कुखुरापालन व्यवसायबाट विदेशभन्दा गाउँमै बढी आम्दानी

प्रतिकात्मक तस्वीर

मेहनत गरे स्वदेशमै गतिलो अर्थोपार्जन सम्भव छ भन्ने उदाहरण यहाँका युवाले दिएका छन् ।

मध्यधादिङस्थित सांकोषका लेकबहादुर आलेले व्यावसायिक रुपमा कुखुरा पालन व्यवसाय गरेर स्वदेश बसेरै ५ लाख रुपैयाँ आर्जन गरेका छन् ।


Advertisement

बन्दाबन्दीको समयमा पनि बोइलर कुखुरा पालेर आम्दानी लिँदै आएका लेकबहादुर विदेश जान नपाएपछि परिवारसँगै पौरख गर्न थालेका हुन् ।

‘पहिला पनि विदेश बसेर काम गरेको अनुभव थियो । यस वर्ष पनि विदेश जानका लागि पासपोर्ट भिसा तयारी गरेका थिए । जब विदेश जाने समय आयो मुलुकमा जारी बन्दाबन्दीका कारण जान पाइएन,’ उनले भने, ‘कतारमा सेक्युरिटी गार्डको जागिर मिलेको थियो । विदेशमा सेक्युुरिटी गार्डको काम गरेर आम्दानी गर्ने योजना हुँदाहुँदै पनि कोरोना भाइरस संक्रमणको महामारीका कारण जारी बन्दाबन्दीले त्यसतर्फ जान पाइएन ।’


Advertisement

विदेश जान नपाएपछि आफ्नै जग्गामा व्यवसायिक रुपमा कुखुरापालन व्यवसाय गर्नुभएका लेकबहादुर बन्दाबन्दीको अवधिमा ५ लाख रुपैयाँभन्दा बढी आम्दानी लिन सफल भएका छन् ।

थोरै लगानी र छिटै आम्दानी लिन सकिने कुखुरापालन व्यवसाय रोजेर काम गर्दा फाइदा पुग्ने थाहा पाएर आफूले यो व्यवसाय रोजेको उनको भनाइ छ । ६०० बोइलर कुखुरा पालेर ५ लाखभन्दा बढी आम्दानी लिन सफल भएका लेकबहादुरले आफूलाई यही पेशाले काम र आम्दानी दुवै दिएको बताए । विदेशमा भन्दा आफ्नै गाउँठाउँमा परिवारसँग बसेर बढी आम्दानी हुने भएपछि लेकबहादुरले अब विदेश जाने सोचाइ छाडेर यही व्यवसायमा रमाउने बताए ।

विदेशमा गरिने कमाइभन्दा घरमै बसेर गरिएको मेहनतको आम्दानीले आफूलाई सन्तुष्टि दिएको उनको भनाइ छ ।  

लेकबहादुर एउटा प्रतिनिधि पात्र मात्र हुन् । कोरोना महामारी (कोभिड–१९) ले सिर्जना गरेको बेरोजगारीले धादिङलगायत मुलुकका अन्य क्षेत्रका युवाका लागि स्वदेशमा नै व्यवसाय गर्ने अवसर प्राप्त भएको छ । यस्ता उद्यमीलाई राज्यले प्रोत्साहन गरेर बढ्दो बेरोजगार समस्याको समाधान गर्नुपर्ने देखिन्छ ।

हजारौं लेकबहाखुरले नेपालमा यस्तै प्रकृतिको भरपर्दो व्यवसाय गरे कुनै पनि नेपालीलाई विदेश जानु पर्दैन, स्वदेशमै बसेर मनग्य आम्दानी लिन सकिन्छ । 

कमेन्ट गर्नुहोस्