचय दियौ । आफू पदमा बसेका बेला आफन्त, नातागोतालाई विभिन्न पदमा भर्ती नगरिकन राम्रालाई मौका दिएर एक सुदृढ टीम खडा गरी आफ्नो अक्षमताको परिचय दियौ । अझ कति अक्षमता नाप्ने कसीको उदाहरण दिउँ तिम्रा ? हो कुलमान तिमी अक्षम भयौ, सारा नेपालीलाई अन्धकारबाट उज्यालोको बाटोमा डोर्‍याएर । यस्ता अक्षम कुलमानलाई कोटीकोटी नमन !

रोशन खतिवडा
रोशन खतिवडा

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्