कुलमान, काजी भीम मल्लकी सतीको त्यो श्राप र कुर्सीका 'सम्राट' !

गुरूराज घिमिरे
गुरूराज घिमिरे

नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष समेत रहेका घिमिरे नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुन् ।

दुर्जनले भरिएको समाजमा रत्तिभर पनि नबस्नु, बरु पशुमा विवेक पलाउला, दुर्जनले कसैलाई बाँकी राख्दैन । पाका मानिसहरूले दिने सल्लाह हो यो । यी र यस्ता सल्लाह सबैका लागि हितकारी नै मानिन्छ । यस्ता सल्लाह मानवीय जीवनका लागि उपयुक्त र मार्गदर्शक समेत ठानिन्छन् । तर बिडम्बना नै मान्नुपर्छ, हाम्रो समाज अक्सर त्यस्तै दुर्जनहरूको प्रभाव र नियन्त्रणमा पर्ने गरेको छ र त्यसबाट भाग्ने ठाउँ देखिँदैन । आजकाल दुर्जनहरू समाजका पथप्रदर्शक भएका छन् । मिठो बोल्छन् तर जनतालाई भरमार दुःख दिन्छन् । सज्जनहरू तिनीहरूको शिकार बन्छन् । इमानको लिलाम हुन्छ र दुष्टहरूको साम्राज्य चल्छ । हाम्रो देश यसको अपवाद छैन । यसको श्रृंखला रोकिएको छैन र रोकिने छाँटकाँट पनि छैन । विभिन्न मौसममा थरिथरिका दुर्जनहरू शासनारुढ हुँदै आएका छन् । भावभंगीमा फरक देखिएतापनि तिनको आत्मा एउटै हो । स्वरूप र पहिचान फरक लागे पनि मुलभूत चरित्र एकै हुन् । 

प्रसंग धेरै पुरानो हो, मल्ल कालको हो, ३१६ वर्ष अघिको । वि.सं. १७०६ माघ ३ गते कान्तिपुर राज्यका काजी भीम मल्ल तलेजु भवानीको दर्शन गरी वसन्तपुर दरबार हनुमान ढोका प्रवेश गर्दा नगर्दै काटेर मारिए । उत्तरी छिमेकी तिब्बतसँग आफ्नो राज्यको हितमा गतिलो र उपलब्धिमूलक सम्झौता गरेको खुशीको खबर राजा लक्ष्मी नरसिंह मल्ललाई सुनाउने ब्यग्रता र गौरव बोकेर आफ्नो घर पनि नपसी सोझै दरबार गएका राजाका विश्वासिला काजी अर्का काजी नरदेव मायासिंह लगायतका भारदारहरू चुक्ली र षड्यन्त्रको शिकार हुन पुगे । हनुमानढोका दरबारमा मुला काटे झैँ काटिए । आफ्नो राष्ट्रप्रतिको अटुट निष्ठाका प्रतिमूर्ति, देशभक्त सिपाही भीम मल्लको मल्ल दरबारमै बलि चढ्यो । 


Advertisement

उनै काजी भीम मल्लकी पत्नीले सति जाने बेलामा करुण क्रन्दनका साथ श्राप दिँदै भनिन्- 'देशको भलो चिताउनेहरूको यस्तै हाल होस्, दरबारमा कसैको विवेक नरहोस् । जब राजाले वास्तविकता थाहा पाए, उनको मानसिक सन्तुलन गुम्यो अर्थात् राजा पागल भए । उनलाई छोरा प्रताप मल्लले बन्दी बनाए । यही विक्षिप्त बन्दी अवस्थामा नै राजा लक्ष्मी नरसिंह मल्लको मृत्यु भयो । काजी भीम मल्ललाई षड्यन्त्रकारीहरूको कुरा सुनेर आफूले मार्न लगाएको कुरामा पछि उनलाई ठूलो अपराधबोध भयो । यही अपराधबोधले उनी बहुलाए । उनलाई न्याउरी मारी पछुतो समेत भयो तर भएको अपराध सच्याउन सम्भव थिएन । 

इमान्दारिताको पक्षमा चुइँक्क बोल्न नसक्ने तथाकथित क्रान्तिकारी वर्षमानहरू ओली सत्ताको न्यानो रापमा मग्न भएर नयाँ कुलमानहरूको बलि चढाउन अभिशप्त छन् । तर उनीहरूले बुझ्नु पर्छ, आफ्नो अपराधबोधले राजा लक्ष्मीनरसिंह मल्ल बहुलाएर मरेको देश हो नेपाल ।

Advertisement

काजी भीम मल्लले कान्तिपुर राज्यको हितमा तिब्बतसँग निकै उपलब्धिपूर्ण सम्झौता गरेर फर्किएका थिए । उनले त्यतिबेला दरबारको सैनिक संगठनको नेतृत्व समेत गरेका थिए । उनकै नेतृत्वमा कुती, केरुङ र खासामा नेपालको नियन्त्रण कायम भएको थियो । सम्झौता अनुसार त्यहाँ नेपालले ३२ वटा व्यापारिक कोठी खोल्न पाउने र तिब्बतमा नेपाली मुद्रा चल्ने भयो । त्यस्तै तिब्बतमा नेपाली वाणिज्य दूततावास खुल्ने र नेपाली साहुले तिब्बतमा छोरा जन्माए नेपाली हुने तथा छोरी जन्माए तिब्बती हुने सम्झौता समेत भयो । यसका अतिरिक्त तिब्बती राजाले काजी भीम मल्लको प्रशंसा गर्दै कान्तिपुरका राजालाई पत्र समेत लेखे र साथमा बहुमुल्य हिरा जवाहरात कोशेली समेत पठाए । यति महत्त्वपूर्ण काम गरेर आएका काजी आफ्नो घर पनि नपसी अर्थात् महिनौंपछि फर्केर आफ्ना परिवारलाई समेत नभेटी दरबार गएर मारिए । उनी घृणास्पद चुक्लीको शिकार भए । 

यो विषय किन उद्धृत गरिएको हो भने यतिबेला सबैतिर कुलमानको चर्चा छ र एउटा सरकारी स्वामित्वको सार्वजनिक संस्थानलाई पुनर्जीवन दिएको श्रेय उनैलाई छ । एउटा गरीब जनजातिको छोराले देशका लागि गरेको उत्कृष्ट योगदानको प्रशंसा छ । देशमा आफूलाई गरीब, जनजाति, दलित र महिलाको मसिहा ठान्ने सरकार छ । तथाकथित क्रान्तिको दुन्दुभी बजाएर राजनीतिक उपलब्धि हासिल गरेको नेकपाका अवतारी नेता प्रधानमन्त्री छन् । महिनौं प्रयास गर्दा समेत एउटा देशभक्त कर्मचारीलाई भेट समेत नदिने अजीवका कार्यकारी प्रमुख छन् । दण्ड र पुरस्कार हराएको देशमा 'स्याबास कुलमान' भनेर धाप मार्नु त कता हो कता ! त्यसैले हिजोआज कुलमानको वाहवाहीले जलेका सरकारी मानिसहरू उनको खेदो खन्न लाग्नुलाई उदेक नमान्दा हुन्छ । 

देशमा दैनिक अठारघण्टा भन्दा ज्यादा लोडसेडिङ हुन्थ्यो । यसले नागरिक जीवनलाई तहस नहस पारेको थियो । उद्योग धन्धा कलकारखानाको अवस्था त्यस्तै थियो । अस्पताल, विद्यालय र सरकारी कार्यालयहरू नराम्ररी प्रभावित थिए । इन्भर्टर व्यवसाय फस्टाएको थियो र यसमा विद्युत् प्राधिकरणका कर्मचारी र कालोबजारी गर्ने व्यापारीको साँठगाँठ थियो । प्राधिकरण निरन्तर घाटामा थियो, एकप्रकारले जीवनहीन अस्थिपन्जर जस्तो । हो, यही प्राधिकरणमा प्राण भरेका थिए कुलमानले । 

पहिलो कुरा त उनमा प्रबल आत्मविश्वास थियो, प्राधिकरणलाई नयाँ जीवन दिने अठोट थियो । यसलाई सार्थक तुल्याउन व्यवस्थापकीय कुशलता चाहिन्थ्यो । ईलेक्ट्रिकल इञ्जिनियरिङमा उच्च शिक्षा हासिल गरेका पिछडिएको जनजाति समुदायका घिसिङमा व्यवसायिक दक्षता र अब्बल व्यवस्थापकीय क्षमता थियो । अर्को कुरा उनले आफ्ना सहकर्मी कर्मचारीहरूको राम्रो साथ पाए । एक प्रकारले उनको नेतृत्वमा सिंगो प्राधिकरणले आफ्नो पुनर्जीवनका लागि दिनरात मेहनत गर्‍यो र सफलता हासिल गरेरै छाड्यो । 

उनले यस उन्नतिको जस आफूले एक्लै लिन खोजेनन्, बरु जनताले कुलमानलाई एकलौटी श्रेय दिए । कारण उनी सकारात्मक प्रयास र चिन्तनको खडेरी परेको समाजका एक्लो वृहस्पति थिए । सुख्खायाममा रात र दिनभर पानी जम्मा गरेर कालीगण्डकी, चिलिमे, मर्स्याङ्दी लगायतको उत्पादनलाई उच्च राखे । उनीभन्दा अघि यस्तो प्रयास कसैले गरेका थिएनन् । आयोजना मर्मतका कारण विद्युत् उत्पादनमा महिनौं प्रभावित हुने अवस्थामा सुधार गरी मर्मत सम्भारको रोटेसन या अलग–अलग समय निर्धारण गरी विगतको परम्परा तोडे । पुराना सबस्टेसन मर्मत गरी नयाँ सबस्टेसन निर्माण गरे । पुराना ट्रान्सफर्मर मर्मत र नयाँ जडान गरे । भारवहन केन्द्रमा रातिसम्म आफैं बसेर माग अनुसारको विद्युत् आपुर्ति गरे । विद्युत् चुहावट नियन्त्रण गरे । ट्रान्समिसन लाइन र वितरण लाइनमा सुधार गरे । 

दिनरात खट्ने कर्मचारीलाई तिनगुणा बढी भत्ताको व्यवस्था गरि भ्रष्ट कर्मचारीलाई कारवाही समेत गरे । कुलेखानी लगायतका आयोजनालाई पूर्ण क्षमतामा लैजान कोशिश गरे । प्राधिकरणको साबिकको विद्युत् भण्डारमा ५०० मेगावाटभन्दा बढी विद्युत् थपियो, यो सामान्य प्रगति थिएन । यसमा भारतबाट आयात गरिएको विद्युत्को समेत योगदान छ । प्राधिकरणभित्रको अव्यवस्थालाई अन्त्य गरी ठूलो घाटामा रहेको संस्थानलाई नाफामा पुर्‍याए । के कसैले चार वर्षभित्र यति ठूलो उपलब्धि होला भन्ने कल्पना गरेको थियो? निश्चित रूपमा यी उपलब्धिहरूको स्वयं कुलमान बाहेक कसैलाई अनुमानसम्म थिएन । यति भएपछि लोडसेडिङले आक्रान्त भएका जनताले कुलमानको प्रशस्ती नगाएर के गरुन् त !या अरू कस्को गाऊन् त !

एउटा राष्ट्र सेवक कर्मचारीप्रति सरकार सकारात्मक नहुनु ठूलो विडम्बना हो । राम्रो काम गर्न कसले रोकेको छ सरकारलाई ? अवरोध खडा गर्ने ठाउँमा बसेको प्रतिपक्षी दल समेत रमिते भएपछि निर्वाधरूपमा काम गरे भैहाल्थ्यो नि । तर दुर्भाग्य ! हाम्रो सरकार आफू केही गर्न नसक्ने र राम्रो काम गर्ने हरूलाई निरुत्साहित गर्न दिनरात तल्लिन देखिन्छ । यो हदैसम्मको संकीर्ण मानसिकता हो । विकास गीत गाएर या फलाकेर हुने होइन । हाम्रा प्रधानमन्त्री त त्यस्ता बिजुवा भएका छन्, जसलाई देवीदेउता भाकेर फलाक्न राम्रो आउँछ तर ओखतीमुलोको पटक्कै ज्ञान छैन । 

मानिसहरू भन्छन्, नेपाल सतीले सरापेको देश हो अर्थात् सतीद्वारा श्रापित देश हो । यहाँ भलो गर्नेको गुञ्जायस छैन । समाजमा भलो गर्नेहरू निकै उपेक्षित छन् । राज्यको उनीहरूप्रति बक्रदृष्टि छ । इमान्दार व्यक्तिहरू हरेक क्षेत्रमा प्रताडित छन् । राजनीतिक दलभित्रका सज्जनहरूमाथि दुर्जनहरूको चरम शोषण छ । यसको स्वरूप कहालीलाग्दो छ । चर्चा गर्नै सकिदैन, अनिर्वचनीय छ । 

अब नेपाली समाजको नुतन चेतनाले नयाँ उडान भर्नुपर्छ, अनि मात्र बहुलाउन बाध्य हुन्छन् नाङ्गा सम्राटहरू । आफ्नो जन्मभूमिका लागि अतुलनीय योगदान पुर्‍याएका सपुतहरूको अपमान गर्ने कृतघ्नहरूको देश हो नेपाल ।

आफू र आफ्नो घेराभित्रको सुरक्षा र उन्नतिका लागि दलका मठाधिसहरू चिन्तित र सक्रिय छन् । अनि कसरी हुन्छन् भीम मल्लहरू पुरस्कृत ! कसरी पाउँछन् कुलमानहरूले स्याब्बासी ! गोविन्द केसीको आवाज कसले सुन्छ ? यिनीहरू माथि त राज्य खनिन्छ र तगाराहरू तेर्स्याएर निरुत्साहित गर्छ । सुरक्षाकर्मी लगाएर गोविन्द केसीको अपमान गर्छ । देशका प्रधानमन्त्री आकाशका तारा गनेर नेपालको भविष्यवाणी गर्छन् । 

अब नेपाली समाजको नुतन चेतनाले नयाँ उडान भर्नुपर्छ, अनि मात्र बहुलाउन बाध्य हुन्छन् नाङ्गा सम्राटहरू । आफ्नो जन्मभूमिका लागि अतुलनीय योगदान पुर्‍याएका सपुतहरूको अपमान गर्ने कृतघ्नहरूको देश हो नेपाल । बन्दी जीवनमा मारिएका, जीवनभर नागरिक अधिकारका लागि संघर्ष र त्याग गरेका, नेपाललाई वास्तविक नेपाल बनाएका, नेपालीहरूको नारकीय र पशुवत् जीवनलाई बदलेका र नेपाललाई विश्व मानचित्रमा चिनाएका विभूतिहरू तिरस्कृत भएको देश हो । जाली, ठग र षड्यन्त्रकारीहरूको बोलाबाला भएको चरम अवसरवादीहरूले भरिपूर्ण राष्ट्र हो । यस्तो देशमा कुलमान एउटा विम्ब मात्र हुन् । 

इमान्दारिताको पक्षमा चुइँक्क बोल्न नसक्ने तथाकथित क्रान्तिकारी वर्षमानहरू ओली सत्ताको न्यानो रापमा मग्न भएर नयाँ कुलमानहरूको बलि चढाउन अभिशप्त छन् । तर उनीहरूले बुझ्नु पर्छ, आफ्नो अपराधबोधले राजा लक्ष्मीनरसिंह मल्ल बहुलाएर मरेको देश हो नेपाल । नेपाली समाजमा अपूर्व जीवनदायिनी शक्ति छ । खरानीले छोपिएका आगाका फिलुङ्गाहरू छन् । सानो हुरी मात्र काफी छ, खरानी उडाउन । त्यसपछिको भयावहतालाई आँक्न सकिरहेका छैनन् वर्तमान राजाहरूले । लोकतन्त्रको दिगो जग हाल्न नदिने यस्तै प्रवृत्तिका कारण आजसम्म नेपाली जनताले दुःख पाएका हुन्, जसको चक्रवर्ती ब्याज सहित हिसाब असुल्ने दिन आउँदैछ । त्यतिबेला कुलमानहरूको अभिषेक र लक्ष्मीनरसिंह मल्लहरूको अन्त्येष्टि एकैसाथ हुनेछ । 

गुरूराज घिमिरे
गुरूराज घिमिरे

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्