
कोरोना महामारी न्यूनीकरण तथा रोकथामका लागि सरकारले लकडाउन जारी गरेसँगै रोकिएको आन्तरिक उडान ६ महिनापछि सोमवारदेखि शुरू हुँदैछ ।
चैत ११ गते लकडाउन जारी भएसँगै रोकिएको आन्तरिक उडान नियमित अन्तर्राष्ट्रिय उडान खुला भएको २० दिनपछि सञ्चालनमा आउन लागेको हो ।
उडान सञ्चालनका लागि सरकारले स्वास्थ्य मापदण्ड निर्धारण गरेको छ । सोही मापदण्ड अनुसार आन्तरिक उडान नियमित गर्न लागिएको नेपाल नागरिक उड्ययन प्राधिकरढाले जनाएको छ ।
सरकारले आन्तरिक उडानमा लगाइएको प्रतिबन्ध गत भदौ २९ को मन्त्रिपरिषद्को बैठकले पुनः सञ्चालन गर्ने निर्णय गरेको थियो । सरकारले असोज १ देखि नै आन्तरिक उडान सञ्चालन गर्ने बाटो खुला गरे पनि वायु सेवा सञ्चालकले तयारी पूरा नभएको र ५० प्रतिशत मात्र यात्रु राखेर उडान गर्न नसकिने अडान राखेपछि पाँच दिनपछि सरेको थियो ।
सोमबारदेखि वायु सेवा कम्पनीले पूर्ण क्षमतामा उडान गर्न पाउने छन् । यद्यपि नेपाल नागरिक उड्डयन प्राधिकरणले असोज १६ सम्म २५ प्रतिशतसम्म उडान हुनेगरी तालिका स्वीकृत गरेको छ ।