कुलेखानी जलाशयमा २ मिटर पानीको सतह वृद्धि

प्रतिकात्मक तस्वीर

३ दिनदेखि लगातार भइरहेको वर्षाका कारण मुलुकको ठूलो कृत्रिम जलाशयमा पानीको सतह बढेको छ ।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा पर्ने कुलेखानी जलविद्युत् आयोजनाको जलाशयमा २४ घण्टाका अवधिमा झण्डै २ मिटर पानीको सतह बढेको आयोजनाका कर्मचारी पूर्णबहादुर बलामीले जानकारी दिए ।


Advertisement

बलामीका अनुसार जलाधार क्षेत्रमा परेको अविरल वर्षाका कारण आज बिहानसम्म जलाशयको सतह समुद्री सतहबाट १ हजार ५२१ दशमलव २१ मिटर पुगेको छ ।

अघिल्लो दिन सोही समयमा पानीको सतह १ हजार ५१९ दशमलव ४८ मिटर थियो ।  


Advertisement

कुलेखानी जलाशयमा समुद्री सतहबाट १ हजार ५३० मिटरसम्म पानी जम्मा गर्न सकिने क्षमता छ । वर्षाका समयमा पानी सञ्चय गरेर हिउँदमा अन्य विद्युत् गृहमा विद्युत् उत्पादन कम भएका बेला यहाँ उत्पादन हुने गरेको छ । आयोजनाको पहिलोबाट ६० मेगावाट, दोस्रोबाट ३२ मेगावाट र तेस्रोबाट १४ मेगावाट क्षमतामा विद्युत् उत्पादन हुन्छ ।

कमेन्ट गर्नुहोस्