नारायणीमा पानीको बहाव बढेपछि खोलिए गण्डक ब्यारेजमा सबै ढोका

प्रकाश आचार्य
प्रकाश आचार्य

लोकान्तर संवाददाता आचार्य लुम्बिनी प्रदेशबाट रिपोर्टिङ गर्छन् ।

३ दिनदेखि परेको अविरल वर्षाले नारायणी नदीमा पानीको बहाव बढेपछि गण्डक ब्यारेजका ३६ वटै ढोका खोलिएका छन् ।

लगातारको वर्षाका कारण नदीमा पानीको सतह बढेसँगै जोखिम बढेकाले ब्यारेजका सबै ढोका खोलिएको भूआर्जन तथा जनसम्पर्क कार्यालयका जनसम्पर्क अधिकारी तारासिंह थापाले बताए । अहिले पनि नवलपरासीसहित ५ नम्बर प्रदेशका सबै जिल्लामा पानी परिरहेको छ । 


Advertisement

ब्यारेजले भारतको बिहार प्रदेशस्थित भैंसालोटन र पूर्वी नवलपरासीलाई जोडेको छ । ब्यारेजमा अहिले पानीको बहाव ३ लाख ३२ हजार क्यूसेक प्रतिसेकेण्ड छ । यो बढ्ने क्रममा छ । ४ लाख क्यूसेक पुगेपछि उच्च खतरा मानिन्छ ।

देवघाट क्षेत्रमा पानीको सतह खतरामा पुगेको छ । पानी क्रमशः बग्दै आएको र त्यसले ब्यारेजलाई समेत जोखिममा पार्ने भएकाले सजगता अपनाइएको थापाले बताए । 


Advertisement

गण्डकमा पानीको सतह बढ्दै गएपछि तटीय क्षेत्रका स्थानीयलाई सजगता अपनाउन आग्रह गरिएको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले बताए । ब्यारेजका कारण पश्चिम नवलपरासीका करीब ४० गाउँ डुबानको जोखिममा पर्दै आएका छन् ।

सम्भावित क्षतिलाई जोगाउन जोखिम क्षेत्रमा पूर्व तयारीका साथ सुरक्षाकर्मीलाई तयारी अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी पाठकले बताए । 

प्रकाश आचार्य
प्रकाश आचार्य

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्